भद्रपुर विमानस्थल आजदेखि १० दिनका लागि बन्द

 कात्तिक २६, २०७६ मंगलबार ८:२६:१३ | उज्यालो सहकर्मी
unn.prixa.net

झापा – भद्रपुर विमानस्थल मंगलबारदेखि १० दिनका लागि पूर्णरुपमा बन्द भएको छ । चन्द्रगढी नागरिक उड्डयन कार्यालयले विमानस्थलको धावनमार्ग मर्मतसँगै स्तरोन्नतिकाे काम सञ्चालन गर्न लागेकोले मंगलबारदेखि आउँदो मंसिर ५ गतेसम्मका लागि पूर्णरुपमा बन्द गरेको हो ।

एक हजार ५०० मिटर लम्बाइ र ३० मिटर चौडाइ रहेको धावनमार्ग जीर्ण बन्दै गएकाले गएको भदौ २० गतेदेखि असोज ४ गतेसम्म दिउँसो २ बजेदेखि विमान बन्द गरेर मर्मतसम्भार गरे पनि प्रभावकारी नभएका कारण पुनः पूर्ण बन्द गरेर मर्मतकार्य सुरु गरेको उड्डयन कार्यालयका प्रमुख पूर्ण चुँडालले जानकारी दिनुभयो ।

गौरी–पार्वती–देव एण्ड सायर जेभी काठमाण्डाैले धावनमार्ग मर्मतसम्भारसँगै स्तरोन्नतिका लागि १० करोड २३ लाख रुपैयाँमा ठेक्का लिएको उहाँको भनाइ छ ।

नेपाल नागरिक उड्डयन प्राधिकरणसँग लिखितरूपमा अनुमति लिएर विमानस्थल बन्द गराएको उहाँले जानकारी दिनुभयो । यस विमानस्थलमा नेपाल, बुद्ध, यती, सौर्य, श्री एयरलाइन्सले उडान भर्दै आएका छन् ।

अन्तिम अपडेट: चैत ११, २०८०

तपाईको प्रतिक्रिया