आलमविरुद्ध मुद्दा दायर हुँदै, महराविरुद्धको कसुरमा आज पनि थुनछेक बहस

 कात्तिक १८, २०७६ सोमबार ८:४२:४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्वसांसद मोहम्मद आफ्ताब आलमविरुद्ध सोमबार जिल्ला अदालत रौतहटमा मुद्दा दायर हुने भएको छ । 

प्रहरीले बुझाएको अनुसन्धान प्रतिवेदनका आधारमा आफ्ताब आलम, उनका भाइ महताबसहित मबिन आलम, शेख भदइ, शेख एराज, बद्री सहनीलगायत ११ जनाविरुद्ध सर्वस्वसहित जन्म कैदको माग गर्दै मुद्दा दायर गर्ने तयारी रहेको जिल्ला सरकारी वकिल कार्यालयले जनाएको छ ।

बेलुका ४ बजेसम्ममा जिल्ला अदालतमा मुद्दा दायर गरिने जिल्ला सरकारी वकिल खडिन्द्रराज कटुवालले जानकारी दिनुभयो । सोमबार मुद्दा दायर भए मंगलबारदेखि आलमसँग अदालतमा बयान र थुनछेकको बहस सुरु हुनेछ । आलमलगायतले २०६४ सालमा रौतहटको राजपुरमा बम बनाउने क्रममा विष्फोट हुँदा घाइते भएकालाई जिउँदै इटाभट्टामा जलाएको आरोप लागेको छ । 

यसैबीच, निवर्तमान सभामुख कृष्णबहादुर महराविरुद्धको करणीसम्बन्धी कसुरमा सोमबार पनि थुनछेक बहस हुँदैछ । काठमाण्डौ जिल्ला अदालतका न्यायाधीश सुदर्शन पाण्डेको इजलासमा आइतबारदेखि सुरु भएको थुनछेक बहस नसकिएकाले सोमबार पनि निरन्तर हुने भएको हो । 

महराका तर्फबाट बहस गर्न ३२ जना अधिवक्ताले नाम लेखाएकाले सबैले बहश गरे सोमबार पनि बहश नसकिने सम्भावना छ । बहस सकिएपछि महरालाई पूर्पक्षका लागि थुनामा राख्ने वा कारागार पठाउने भन्नेबारे अदालतले फैसला गर्नेछ । 

जिल्ला सरकारी वकिलको कार्यालयले महरामाथि यौनजन्य हिंसाको अभियोग लगाउँदै गएको बिहीबार मुद्दा दर्ता गरेको हो ।

अन्तिम अपडेट: बैशाख २, २०८१

तपाईको प्रतिक्रिया