फाल्गुनन्दको समाज सुधार मुचुल्का : छोरासरह छोरीलाई शिक्षा, हिंसारहित समाज

 कात्तिक २५, २०७६ सोमबार ८:२१:५२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ –  किराँत धर्मगुरु तथा समाज सुधारक फाल्गुनन्द लिङ्देनको १ सय ३५ औँ जन्मजयन्ती आज मनाइँदैछ । उहाँका अनुयायीहरुले विशेष पर्वका आजको दिनलाई पर्वको रुपमा मनाउने गरेका छन् । जन्मजयन्तीका अवसरमा लिम्बू समुदायको बसोबास रहेका पूर्वी नेपालका विभिन्न जिल्लासहित काठमाण्डौ उपत्यका र विदेशमा समेत धार्मिक तथा साँस्कृतिक कार्यक्रम हुँदैछन् । 

किराँत धर्मावलम्बीका महागुरु फाल्गुनन्दको जन्म भएको दिन कात्तिक २५ गतेलाई हरेक वर्ष विशेष पर्वका रुपमा मनाउने गरिन्छ । पाँचथर, ताप्लेजुङ, तेह्रथुम, इलाम झापालगायतका पूर्वी पहाडी जिल्लामा धार्मिक अनुष्ठान, पूजापाठलगायतका कार्यक्रम आयोजना गरी उहाँको जन्मजयन्ती मनाइँदैछ । विसं २०७२ मा फाल्गुनन्द जन्मजयन्तीको अवसरमा किराँत धर्मावलम्बीहरूका लागि सरकारले सार्वजनिक पनि बिदा दिन थालेको छ ।

फाल्गुनन्द किराँत समुदायका धर्मगुरु भए पनि पूर्वी नेपालमा बसोबास गर्ने सबै समुदायले उहाँलाई समान श्रद्धा र आस्था राख्छन् । उहाँले किराँत धर्म, दर्शन र संस्कृतिको पुनःजागरणका क्रममा कुम्भकर्ण हिमशृङ्खलालाई किराँत धर्मावलम्बीको तीर्थभूमि र मुक्तिभूमिका रुपमा पहिचान गराउनुभएको थियो । उहाँले तयार पार्नुभएको सत्यधर्म मुचुल्का आज पनि उत्तिकै सान्दर्भिक छ ।

विक्रम संवत १९८८ मा लिम्बू समुदायका परम्पराभित्रका कुसंस्कारलाई परिवर्तन गर्न उहाँले तत्कालीन १० लिम्बूवान क्षेत्रका शासक, विद्वान् र धार्मिक–सामाजिक अगुवालाई भेला गराएर सत्यधर्म मुचुल्का तयार पार्नुभएको थियो ।

सत्यधर्म मुचुल्कामा छोरीचेलीको विवाह गर्दा सोत–रीत अर्थात पैसा लिन नहुने, भगवानको पूजा गर्दा प्राणीको हत्या गर्न नहुने, मद्यपान र मासु सेवन कम गर्दै लैजाने, मृत्यु संस्कार तीन दिनमा सम्पन्न गर्नेजस्ता समाज सुधारका महत्वपूर्ण सामाजिक, सांस्कृतिक पक्ष समेटिएका छन् ।

त्यसअघि किराँत समुदायमा छोरीको विवाहमा सुन, चाँदी, नगद, मासु र रक्सीको माग गर्ने चलन थियो । मुचुल्का तयार भएपछि छोरीलाई विवाहमा मोल नै तोकेर सोत रीत लिने चलन अन्त्य भएको किराँत समुदायका अगुवा बताउँछन् । लिंगका आधारमा हुने विभेद र दमनबाट संस्कृतिलाई अलग राख्नु पर्नेमा मुचुल्काले जोड दिएको छ । मुचुल्काले सबै प्राणीको अस्तित्वलाई सम्मान गर्ने र सबै प्राणीलाई भगवानका सन्तानका रुपमा व्याखा गर्ने प्रयास गरेको छ । यस्तै मुचुल्काले शाकाहारी जीवन पद्धतिमा जोड दिएको छ ।

यस्तै जाँडरक्सीले सामाजिक र आर्थिक रुपमा नकारात्मक असर पार्ने भएकाले यसको सेवन गर्न नहुने कुरा मुचुल्कामा समावेश छ ।

अभियानकर्मीदेखि राष्ट्रिय विभूतिसम्म

सत्य, शान्ति र अहिंसाका दूत एवं अभियानकर्मी महागुरु फाल्गुनन्दको जन्म वि.सं १९४२ कात्तिक २५ गते इलामको इभाङ गाविस वडा नं ५ चुक्चिनाम्बामा भएको थियो । किराँत धर्म, संस्कृति र कर्मकाण्डको सुधार गर्ने कार्यमा अहोरात्र खट्ने क्रममा उनको २००५ साल चैत २२ गते पाँचथरको इम्बुङमा देहवसान भएको थियो ।

इलाममा जन्म भए पनि पाँचथरलाई कर्मथलो बनाएका महागुरुको तपोभूमि लब्रेकुटी र समाधिस्थल सिलौटी पाँचथरको फिदिम नगरपालिकामा पर्छन् । फाल्गुनन्दले दिएको योगदानको सम्मानस्वरुप नेपाल सरकारले उहाँलाई २०६६ साल मङ्सिर १६ गते १६ औँ राष्ट्रिय विभूति घोषणा गरेको थियो । फाल्गुनन्दको नाममा हुलाक टिकट पनि प्रकाशित छ ।

