चिनियाँ राष्ट्रपतिकाे नेपाल भ्रमण: त्रिभुवन विमानस्थलबाट हुने उडान दुई दिन प्रभावित हुने

 असोज २४, २०७६ शुक्रबार १६:३३:४३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ - चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमणका क्रममा त्रिभुवन विमानस्थलबाट हुने उडान र अवतरण दुई दिन प्रभावित हुने भएको छ ।

चिनियाँ राष्ट्रपति सी शनिबार दिउँसो ४ः३० मा काठमाण्डौ अवतरण गर्ने कार्यतालिका छ । भारतको चेन्नई हुँदै काठमाण्डौ आइपुग्ने सी आइतबार १२ः३० मा स्वदेश फर्कनुहुनेछ । 

राष्ट्रपति सी शनिबार भारतको तमिलनाडुमा रहेकाे चेन्नई अन्तर्राष्ट्रिय विमानस्थलबाट सोझै काठमाण्डौमा रहेकाे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुग्ने कार्यक्रम छ । राष्ट्रपति सी सवार भीभीआईपी जेट विमान आउने बेला तीन घण्टा कुनै पनि आन्तरिक र अन्तर्राष्ट्रिय व्यावसायिक उडान तथा अवतरण हुने छैनन् ।

शनिबार र आइतबार हुने उडानबारे विमानस्थलले नोटाम (नोटिस टू एयरमेन) जारी गर्दैछ । नोटाम उड्डयनकर्मीका लागि जारी गरिने सूचना हो । विमानस्थलले नोटाम जारी गरेपछि वायुसेवा कम्पनीहरूले आफ्ना उडान भीभीआईपीको जहाज आउने र जाने समयअघि वा पछि अनिवार्य सार्नुपर्छ ।  

राष्ट्रपति सी आउँदा र फर्कँदा दुवै समयमा त्रिभुवन विमानस्थलबाट हुने सबै उडान र अवतरण रोकिने छ । राष्ट्रपति सी आउने बेला ३ घण्टा र फर्कने बेला ३ घण्टा विमानस्थलमा अन्य जहाज उडान र अवतरण रोकिने त्रिभुवन विमानस्थल स्रोतले जनाएको छ ।  

राष्ट्रपति सी आउने दिन शनिबार दिउँसो ३ बजेदेखि नै विमानस्थलमा अन्य उडान र अवतरण ठप्प हुने छ । राष्ट्रपति सी चढेको विमान अवतरण भएपछि मात्रै अन्य विमानले उड्न र अवतरण गर्न पाउनेछन् । 

यस्तै फर्कने दिन आइतबार बिहान ११ बजेदेखि नै विमानस्थलमा उडान र अवतरण रोकिने विमानस्थल कार्यालयले जनाएको छ । ११ बजेदेखि रोकिएको उडान र अवतरण राष्ट्रपति सी फर्केपछि मात्रै सुरु हुने विमानस्थल कार्यालयले जनाएको छ । राष्ट्रपति सी १२ः३० मा स्वदेश फर्कने कार्यतालिका छ ।  

विमानस्थल कार्यालयले अहिलेसम्म उडान र अवतरण प्रभावित हुने सूचना सार्वजनिक गरिनसके पनि साँझसम्ममा यसको तालिका पनि सार्वजनिक गर्ने तयारी भइरहेको छ ।

तर निजी विमान कम्पनीहरूले भने त्रिभुवन विमानस्थलबाट शनिबार र आइतबार उडान र अवतरण प्रभावित हुने सूचना जारी गरिसकेका छन् ।  

दुई दिने नेपाल भ्रमणमा आउन लागेका चीनका राष्ट्रपति सीलाई राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीले त्रिभुवन विमानस्थलमा नै पुगेर स्वागत गर्ने कार्यक्रम छ । 
 

अन्तिम अपडेट: चैत २१, २०८०

तपाईको प्रतिक्रिया