टर्च बालेर करोडौंको चेक काट्दै कोष नियन्त्रण कार्यालयका कर्मचारी !

 असार ३२, २०७५ सोमबार २०:१४:१४ | बालकुमार शर्मा
unn.prixa.net

जाजरकोट – सदरमुकाम खलंगामा केही दिन यता नेपाल विद्युत प्राधिकरणको जाजरकोट प्रशारण लाइनमा खराबी आएपछि विकास निर्माणमा समेत असर परेको छ ।

महालेखा  तथा विभागबाट हिजो–आज मात्रै करौैडौं रकम निकासा आएपछि कोष तथा लेखा नियन्त्रकको कार्यालय जाजरकोटलाई निकासा गरिदिन भ्याइ नभ्याई छ  । आइतबारदेखि विद्युत सेवा समेत अवरुद्ध भएपछि सडक डिभिजन कार्यालय चौरजहारी, जिल्ला शिक्षा कार्यालय जाजरकोट, सिँचाइ विकास डिभिन कार्यालय जाजरकोटलगायतका आयोजनाहरु  र विभिन्न जिल्लामा संचालन भएका सरकारी कार्यक्रमसमेतको निकासा दिन धौ–धौ परेको छ ।

 

‘यतिखेर सोलार व्याकअप र टर्च लाइट बालेर महालेखाको टीआरसी  सर्बर मार्फत काम गरिरहेका छौं’, कोष नियन्त्रक यामबहादुर थापाले भन्नुभयो, ‘आज राति पौने १२ बजेसम्म जति काम सकिन्छ, त्यति मात्रै निकासा हुनेछ । आजै विद्युत पनि छैन, इन्टरनेट पनि धौ–धौ चलेको छ । हेरौ कति सकिन्छ ।’

आफूहरुले असार २० सम्म चालु र २५ गतेसम्म पूँजीगत तर्फको बजेट निकासा गरिसक्न सबैलाई आग्रह गरे पनि कतिपय स्थानीय सरकारले समेत भर्खर निकासाको काम गर्न थालेकोले पनि अन्य सरकारी कार्यालयको निकासा निकाल्न ढिलाई भएको कोष लेखा नियन्त्रण कार्यालयका लेखापाल खिम थापाले बताउनुभयो ।

यस्तै बिजुली बत्ति नहुँदा लाइट बालेर दर्ता र चलानी गर्नु परेको दर्ता शाखाका सरिदा दवाडीको भनाई छ ।
आज राति  ११ः४५ सम्म जाजरकोट कोलेनिकाले करिब ६० करोडभन्दा बढीको निकासा छोेड्ने छ । अन्य हिसाब विवरण भनेपछि थाहा हुने कोलेनिकाले जनाएको छ ।

सोमबार दिउँसो बादल लागेकोले सौर्य उर्जाले काम गर्न छोडेमा जाजरकोटका कराडौं विकास योजनाको रकम केन्द्रमा फिर्ता हुने छ । सरकारले अहिलेसम्म थप रकम निकासा गरेकोले पनि समस्या भएको कोष नियन्त्रक यामबहादुर थापाले बताउनुभयो । सोमबार राति १२ बजेसम्म १० जना कर्मचारी खटिने कोलेनिकाले जनाएको छ ।
 

अन्तिम अपडेट: चैत ८, २०८०

बालकुमार शर्मा

बालकुमार शर्मा जाजरकोटका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया