पहिलो पटक काठमाण्डौ-बेइजिङ उडान सुरु, निगम असफल हुँदा हिमालय एअरलाइन्सलाई सफलता

 कात्तिक १०, २०७६ आइतबार १६:१५:६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ - हिमालय एअरलाइन्सले आइतबारदेखि चीनको बेइजिङ उडान सुरु गरेको छ ।

हिमालय एअरलाइन्सको १ सय ५८ सिटे एअरबस ३२० जहाज आइतबार बिहान काठमाण्डौबाट बेइजिङका लागि उडेको एअरलाइन्सका उपाध्यक्ष विजय श्रेष्ठले उज्यालोलाई जानकारी दिनुभयो । पहिलो उडानमा जहाजमा ६० जना यात्रु रहेका छन् । जहाज राति पौने १० बजे नेपाल फर्कनेछ । ५ घण्टाको उडान रहेको काठमाण्डौ–बेइजिङ यात्राको एकतर्फी भाडा २४ हजार रुपैयाँ तोकिएको हिमालय एअरलाइन्सले जनाएको छ ।

हिमालयको बेइजिङ उडानको शुभारम्भ गर्दै संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेशकुमार भट्टराईले हिमालय एअरलाइन्सले चीनसँगको हवाई सम्पर्क विस्तारले भ्रमण वर्षको अवधिमा चीनबाट पाँच लाख पर्यटक भित्र्याउने सरकारी लक्ष्यलाई पूरा गर्न महत्वपूर्ण योगदान गर्ने व्यावसायिक सफलताको कामना गर्नुभयो ।    

नेपालका लागि चिनियाँ राजदूत हउ यान्छीले नेपाल अन्तर्राष्ट्रिय पर्यटकका लागि आकर्षक गन्तव्य भएको र चिनियाँ नागरिकका लागि पदयात्रा गर्न नेपाल दक्षिण एसियाकै मुख्य रोजाइमा पर्ने गरेको बताउनुभयो ।

हिमालय एअरलाइन्सले हप्ताको आइतबार, मंगलबार र शुक्रबार बेइजिङ उडान गर्नेछ । तर सुरुका २ हप्ता भने मंगलबार र शुक्रबार मात्रै उडान हुनेछ ।

हिमालय एअरलाइन्सले नेपालको इतिहासमै पहिलोपटक काठमाण्डौ–बेइजिङ सिधा उडाउन सुुरु गरेको हो । यसअघि नेपाल वायुसेवा निगमले २०५१ सालदेखि जापानको टोक्यो उडान गर्दा चीनको संघाई हुँदै उडान गर्थ्यो । तर काठमाण्डौ–बेइजिङ सिधा उडान भने थिएन ।

यसअघि राष्ट्रिय ध्वजावाहक नेपाल वायु सेवा निगमले चीनको साङ्घाई र ल्हासा शहरमा उडान गरेको भए पनि राजधानीसँग हवाई पहुँच विस्तार हुन सकेको थिएन । 

नेपाल भ्रमण वर्षको संघारमा विश्वमै सबैभन्दा धेरै पर्यटक घुम्ने देश चीनमा हवाई उडान सुरु भएसँगै नेपालमा चिनियाँ पर्यटकको आगमनमा बढ्ने हुने अपेक्षा गरिएको छ । पछिल्ला दिनमा चीनबाट नेपालमा भएको उच्चस्तरको भ्रमणले पनि धेरैभन्दा धेरै चिनियाँ नागरिकले नेपाल भ्रमण गर्ने अनुमान गरिएको छ ।

‘हामीले नेपालको इतिहासमै पहिलो पटक काठमाण्डौ–बेइजिङ सिधा उडान गर्न सफल भएको छ, चीनमा नेपालको पहुँच अब झनै बढ्नेछ’, उपाध्यक्ष श्रेष्ठले भन्नुभयो ।

अब नयाँ वर्षदेखि चीनकै चाङसा र ओयाङ  शहरमा पनि हिमालय एअरलाइन्सले उडानको तयारी गरेको छ । हिमालयले हाल काठमाण्डौबाट बंगलादेशको ढाका, यूएईको अबुधाबी, दुबई, साउदी अरबको दमाम र कतारको दोहा सिधा उडान गर्दै आएको छ ।

सरकारी कम्पनी भने चीन उडानमा असफल

लामो समयदेखि तयारी गरेजस्तो देखिए पनि नेपाल वायुसेवा निगम भने चीन उडानमा असफल भैरहेको छ ।

चीनसँग हवाई सम्झौता नवीकरण भए पनि निगमले चीनका विमानस्थलमा स्लट पाएका छैनन् । निगमका वाइडबडी जहाज छोटो दूरीमा उडिरहेका छन । निगमले पटक–पटक ‘छिट्टै चीन उडान गर्छौँ’ भने पनि सफल हुन सकेको छैन ।

‘चीनले सेफ्टी अडिटको कारण देखाएर उडान अनुमति दिएको छैन, नोभेम्बरको अन्तिममा उनीहरुको टोली अडिटको लागि नेपाल आउने भनेको छ, अडिट नगरी निगमको चीन उडान हुँदैन’, निगमका नायब महाप्रबन्धक तथा प्रवक्ता गणेश चन्दले भन्नुभयो ।

निगमको सेफ्टी अडिटका लागि चीनसँग प्रारम्भिक सम्झौता भैसकेको छ । चीनका विमानस्थलले स्लट दिन आनाकानी गरे साउदी अरेबियाको रियाधमा उडानको प्रक्रिया सुरु गर्ने पनि चन्दले जानकारी दिनुभयो ।
 

अन्तिम अपडेट: चैत ८, २०८०

तपाईको प्रतिक्रिया