भारतसँगको सीमा विवाद समाधानका लागि नेपालले थाल्यो कुटनीतिक पहल

 कात्तिक २५, २०७६ सोमबार १३:३१:५२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ - भारतसँग रहेको सीमा विवाद समाधानका लागि नेपालले कुटनीतिक पहल सुरु गरेको छ ।

भारतका लागि नेपाली राजदूत निलाम्बर आचार्यले गएको शुक्रबार भारतीय विदेश सचिव विजय गोखलेसँग भेटवार्ता गर्नु भएको छ । राजदूत आचार्यले भारतीय विदेश सचिव गोखलेसँग सीमा विवादका बारेमा कुरा गर्नु भएको दूतावासले जनाएको छ । दूतावासले सोमबार ट्वीटमार्फत विदेश सचिव गोखलेसँगको भेटमा राजदूत आचार्यले द्विपक्षीय सम्बन्धका साथै सीमा विवादका बारेमा पनि कुरा उठाएको जानकारी दिएको छ ।

पछिल्लो समय भारतले सार्वजनिक गरेको नयाँ राजनीतिक नक्सामा नेपाली भूमि कालापानी, लिपुलेक र लिम्पियाधुरालाई पनि समेटेपछि सीमा विवाद अझै चुलिएको थियो । परराष्ट्र मन्त्रालयले विज्ञप्ति नै निकालेर भारतले एकतर्फी रुपमा सार्वजनिक गरेको नक्सा नेपाललाई मान्य नहुने बताएको छ ।

त्यस्तै प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वदलीय र सर्वपक्षीय बैठक बोलाइ सीमा विवाद समाधानका लागि आगामी रणनीतिबारे छलफल गर्नु भएको छ । छलफलमा सहभागी पूर्व प्रधानमन्त्री, परराष्ट्र मन्त्री, कुटनीतिज्ञ तथा सरोकारवालाले तत्काल कुटनीतिक पहलमार्फत भारतसँगको सीमा विवाद समाधान गर्न प्रधानमन्त्रीलाई सुझाव दिएका छन् ।

भारतीय विदेश मन्त्रालयले भने आफ्नो नयाँ नक्सामा नेपालसँगको सीमामा कुनै परिवर्तन नगरेको दाबी गरेको छ ।  भारतीय विदेश मन्त्रालयका प्रवक्ता रवीश कुमारले नक्सामा नेपालसँगको सीमामा परिवर्तन नभएको बताए पनि वार्तामार्फत नै सीमा विवाद सुल्झाउने प्रतिबद्धतामा भारत अडिग रहेको बताउनु भएको छ ।

सम्बन्धित समाचार


अन्तिम अपडेट: चैत ६, २०८०

तपाईको प्रतिक्रिया