‘बालुवाटारमा जग्गा किन्दा गैरआवासीय नेपाली संघ पनि ठगियो’

 असोज २७, २०७६ सोमबार १६:२९:४२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – गैरआवासीय नेपाली संघको ९औँ विश्व सम्मेलन मंगलबारदेखि काठमाण्डौमा हुने भएको छ ।

संघले सोमबार काठमाण्डौमा पत्रकार सम्मेलन गरी ९औँ विश्व सम्मेलनको सम्पूर्ण तयारी पूरा भएको जनाएको हो । सम्मेलनमा ८१ देशका गैरआवासीय नेपाली प्रतिनिधिहरु, स्वदेशी विदेशी सहभागीसमेत गरी २ हाजर ५ सय बढीको सहभागिता रहने संघले जनाएको छ ।

सम्मेलनले संघको नयाँ नेतृत्व पनि चयन गर्दैछ । ‘म, मेरो एनआरएनए र मेरो नेपाल’ भन्ने मूल विषयमा आधारित भएर हुन लागेको सम्मेलनको उद्घाटन राष्ट्रपति विद्यादेवी भण्डारीबाट हुने संघले जनाएको छ ।

यसैबीच संघले बालुवाटारस्थित भवन निर्माणका लागि खरिद गरिएको जग्गामा सर्वसाधरण नेपालीहरु जस्तै  गैरआवासीय नेपालीहरु ठगिएको बताएको छ । पत्रकार सम्मेलनमा संघका महासचिव बद्री केसीले राज्य संयन्त्रलाई विश्वास गर्दा आफूहरु ठगिएको बताउनुभएको हो ।

विदेशमा बस्ने भएकाले नेपालका कानुनबारे धेरै जानकार नरहेको भन्दै उहाँले संघको आफ्नै भवन बनाउने उद्देश्यले सन् २०११ मा संघको भवन निर्माणका लागि जग्गा खरिद गरेको र त्यस क्रममा नेपाल सरकारले ५० लाखभन्दा बढी मिनाहा दिएको पनि जानकारी दिनुभयो । तर जग्गा खरिद गर्ने क्रममा आफूहरु ठगिएको गुनासो उहाँले गर्नुभयो । उहाँले भन्नुभयो, ‘जसरी सर्वसाधरण जनताहरु ठगिन्छन् त्यसैगरी आज नेपालमा गैर आवासीय नेपाली संघ ठगिएको कुरा यहाँहरुलाई भन्न चाहन्छु ।’

काठमाण्डौको होटल हायात रिजेन्सीमा हुने सम्मेलन असोज २८ देखि ३० गते सम्म चल्ने छ । सन् २००३ देखि विदेशमा छरिएर रहेका गैरआवासीय नेपालीहरु समेट्ने क्रममा संघले ८० भन्दा बढी देशमा आफ्नो राष्ट्रिय समन्वय परिषदहरु गठन गरिसकेको छ ।

अन्तिम अपडेट: चैत १५, २०८०

तपाईको प्रतिक्रिया