उपचुनावका लागि मतदाता नामावली र मतदान केन्द्रको टुंगो लाग्यो

 असोज २३, २०७६ बिहिबार १७:३:१७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - निर्वाचन आयोगले मंसिर १४ गते हुने उपचुनावको लागि मतदाता नामावली र मतदान केन्द्रको टुंगो लगाएको छ ।

आयोगले उपचुनाव हुने ३७ जिल्लाका स्थानीय तहका १ सय ५५ वडामा मतदाता नामावली अध्यावधिक कार्यक्रम सञ्चालन गरेको थियो । उपचुनावका लागि ४ लाख ५४ हजार १ सय १४ जना मतदाताको नामावली टुंगो लगाएको आयोगले जनाएको छ ।

प्रतिनिधि सभा सदस्यको चुनाव हुने कास्कीमा क्षेत्र नम्बर २ मा ७१ हजार ८ सय ७१ जना, प्रदेश सभा चुनाव हुने भक्तपुरमा ४५ हजार, बाग्लुङ्गमा ३६ हजार ९ सय र दाङ्गमा ७३ हजार एक सय मददाता छन् ।

यस्तै आयोगले उपचुनावका लागि मतदान केन्द्र पनि तोकेको छ । मतदान केन्द्र तोक्दा बढीमा एक हजार एकसय मतदाताका लागि एक मतदान केन्द्र रहने गरी तोकिएको छ ।

उपचुनाव हुने ३७ जिल्लाका सम्बन्धित निर्वाचन क्षेत्रमा २ सय ४७ स्थलमा ५ सय ३७ मतदान केन्द्र रहेका छन । मंसिर १४ गते एक प्रतिनिधि सभा सदस्य, तीन प्रदेश सभा सदस्य, १ नगरपालिका प्रमुख, ३ जना गाउँपालिका अध्यक्ष, एक जना गाउँपालिका उपाध्यक्ष र ४३ वडाध्यक्ष गरी ५२ पदका लागि उपचुनाव हुँदैछ ।

अन्तिम अपडेट: फागुन ३०, २०८०

तपाईको प्रतिक्रिया