नयाँ नक्सामा नेपालसँगको सीमा परिवर्तन गरेका छैनौँ : भारत

 कात्तिक २१, २०७६ बिहिबार १७:४१:४५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ - भारत सरकारले आफूले नेपाली भूमि नमिचेको दाबी गरेको छ ।

बिहीबार भारतीय विदेश मन्त्रालयमा आयोजित नियमित पत्रकार सम्मेलनमा भारतीय विदेश मन्त्रालयका प्रवक्ता रवीश कुमारले  भारतले जारी गरेको नयाँ नक्सामा नेपालसँगको सीमामा कुनै परिवर्तन नगरिएको जानकारी दिएका छन् । 

‘हाम्रो नक्सामा भारतीय सार्वभौम भूभाग मात्रै दर्शाइएको छ । नयाँ नक्सामा नेपालसँगको सीमामा कुनै संशोधन गरिएको छैन’, विदेश मन्त्रालयका प्रवक्ता रवीश कुमारले भने । तर उनले नेपालसँग रहेको सीमा विवाद भने दुई पक्षीय संयन्त्रबाट समाधान गर्ने प्रयास भैरहेको बताए । ‘हामी हाम्रो निकट र मैत्रीपूर्ण द्विपक्षीय सम्बन्धको भावनालाई कदर गर्दै वार्ताको माध्यमबाट सीमा विवाद समाधान हुनुपर्छ भन्ने प्रतिबद्धता दोहोर्याउन चाहन्छौँ । साथै दुई देशबीच मतभेद पैदा गर्न खोज्ने निहीत स्वार्थका विरुद्ध दुवै देश लड्नुपर्ने छ’, प्रवक्ता कुमारले भने ।

भारतीय विदेश मन्त्रालयका प्रवक्ता रवीश कुमारले कसैको उक्साहटमा भारत–नेपालबीच पछिल्लो समय सीमा विवाद बढेकोतर्फ संकेत गरेका छन् ।

गएको शनिबार भारतीय गृह मन्त्रालयले सार्वजनिक गरेको नयाँ राजनैतिक नक्सामा दार्चुला जिल्लाको लिपुलेक, लिम्पियाधुरा र कालापानी क्षेत्रलाई पनि समेटेपछि नेपालमा भारतविरुद्ध आक्रोश बढ्दो छ । नेपाल सरकारले पनि बिहीबार कालापाली, लिपुलेक र लिम्पियाधुरा नेपाली भूमि रहेको भन्दै भारत एक्लैको निर्णय नमान्ने स्पष्ट पारेको छ । बिहीबार परराष्ट्र मन्त्रालयले प्रेस विज्ञप्तिमार्फत कालापाली, लिपुलेक र लिम्पियाधुरा नेपाली भूमि रहेको भन्दै भारतसँगकाे सीमा विवाद वार्तामार्फत समाधान हुनुपर्ने स्पष्ट पारेकाे थियाे ।

लामो समयदेखि भारतले अतिक्रमण गरेर राखेको यो क्षेत्र अहिले भारतले औपचारिक रुपमा नै राजनीतिक नक्सामा समेटेको हो । भारत सरकारले ३१ अक्टोबरदेखि अस्तित्वमा आएका दुई भिन्ना भिन्नै केन्द्रशासित प्रदेश (युनियन टेरिटोरी) जम्मू–कश्मीर र लद्दाखसहितको देशको औपचारिक राजनीतिक नक्सा गएको शनिबार सार्वजनिक गर्दा नेपालको भूभाग पनि आफ्नो सीमाभित्र मिसाएको छ ।

याे पनि पढ्नुहाेस्


अन्तिम अपडेट: चैत ११, २०८०

तपाईको प्रतिक्रिया