यसपालिको पलेँटीमा डाक्टर सुमन थापा

 कात्तिक १, २०७६ शुक्रबार २०:३६:१३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - यो महिनाको सांगीतिक कार्यक्रम ‘पलेँटी शृङ्खला’मा डाक्टर  सुमन थापाले गीत सुनाउने भएका छन् ।

सुमन पेशाले नेत्र-विशेषज्ञ हुन् तर उनी गिटारमा औँला चलाउँदै गाउन औधी रुचाउँछन् । आफै गीत लेख्छन् र धुन पनि भर्छन् । नब्बेको दशकमा ‘बाइपास’ समूहसँग संलग्न रहेर आफ्नो सांगीतिक रहरलाई अगाडि बढाएका सुमन, हाल ‘ब्ल्यू फ्रेट’ नामको सांगीतिक समूहमा क्रियाशील छन् । यसपालि भने उनी पलेँटीका वाद्यवादकहरूसँग गायन अभ्यासमा जुटेका छन् ।

प्राय: अङ्ग्रेजी भाषामा गीत, लेख्ने र गाउने सुमन थापा यसपालि पुरै नेपाली भाषाका गीत लिएर प्रस्तुत हुनेछन् । पलेँटीले उनलाई नयाँ सांगीतिक प्रयोग गर्ने सोचका साथ निम्त्याएको जानकारी गराएको छ ।

यसपालिको पलेँटीका निम्ति धेरैजसो गीत कवि श्रवण मुकारुङले लेखेका छन् । प्राय गीतमा डाक्टर सुमनको पेशा सुहाउँदो, आँखा र तिनले निहार्ने दृश्य सम्बन्धित विषय समेटिएको छ । सुमन थापाका निम्ति तयार पारिएका सबै नयाँ गीतहरूमा संगीतकार आभासले धुन भरेका छन् ।

यसपालिको पलेँटी पश्चिमी शैलीमा गाउने सुमन, ठेट नेपाली पारामा लेख्ने श्रवण र विभिन्न शैलीका सांगीतिक प्रयोग अपनाउने आभासको त्रिवेणी पलेँटी हुनेछ ।

तिलगंगा आँखा अस्पतालसँग आवद्ध थापा काठमाण्डौका बासिन्दा हुन् । उनले ‘एक एक पाइला’ अभियानमार्फत स्वास्थ्य शिविरहरुमा सहभागी भइ देशका विभिन्न जिल्ला भ्रमण गरेका छन् । उनले हालसम्म मोतिविन्दू र जलविन्दूका ५० हजारभन्दा धेरै शल्यक्रिया गरिसकेका छन् । शिविर-यात्राका क्रममा डाक्टर सुमनले अनेकौं अनुभव र अनुभूति संगालेका छन् । पलेँटीमा गीत सुनाउने क्रममा सुमनले आफ्ना तिनै अनुभव र अनुभूतिलाई समेत बाँड्ने छन् ।

नेपालयको आर शालामा पलेँटीका निम्ति गिटार समातेर नयाँ धुन अभ्यास गरिरहेका सुमन भन्छन्- ‘पलेँटीमा गाउने कुराले म एकदमै उत्साहित छु; श्रवणजीले लेख्नु भएका गीत र आभासजीले भर्नु भएका धुनले मलाई रमाइलो नसा लगाएका छन् । यो क्षण मेरो सांगीतिक मोडमा अचानक भेटिएको सुन्दर बगैँचा हो ।' प्रतिक्रिया दिएर उनी गीत गुनगुनाउन थाले- ‘किन बोल्नु बोल्दिन म; बोल्छ आँखाले, पत्तै नपाई यो मनपेट खोल्छ आँखाले ।’

घाँटीमा भिरेको हार्मोनिकाबाट धुन निकाल्दै डाक्टर सुमन आफ्नो सन्देश प्रवाह गरिरहेका सुनिए- ‘ओ पासाङ दाइ; ओ बैनी फूलमतिया ! पर्ख है पर्ख म ‘स्लिट ल्याम्प’ बोकेर आउँदै छु, तिमीलाई सुन्दर संसार देखाउन ।‘

रिहर्सल सकेर अकेस्टिक गिटार बक्समा बन्द गरिरहेका सुमनलाई अस्पताल पुगेर अप्रेसन गर्नु छ त्यसैले उनी हतारमा देखिन्थे । ‘आर’शालाबाट बहिरिँदै गर्दा उनले भरखर अभ्यास गरेको अर्को गीत गुनगुनाए- ‘हतार छ एकदम हतार छ ।‘

‘यसपालिका सृजनाले भिन्दै अनुभूति गराइरहेका छन् । श्रवणजीको गीति लेखनको सरलताको सौन्दर्यलाई सुमनजीको स्वरमा प्रस्तुत गर्न पाउँदा खुशी लागेको छ', संगीतकार आभासले भने ।

यही कार्तिक महिनाको ८ र ९ गते हुने कार्यक्रमलाई पलेँटीको सुरुवातदेखि नै सञ्चालन गर्दै आएका संगीतकर्मी आभासले गायक सुमन थापाको पेशा र सांगीतिक जीवनको सेरोफेरोमा रहेर संवाद पनि गर्नेछन् ।

कालिकास्थानस्थित ‘आर’शालामा आयोजना हुने पलेँटीमा डाक्टर सुमनलाई वाद्यवादनतर्फ किबोर्डमा दिनेश रेग्मी, गिटारमा सुरज प्रधान र प्रकसनमा सुन्दरकुमार महर्जनले साथ दिनेछन् ।

अन्तिम अपडेट: चैत २९, २०८०

तपाईको प्रतिक्रिया