नेपालको कृषि, पर्यटन र शहरी विकासमा लगानी गर्न विश्व समुदायलाई अर्थ मन्त्री खतिवडाको आग्रह

 कात्तिक ४, २०७६ सोमबार २०:५२:० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ - अर्थ मन्त्री  डाक्टर युवराज खतिवडाले नेपालको जलविद्युत, कृषि र शहरी पूर्वाधारको क्षेत्रमा लगानी गर्न विश्व समुदालयलाई आग्रह गर्नुभएको छ ।

विश्व बैंक समूह तथा अन्तर्राष्ट्रिय मुद्रा कोषको संयुक्त वार्षिक बैठकको दोस्रो दिन बोर्ड अफ् गभर्नरको प्लेनरी सेसनमा उहाँले विश्व समुदायलाई नेपालमा लगानी गर्न आग्रह गर्नुभएको हो ।

यस्तै उहाँले अन्तर्राष्ट्रिय वित्त निगमका एसिया प्रशान्त क्षेत्र हेर्ने उपाध्यक्षलगायतका उच्च पदाधिकारीहरुसँग भएको भेटमा नेपालको आर्थिक विकासमा निजी क्षेत्रको भूमिका महत्वपूर्ण हुने बताउँदै निजी क्षेत्रलाई थप सबल तथा सक्षम र प्रभावकारी बनाउन लगानीका क्षेत्रहरुको विविधीकरण गर्नुपर्ने विषयमा जोड दिनुभयो ।

उहाँले पूर्वाधार विकासका लागि मध्यम तथा दीर्घकालीन अवधिको वित्त परिचालन गर्ने विषयमा निगमको ध्यानाकर्षण गराउनुभयो । उहाँले नेपालको पूँजी बजार सानो भएकाले बचत र लगानीबीचको ठूलो अन्तर घटाउन विदेशी पूँजी परिचालन जरुरी भएको बताउनुभयो ।

यस्तै दक्षिण एसियामा सडक सुरक्षासम्बन्धी एक कार्यक्रममा मुख्य वक्ताको रुपमा सम्बोधन गरेका अर्थमन्त्री खतिवडाले सडक सुरक्षाका लागि सडक निर्माणभन्दा अगाडि अपनाउनुपर्ने डिजाइन तथा इन्जिनियरिङ पक्ष, सवारी साधनको भारवहन क्षमता, सडक प्रयोगकर्ताको ज्ञानको स्तर, सवारी साधनको परीक्षण र यातायात क्षेत्रको नियमन जस्ता विषयमा ध्यान पुर्‍याउनुपर्ने बताउनुभयो ।

यस्तै युरोमनी पत्रिकासँगको एक अन्तवार्ताको क्रममा अर्थमन्त्री डाक्टर खतिवडाले निजी लगानीकर्तालाई नेपालमा लगानी गर्दा जोखमको यथार्थ विष्लेषण गर्न सहयोग पुर्‍याउन र लगानीमा जोखिमबापत बढी प्रिमियम नलिने अवस्था सिर्जना गर्न नेपालको क्रेडिट रेटिङ गर्ने कार्य सुरु गरिसकेको जानकारी गराउनुभयो ।

त्यस्तै विश्वव्यापी आर्थिक सिथिलताले नेपालको वैदेशिक श्रम बजार, पर्यटन, विदेशी लगानी र  व्यापारको क्षेत्रमा पार्न सक्ने सम्भावित प्रतिकुलता सामना गर्नुपर्नेतर्फ सजग रहेको जानकारी दिनुभयो ।

अहिलेको विश्वव्यापी आर्थिक समस्या आर्थिक र मौद्रिक नीतिबाट मात्रै हल नहुने हुँदा अन्तर्राष्टिय तहमा अर्थ राजनीतिक समझदारी आवश्यक रहेकोमा उहाँले जोड दिनुभयो ।

अन्तिम अपडेट: फागुन १२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया