नेपाल सुरुङ मार्गको नयाँ युगमा प्रवेश गर्‍यो : प्रधानमन्त्री ओली

 कात्तिक ४, २०७६ सोमबार १९:३०:१० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – प्रधानमन्त्री केपी शर्मा ओलीले नागढुंगा सुरुङ मार्गको शिलान्यास गर्नुभएको छ । उहाँले नेपालको इतिहासमै पहिलो पटक राजमार्ग अन्तर्गतको सुरुङ मार्गको सोमबार एक कार्यक्रमका बीच शिलान्यास गर्नुभएको हो । 

प्रधानमन्त्री ओलीले नेपाल सुरुङ मार्गको नयाँ युगमा प्रवेश गरेको उल्लेख गर्दै आम नेपालीलाई बधाइ दिनुभयो । उहाँले जलविद्युतको क्षेत्रमा, सिँचाइको क्षेत्रमा नहरहरु बने पनि राजमार्गमा सुरुङ निर्माणको कार्य पहिलो पटक नेपालमा भएकोमा आफूलाई खुसी लागेको पनि बताउनुभयो । 

उहाँले सुरुङ मार्ग तोकिएको समयमा सम्पन्न गर्न जापानको हाज्मा इण्डो कर्पोरेशनलाई सचेत गराउनुभयो । ४२ महिनाभित्र निर्माण सम्पन्न हुनेगरी सुरुङ मार्ग जापान सरकारको ऋण सहायतामा बन्न लागेको हो । त्यसअवसरमा प्रधानमन्त्री ओलीले सुरुङ मार्ग निर्माणका लागि सहयोग गरेकोमा जापान सरकार र जापानी जनताप्रति पनि आभार व्यक्त गर्नुभयो । 

प्रधानमन्त्री ओलीले आफू नेतृत्वको वर्तमान सरकारले नेपालको इतिहासमा पहिलो पटक यति धेरै सडक निर्माण गरेको स्पष्ट पार्नुभयो । उहाँले सुरुङ मार्ग निर्माणको अन्य कामलाई पनि सरकारले तीव्रता दिने प्रतिबद्धता व्यक्त गर्नुभयो । टोखा–छहरे, बेत्रावती–स्याफ्रुबेशी सुरुङ मार्गलाई पनि अगाडि बढाउन लागिएको प्रधानमन्त्री ओलीको भनाइ छ । 

‘१६ सय किलो मिटर सडक त कालोपत्रे गरिएको छ,’ प्रधानमन्त्री ओलीले भन्नुभयो, ‘एअरपोर्टहरु बन्दैछन्, फाष्ट ट्रयाक बन्दैछ, हुलाकी राजमार्ग सकिनै लागेको छ, नेपालको इतिहासमा यति धेरै सडक मार्ग कहिल्यै बनेको थिएन ।’

प्रधानमन्त्री ओलीले अब सडकपेटीमा कुनै पनि मानिस देख्न नपर्ने दाबी पनि गर्नुभयो । उहाँले सडक पेटीमा कोही मानिस भए सरकारले उनीहरुको आवासको व्यवस्था गर्ने आश्वासन पनि दिनुभयो ।

कार्यक्रममा बोल्दै भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठले सुरुङ मार्ग निर्माणको काम समयमै सम्पन्न हुने विश्वास व्यक्त गर्नुभयो । उहाँले काठमाण्डौको सडक आगामी पुस महिनाभित्रसम्म कालोपत्रे गरिसक्ने दाबी गर्नुभयो ।

कार्यक्रममा बोल्दै नेपालका लागि जापानी राजदूत मासामिची साईगोले सुरुङ मार्गको निर्माण कार्यले नेपालको सामाजिक-आर्थिक रुपान्तरणमा सघाउ पु¥याउने विश्वास व्यक्त गर्नुभयो । उहाँले दुई देशबीचको सम्बन्धलाई थप सुदृढ बनाउन पनि सुरुङ मार्ग निर्माण कार्य उपयोगी हुने बताउनुभयो ।

जापानको ऋण सहयोगमा निर्माण हुन लागेको नागढुंगा सुरुङ मार्गको लम्बाइ २ दशमलव ६७ किलोमिटर रहेको छ । २२ अर्ब बजेट लाग्ने अनुमान गरिएको सुरुङ मार्गका लागि जापान सरकारले नेपाललाई ० दशमलव ०१ प्रतिशत ब्याज दरमा ऋण सहायता उपलब्ध गराएको हो ।

अन्तिम अपडेट: फागुन १४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

2 Comments

  • harihar singh rathour

    Oct. 22, 2019, 6:56 a.m.

    लेख्दा वोल्दा अध्ययन गरेर लेख्नु पर्छ । , हनुमान हरु नौविसे सूरंगमार्गलाई नेपालको पहिलो लेख्छन् । १०२ वर्ष अघिनै एसियाकै पहिलो सुरुंगमार्ग हेटौंडा मा निर्माण भैसकेको थियो । https://youtu.be/40Qh7B-rUOc

  •  0 Reply
  • dhama paudyal

    Oct. 21, 2019, 8:23 p.m.

    आफ्नै पानी जहाँजमा सर र र कोल्कोता सम्म गै हालियो । ग्याँस सिलिन्डर फालेर पाइप बाट आएको ग्याँसमा खाना पनि पकाइदैछ । मेलम्चीको पानीले सडक दिन दिनै पखालेको देखेर मक्ख परिदैछ ।अब सुरुङ्मार्ग बाट पनि यात्रा गरुला नि त ।

  •  0 Reply

तपाईको प्रतिक्रिया