रेशमलाल चौधरीलाई तत्काल रिहा गर्न आदिवासी जनजाति महासंघकाे माग

 कात्तिक ३, २०७६ आइतबार १७:३:४२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – नेपाल आदिवासी जनजाति महासंघले सांसद रेशमलाल चौधरीलाई तत्काल रिहा गर्न माग गरेको छ । 

महासंघका अध्यक्ष जगत बरामले कैद भुक्तान गरिरहेका राष्ट्रिय जनता पार्टी नेपालका कैलाली क्षेत्र नम्बर १ का प्रतिनिधि सभाका सांसद चौधरीलाई बिना शर्त तत्काल रिहा नगरे सरकारविरुद्ध आन्दोलन चर्काउने चेतावनी दिनुभयो । 

शुक्रबार र शनिबार काठमाण्डौमा सम्पन्न ‘प्रथम नेपाली आदिवासी जनजाति अन्तर्राष्ट्रिय सम्मेलन’ले जारी गरेको आदिवासी जनजातिहरुको काठमाण्डौ घोषणा पत्र आइतबार सार्वजनिक गर्दै उहाँले विश्वमा रहेका सबै नेपाली आदिवासी जनजातिहरुलाई पनि निर्वाचनमा मत हाल्न पाउने व्यवस्था गर्न पनि सरकारको गम्भीर ध्यानाकर्षण गराउनुभयो । 

अध्यक्ष बरामले सम्मेलनले संविधान संशोधन गरेर आदिवासी जनजातिहरुलाई पनि राज्यका सबै निकाय र तहमा समान प्रतिनिधित्व व्यवस्था गराउन पनि सरकारलाई दबाब दिएको बताउनुभयो ।

घोषणा पत्रमा गोर्खा सैनिकमा भर्ती भएका सैनिकका सन्तानहरुलाई वंशजको आधारमा प्राप्त हुने नेपाली नागरिकतालाई पनि निरन्तरता दिन सरकारसँग आग्रह गरेको छ । 

त्यसैगरी घोषणा पत्रमा आदिवासी जनजाति संघ-संस्थाहरुमाथि हुने सबै प्रकारको विभेद अन्त्यका लागि राष्ट्रिय तथा अन्तर्राष्ट्रियरुपमै एकजुट भएर अघि बढ्ने प्रतिबद्धता पनि व्यक्त गरिएको छ ।

अन्तिम अपडेट: चैत १, २०८०

तपाईको प्रतिक्रिया