भिमसेनदास प्रधानको आरोप: विद्यासुन्दर शाक्यले खुलामञ्च बेच्न लागेका छन्

 असोज १९, २०७६ आइतबार १६:५५:४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - खुलामञ्चमा बनाउन लागिएको ढलान जनप्रतिनिधि र स्थानीयबासिन्दाले भत्काइदिएका छन् ।

खुलामञ्च मासेर स्थायी बसपार्क बनाउने षड्यन्त्र भैरहेको भन्दै सांसद भीमसेनदास प्रधान, काठमाण्डौ महानगरपालिकाकी उपमेयर हरिप्रभा खड्गी र वडा नम्बर २८ का वडाध्यक्ष भाइराम खड्गीसहितका स्थानीयबासीले खुलामञ्च पुगेर ढलान भत्काइदिएका हुन् । उनीहरुले वरपरको बार पनि तोडफोड गरेका छन् ।

पहिलेको पुरानो बसपार्कमा काठमाण्डौ भ्यू टावर बनाउने भएपछि २ वर्षअघिदेखि पुरानो बसपार्क खुलामञ्चमा सारिएको छ । तर खुलामञ्चलाई स्थायी बसपार्क बनाउने षड्यन्त्र गरेर स्थायी संरचना बनाउन थालिएको भन्दै विरोध भैरहेको छ ।

सांसद भिमसेनदास प्रधान, उपमेयर हरिप्रभा खड्गीलगायतले काठमाण्डौमा खुला स्थान मास्ने षड्यन्त्रलाई कुनै पनि हालतमा पूरा हुन नदिने प्रतिबद्धता जनाउनुभएको छ ।

‘अहिलेसम्म पुरानो बसपार्कमा भ्यू टावर पनि बनेको छैन, तर मेयर विद्यासुन्दर शाक्यले भ्यू टावर नबनाउने स्वच्छन्द बिल्डर्स प्रालिका प्रमुख मनोज भेटवाललाई पटक पटक खुला मञ्चमा टहरा बनाउन  र ढलान गर्न ठेक्का दिएका छन्, खुलामञ्च बेच्ने नियत देखियो, हामी त्यसो हुन दिन्नौँ ’, सांसद भिमसेनदास प्रधानले उज्यालोसँग भन्नुभयो । 


 

अन्तिम अपडेट: फागुन ३०, २०८०

तपाईको प्रतिक्रिया