किराँत धर्म र संस्कृतिको मौलिक पहिचान र संरक्षणमा जोड दिने फाल्गुनन्दले किराँत समुदायमा मासु र मदिरा खान नहुने, छोरीलाई समेत छोरासरह समान शिक्षा र अधिकार दिइनु पर्ने, जन्म, विवाह र मृत्यु संस्कार गर्दा मासुको साटो फलफूल प्रयोग गरिनु पर्ने, बिहे रितको नाममा सम्पत्ति तथा दाम लिन नहुने, स्वदेशी कपडा प्रयोग गर्नुपर्ने, सिरिजङ्गा लिपी प्रचलनमा ल्याउनु पर्ने लगायतका सामाजिक सुधारको अभियान चलाउनुभएको थियो ।

इलामको माङ्सेबुङमा धर्मगुरु आत्मानन्दले स्थापना गरेका माङ्हिम अहिले किराँत धार्मिक स्थलको रूपमा प्रसिद्ध छ भने पाँचथरको लेब्रेकुटी, सिलौटीलगायतका स्थानमा पनि फाल्गुनन्दकै नामबाट धार्मिक पर्यटन बढेको छ ।

फाल्गुनन्दको उपदेश र मार्गदर्शन महत्वपूर्ण : राष्ट्रपति भण्डारी

राष्ट्रपति विद्यादेवी भण्डारीले फाल्गुनन्दको प्रेरणादायी उपदेश र मार्गदर्शनको परिपालना गर्नसकेमा धार्मिक, सामाजिक तथा सांस्कृतिक विविधताबीच सहिष्णुता र सद्भाव कायम गर्दै राष्ट्रिय एकतालाई सुदृढ एवं सबल बनाउन सकिने विश्वास व्यक्त गर्नुभएको छ । 

फाल्गुनन्द जयन्तीका अवसरमा शुभकामना सन्देश दिनुहुँदै उहाँले फाल्गुनन्दले किराँत धर्म र संस्कृतिमा महत्वपूर्ण योगदान पुर्‍याएकामा उच्च कदर गर्दै सरकारले उहाँलाई राष्ट्रिय विभूति घोषणासमेत गरेको स्मरण गर्नुभएको छ । 

उहाँले फाल्गुनन्दको प्ररणादायी उपदेश र मार्गदर्शनको परिपालना गर्न सकेमा धार्मिक, सामाजिक तथा सांस्कृतिक विविधताबीच सहिष्णुता र सद्भाव कायम गर्दै राष्ट्रिय एकतालाई सुदृढ एवम् सबल बनाउन सकिने विश्वास आफूले लिएको उल्लेख गर्नुभएको छ ।

फाल्गुनन्दसँग गाँसिएका ठाउँलाई पर्यटकीय क्षेत्रमा विकास गर्नुपर्छ : प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले फाल्गुनन्दको जीवनसँग विभिन्न समयमा गाँसिएका महत्वपूर्ण ठाउँलाई पर्यटकीय क्षेत्रका रुपमा विकास गर्नुपर्ने बताउनुभएको छ । किराँतधर्मका महागुरु फाल्गुनन्दको १३५ औंँ जन्मजयन्तीका अवसरमा शुभकामना सन्देश दिँदै प्रधानमन्त्री ओलीले ती ठाउँमा पर्यटकीय पूर्वाधार निर्माणका लागि सरकार सकारात्मक रहेको उल्लेख गर्दै फाल्गुनन्दको जन्मभूमि चुक्चीनम्बा, ज्ञानभूमि फुलुङ्गी, कर्मभूमि सिलौती लोब्रे र तीर्थभूमि फक्ताक्लुङलाई पर्यटकीय क्षेत्रका रुपमा विकास गर्नुपर्नेमा जोड दिनुभएको छ ।  

पूर्वी नेपालको इलाममा जन्मनुभएका फाल्गुनन्दले समाज सुधारका लागि ठूलो योगदान गर्नुभएको जनाउँदै प्रधानमन्त्रीले भन्नुभएको छ, ‘त्यसबेलाको किरात समुदायको सामाजिक सुधार अभियानका लागि उहाँले विसं १९८८ वैशाखमा जारी गर्नुभएको सातबुँदे समाज सुधारको मुचुल्का आज पनि उत्तिकै सान्दर्भिक छ ।’ 

सत्य, दया, शान्ति र अहिंसा सिद्धान्त बोक्नुभएका फाल्गुनन्दले विश्व शान्ति र मानव एकताका लागि दिनुभएको शिक्षा आज पनि मननीय भएको जनाउँदै प्रधानमन्त्रीले छोरासरह छोरीलाई पनि अंश दिनुपर्ने, विद्यालयको स्थापना गर्नुपर्ने, हिंसारहित समाज निर्माण गर्नुपर्ने फाल्गुनन्दको अभियानले आज पनि समाजलाई सकारात्मक दिशामा अगाडि बढाउन प्रेरित गरेको बताउनुभएको छ । 

फाल्गुनन्दको योगदानको कदर गर्दै अघिल्लो पटक आफू प्रधानमन्त्री भएका बेला फाल्गुनन्दको जन्मदिन कात्तिक २५ गते इलाम आसपासमा सार्वजनिक बिदा दिने निर्णय गरिएको पनि प्रधानमन्त्रीले स्मरण गर्नुभएको छ ।

अन्तिम अपडेट: बैशाख ३, २०८१

तपाईको प्रतिक्रिया