कांग्रेसको चियापान कार्यक्रममा कसले के भने ?

 असोज २६, २०७६ आइतबार २०:१९:१५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – प्रधानमन्त्री केपी शर्मा ओलीले सांस्कृतिक परम्पराहरुले समाजमा अनुशासन कायम राख्दै सबैको सम्मान र सत्यको जितको सन्देश बोकेकाले राम्रा कुरालाई निरन्तरता दिनुपर्ने बताउनुभएको छ ।

नेपाली कांग्रेसले आइतबार सानेपामा रहेको पार्टी कार्यालयमा गरेको चियापान समारोहमा विजया दशमी, दीपावली तथा छठको शुभकामना दिँदै उहाँले संस्कृतिका नाममा विद्यमान गलत परम्परालाई परित्याग गर्दे राम्रा कुरालाई अँगाल्नुपर्ने बताउनुभएको हो ।

उहाँले समाजको सुसम्बन्ध र सुव्यवस्था बनाइ राख्न तथा सत्यको जित र असत्य पराजित हुन्छ भन्ने सन्देश हाम्रा परम्परा र संस्कृतिले दिने गरेको भन्दै उहाँले राम्रा कुरालाई निरन्तरता दिने अभ्यासमा जुट्नुपर्ने बताउनुभयो । उहाँले कांग्रेस सभापति शेरबहादुर देउवा र रामचन्द्र पौडेलसंगको सम्बन्ध ४५ वर्षदेखिको भएको उल्लेख गर्दे चाडपर्वले सम्बन्धलाई अझै राम्रो बनाउने बताउनुभयो ।

सरकारको लोकतन्त्रप्रतिको निष्ठामा कांग्रेसले प्रश्न उठाएको छ नि भन्ने पत्रकारहरुको जिज्ञासामा उहाँले भन्नुभयो, ‘शुभकामना आदानप्रदानका बेला धुलो चकमक लगाउने काम नगरौँ ।’

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले चिनियाँ राष्ट्रपति सी जिनपिङको भ्रमणलाई कांग्रेसले स्वागत गरेको बताउनुभयो । उहाँले भ्रमणले दुई देशबीचको सम्बन्धलाई थप घनिष्ठ बनाउने विश्वास आफूले लिएको बताउनुभयो ।  उहाँले राष्ट्रपति सीले आफूलाई चीन भ्रमणको निम्तो दिएको र आफूले ‘मिलाएर आउँछु’ भनेको पनि जानकारी गराउनुभयो ।

नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाली कांग्रेसले स्थापित गरेको चियापान कार्यक्रम राष्ट्रिय राजनीतिक संस्कृति जसरी स्थापित भएको बताउनुभयो । उहाँले परिर्वतनको सहयात्रीहरुबीचको शुभकामनाको रुपमा आफूले चियापान कार्यक्रमलाई लिएको र सहयात्रीकै बीचमा आएको अनुभव आफूले गरेको बताउनुभयो ।

अध्यक्ष प्रचण्डले भन्नुभयो, ‘नेपाली कांग्रेसको यो शुभकामना आदानप्रदान कार्यक्रममा आउँदा मलाई सहयात्रीहरुकै बीचमा आएको महसुस हुन्छ । तपाईहरुसँग आउँदा सहयात्रीहरुसँगकै भेटघाटमा आएको महसुस हुन्छ । हेर्दै जाऊँ आउने दिनमा राजनीतिले कसरी कोल्टो फेर्दै जान्छ । मलाई विश्वास छ हाम्रो सहयात्रा जारी रहने छ । हाम्रो एकता र शान्तिप्रतिको संकल्प जारी रहनेछ । सहयात्रीकै रुपमा हामी निरन्तर अघि बढिरहन्छौँ ।’

दुई तिहाईको सरकार छ कस्तो सहयात्राको कुरा हो भन्ने सञ्चारकर्मीको प्रश्नमा उहाँले भन्नुभयो, ‘अहिले दुई तिहाईको कुरा नगरौँ ।’

नेकपाका वरिष्ठ नेता एवं पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले सत्ता र प्रतिपक्षीहरु सामाजिक कार्यक्रममा सहभागी हुने संस्कृति नेपाली राजनीतिको ‘ब्यूटी’ भएको टिप्पणी गर्नुभयो ।

विदेशमा सत्तापक्ष र प्रतिपक्षी दलका नेताहरुबीच बोलचाल पनि नहुने भन्दै उहाँले नेपालमा भने सांस्कृतिक कार्यक्रमहरुमा एकसाथ भेला हुने संस्कृति नेपाली राजनीतिको राम्रो पक्ष भएको बताउनुभयो । उहाँले चिनियाँ राष्ट्रपति सी जिनपिङको नेपाल भ्रमण भव्य र सानदार भएको दाबी गर्नुभयो । भ्रमणका क्रममा पर्यटन र ऊर्जाको विकास गर्ने सम्बन्धमा भएको सम्झौता  दुवै देशको हितमा रहेको टिप्पणी उहाँले गर्नुभयो ।

नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले देशमा राजनीतिक परिर्वतन ल्याउने समयमा भएको दलहरुबीचको सहकार्य र एकतालाई अहिले पनि निरन्तरता दिनुपर्ने बताउनुभयो । उहाँले प्रतिपक्षी दलले राष्ट्रिय मुद्धाहरुमा सरकारसँग सहकार्य र एकता गरेर आर्थिक समृद्धिको लक्ष्य हासिल गर्ने मार्गमा अघि बढ्नुपर्ने आवश्यकता औँल्याउनुभयो ।

समाजवादी पार्टी नेपालका अध्यक्ष डाक्टर बाबुराम भट्टराईले लोकतन्त्रको सवालमा आफूहरु सधै कांग्रेससँग सहकार्य गर्न तयार रहेको बताउनुभयो । चिनियाँ राष्ट्रपति सीको नेपाल भ्रमण सफल रहेको भन्दै उहाँले दुवै सरकारलाई धन्यवाद र बधाई पनि दिनुभयो । उहाँले भ्रमणको सफलतालाई ‘मामाको कोसेली’को रुपमा विश्लेषण गर्न नहुने टिप्पणी गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘हाम्रा विदेशी पाहुना आउँदा खालि केटाकेटीमा मामा आउँदा के ल्याइदिए ? के कति मिठाई दिए ? कति दक्षिणा दिए ? भने जस्तो सोच हामीले राख्नु हुँदैन । मित्रराष्ट्रहरुसँगको सम्बन्ध भनेको राजनीतिक र समग्र सामरिक हितलाई ध्यानमा राखेर हुनुपर्छ । चीन सदैव हाम्रो मित्रराष्ट्र रहँदै आएको छ ।’

अन्तिम अपडेट: चैत १४, २०८०

1 Comments

  • Khagendra Dhungana

    Oct. 13, 2019, 10:36 p.m.

    यसरी सबै मिलेर देशलाई चलाउने र देश अनि नागरिकको हितमा काम गर्ने हो भने हाम्रो देशको मुहार १० बर्ष भित्र फेरिन्छ /र सरकारलाई भ्रष्टाचारी भन्न सक्दैनन् / काम गर्ने र सक्ने मात्र मंत्री होस् या हाकिम काम गर्न सक्दैनौ भने सीट खाली गरिसिनुस भन्न सक्नुपर्छ / अपराध गर्ने जोसुकै भए पनि कानून भन्दा माथि हुनु हुँदैन , कानून अनुसार सजाँय पाउनुपर्छ / जय देश नेपाल !!

  •  0 Reply

तपाईको प्रतिक्रिया