चिनियाँ राष्ट्रपति सी जिनपिङ भारतको चेन्नईमा

 असोज २४, २०७६ शुक्रबार १६:१०:२७ | एजेन्सी
unn.prixa.net

चिनियाँ राष्ट्रपति सी जिनपिङ दुई दिने भारत भ्रमणका लागि शुक्रबार चेन्नई पुग्नु भएको छ । चिनियाँ राष्ट्रपति सी भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँगको दुई दिने अनौपचारिक शिखर वार्ताका लागि चेन्नईको महाबलिपुरम पुग्नु भएको हो ।

चिनियाँ राष्ट्रपति सी जिनपिङलाई चेन्नई विमानस्थलमा तमिलनाडु राज्यका राज्यपाल बनवारीलाल पुरोहितले स्वागत गर्नु भएको थियो । विमानस्थलमा विभिन्न भारतीय संस्कृति झल्किने झाँकीसहित राष्ट्रपति सीलाई स्वागत गरिएको थियो ।

शुक्रबार साँझ ५ बजे भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग चिनियाँ राष्ट्रपति सी जिनपिङले अनौपचारिक शिखर वार्ता गर्ने कार्यक्रम रहेको छ । भारतीय प्रधानमन्त्री मोदी यसअघि नै चिनियाँ राष्ट्रपति सीको स्वागतका लागि चेन्नईको महाबलिपुरम पुगिसक्नु भएको छ ।

तमिलनाडु प्रदेशसँगको चीनको ऐतिहासिक सम्बन्ध रहेकाले यो शिखरवार्ताका लागि चेन्नई रोजिएको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् । 
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी चेन्नई पुगेलगत्तै चिनियाँ, अंग्रेजी र तमिल भाषामा ट्वीट गर्दै चिनियाँ राष्ट्रपतिलाई स्वागत गर्न पाउँदा तमिलनाडु प्रदेशले गर्व महसुस गरेको बताउनु भएको छ ।

चिनियाँ राष्ट्रपति दुई दिने भारत भ्रमण सकेर शनिबार दिउँसो राष्ट्रपति विद्यादेवी भण्डारीको निमन्त्रणमा नेपालको दुई दिने राजकीय भ्रमणमा आउँदै हुनुहुन्छ । चिनियाँ राष्ट्रपति सीको नेपाल भ्रमणका क्रममा केरुङ–काठमाण्डौ रेल मार्ग निर्माणलगायतका विभिन्न महत्वपूर्ण आयोजनामा सम्झौता हुने सम्भावना रहेको छ । 

अन्तिम अपडेट: चैत १४, २०८०

तपाईको प्रतिक्रिया