बाग्लुङ उपचुनाव : नेकपाको समर्थनमा राजमोका शाही र कांग्रेसबाट शेरचनको उम्मेदवारी

 कात्तिक २१, २०७६ बिहिबार १५:३:० | उज्यालो सहकर्मी
unn.prixa.net

बाग्लुङ – प्रदेश सभा सदस्यको उपचुनावका लागि बाग्लुङमा राष्ट्रिय जनमोर्चाका खिमविक्रम शाहीले उम्मेदवारी मनोनयन दर्ता गराउनुभएको  छ । 

आउँदो मंसिर १४ गते हुने चुनावमा बाग्लुङ क्षेत्र नम्बर २ को ‘ख’ का लागि वाम गठबन्धनबाट साझा उम्मेदवारको रुपमा शाहीले उम्मेदवारी दर्ता गराउनुभएको हो ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता तथा कार्यकर्ताको उपस्थितिमा राष्ट्रिय जनमोर्चा (राजमो) जिल्ला सदस्य शाहीले मुख्य निर्वाचन अधिकृत कार्यालयमा उम्मेदवारी मनोनयन दर्ता गर्नुभएको हो । 

नेकपाको जिल्ला र तल्लो तहका नेता, कार्यकर्ता एकल चुनावी मैदानमा जाने तयारीमा भए पनि केन्द्रीय तहबाट गठबन्धन बनाएर बागलुङमा राजमोलाई सघाउने निर्णय गरिएको थियो । 

त्यस्तै नेपाली कांग्रेसका तर्फबाट जीतबहादुर शेरचनले उम्मेदवारी दर्ता गराउनुभएको छ । शेरचनको उम्मेदवारी मनोनयनमा सांसद ज्ञानकुमारी छन्त्याल प्रस्तावक र नरजंग घर्ती समर्थक रहनुभएको छ । 

अघिल्लो निर्वाचनमा पनि उम्मेदवार रहनुभएका शेरचन बाम गठबन्धनका तर्फबाट साझा उम्मेदवार राजमोका टेकबहादुर घर्तीसँग पराजित हुनुभएको थियो ।  

सांसद टेकबहादुर घर्तीको निधनपछि हुन लागेको उपचुनावमा समाजवादीका तर्फबाट अशोक बिक, स्वतन्त्र लगायत गरी ११ जनाले उम्मेदवारी दिएका छन् । यस क्षेत्रमा ३६ हजार ९ सय जना मतदाता छन् ।

अन्तिम अपडेट: बैशाख ५, २०८१

तपाईको प्रतिक्रिया