यस्तो छ मंसिर १४ गते हुने उपचुनावको कार्यतालिका

 कात्तिक १, २०७६ शुक्रबार १९:३६:१५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – आगामी मंसिर १४ गते हुने उपचुनावका लागि निर्वाचन आयोगले कार्यतालिका सार्वजनिक गरेको छ ।

प्रतिनिधिसभा सदस्य, प्रदेशसभा सदस्य, स्थानीय तहतर्फ प्रमुख, अध्यक्ष, उपाध्यक्ष र वडा अध्यक्षसमेत गरी ५२ रिक्त पदमा हुन लागेको उपचुनावको कार्यतालिका सार्वजनिक भएको हो ।

प्रनिनिधिसभा सदस्यतर्फ कास्की क्षेत्र नम्बर २ मा उपचुनाव हुँदैछ । त्यस्तै प्रदेश सभा सदस्यतर्फ भक्तपुर जिल्लाको प्रतिनिधिसभा निर्वाचन क्षेत्र १ को (क), बाग्लुङ जिल्लाको प्रतिनिधिसभा निर्वाचन क्षेत्र २ को (ख) र दाङको प्रतिनिधिसभा निर्वाचन क्षेत्र ३ को (ख) मा गरी तीनवटा प्रदेशसभा सदस्यका लागि उपचुनाव हुँदैछ ।

प्रतिनिधिसभा र प्रदेशसभा सदस्य पदका लागि हुने उपचुनावका लागि आगामी कात्तिक २१ गते बिहान १० बजेदेखि दिउँसो १ बजेसम्म उम्मेदवारको मनोनयनपत्र दर्ता गर्ने कार्यतालिका सार्वजनिक गरेको निर्वाचन आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी दिनुभयो ।

उम्मेद्वारहरुले सम्बन्धित जिल्लाको निर्वाचन अधिकृतको कार्यालयमा उम्मेद्वारी दर्ता गर्न सक्ने छ । उम्मेद्वारी मनोनयन दर्ता गरेसँगै त्यही दिन दिउँसो १ः३० देखि ३ बजेसम्म मनोनयनपत्र दर्ता भएका उम्मेदवारको सूची प्रकाशन गरिने छ ।

भोलिपल्ट २२ गते बिहान ११ देखि अपराह्न ५ बजेसम्म उम्मेदवारको विरोधमा उजुरी दिने, २३ गते बिहान ११ देखि दिउँसो १ः३० बजेसम्म मनोनयनपत्र र उजुरी उपर जाँचबुझ गर्ने, २३ गते दिउँसो ३ बजेदेखि अपराह्न ५ बजेसम्म मनोनयन भएको उम्मेदवारको नामावली प्रकाशन गर्ने कार्यतालिका रहेको पनि उहाँले जानकारी दिनुभयो ।

त्यस्तै, २४ गते बिहान १० बजेदेखि दिउँसो १ बजेसम्म उम्मेदवारले नाम फिर्ता लिने, त्यही दिन दिउँसो ३ बजेदेखि अपराह्न ५ बजेसम्म उम्मेदवारहरुको अन्तिम नामावली प्रकाशन गर्ने, २५ गते बिहान ११ बजेदेखि अपराह्न ४ बजेसम्म उम्मेदवारलाई चुनाव चिह्न प्रदान गर्ने र मंसिर १४ गते बिहान ७ बजेदेखि अपराह्न ५ बजेसम्म मतदान गर्ने समयसहितको चुनावको कार्यक्रम सार्वजनिक भएको हो ।

उम्मेद्वारले चुनावको ४८ घण्टाअघिबाट भने कुनै पनि प्रचार प्रसारको काम गर्न नपाउने आयोगले जनाएको छ । 

यस्तै विभिन्न ४ वटा पालिका प्रमुखको स्थान रिक्त छ । सुनसरीको धरान उपमहानगरपालिका प्रमुख, पाचँथरको फाल्गुनन्द गाउँपालिका अध्यक्ष, संखुवासभाको मकालु गाउँपालिका अध्यक्ष र महोत्तरीको पिपरा गाउँपालिका अध्यक्षको पद खालि छ । यहाँ उपचुनावमार्फत प्रमुख चयन गरिने छ ।

यस्तै, हुम्ला जिल्लाको खार्पुनाथ गाउँपालिकाको उपाध्यक्षसहित विभिन्न ३४ वटा जिल्लाका ४० वटा स्थानीय तहका विभिन्न वडाका वडा ४३ वडाअध्यक्ष पद रिक्त छ ।  पालिका प्रतिनिधिको उम्मेद्वारी मनोनयन कात्तिक २७ गतेका लागि तोकिएको छ ।

कात्तिक २७ गते बिहान १० बजेदेखि दिउँसो १ बजेसम्म उम्मेदवारको मनोनयनपत्र दर्ता गर्ने तालिका रहेको प्रवक्ता श्रेष्ठले बताउनुभयो । कात्तिक २७ गते दिउँसो १ः३० बजेदेखि ३ बजेसम्म मनोनयनपत्र दर्ता भएको उम्मेदवारको सूची प्रकाशन गर्ने, २८ गते बिहान ११ बजेदेखि अपरान्ह ५ बजेसम्म उम्मेदवारको विरोधमा उजुरी दिने, २९ गते बिहान ११ बजेदेखि दिउँसो १ः३० बजेसम्म मनोनयनपत्र र उजुरी उपर जाँचबुझ गर्ने, २९ गते दिउँसो ३ बजेदेखि अपरान्ह ५ बजेसम्म मनोनयन भएको उम्मेदवारको नामावली प्रकाशन गर्ने तालिका छ ।

यस्तै कात्तिक ३० गते बिहान १० बजेदेखि दिउँसो १ बजेसम्म उम्मेदवारले नाम फिर्ता लिने, ३० गते दिउँसो ३ बजेदेखि अपरान्ह ५ बजेसम्म उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने, मंसिर १ गते बिहान ११ बजेदेखि अपरान्ह ४ बजेसम्म उम्मेदवारलाई चुनाव चिन्ह प्रदान गर्ने र मंसिर १४ गते बिहान ७ बजेदेखि अपरान्ह ५ बजेसम्म मतदान गर्ने समयसहितको निर्वाचन कार्यक्रम आयोगले तयार पारेको हो ।

उम्मेद्वारी मनोनयन दर्ता सहज बनाउन प्रतिनिधि सभा र प्रदेश सभा चुनावका लागि २२ गते र पालिकाका लागि २७ गतेको समय मिलाइएको प्रवक्ता श्रेष्ठले बताउनुभयो ।

आयोगले कार्यतालिका तयार पारेर राजपत्रमा प्रकाशन गर्नका लागि पठाइसकेको छ । एक दुई दिनमा नै राजपत्रमा प्रकाशित हुने आयोगका प्रवक्ता श्रेष्ठले जानकारी दिनुभयो ।   

अन्तिम अपडेट: चैत १४, २०८०

तपाईको प्रतिक्रिया