कच्चा पदार्थ र दक्ष कालीगढको अभावमा भोजपुरे खुकुरी संकटमा

 कात्तिक २८, २०७६ बिहिबार १४:६:५१ | उज्यालो सहकर्मी
unn.prixa.net

भोजपुर – कच्चा पदार्थ र दक्ष कालीगढको अभावमा भोजपुरे खुकुरी संकटमा पर्न थालेको छ । संसारमा वीर गोर्खालीको चिनारी तथा विदेशी मुद्रा आर्जनमा राम्रो स्रोत बनेको नेपालकै प्रसिद्ध भोजपुरे खुकुरी यतिबेला संकटमा पर्दै गएको हो । 

देशविदेशमा आफ्नो उत्कृष्ट छवि बनाएको भोजपुरे खुकुरी अन्य ठाउँहरुको खुकुरीको तुलनामा एकदमै लोकप्रिय र अधिक माग भए पनि राज्यले वन पैदावरमा लगाएको रोक र पेसा धान्ने कालीगढ भेटिन छाडेपछि यहाँको खुकुरी उद्योगहरु ओझेलमा पर्न थालेका छन् ।

जिल्लाभित्र कोट, दलगाउँ, गोगने, खावा, खैराङ, टक्सार, बोखिम, दाँवा, तिम्मा, दिङ्ला, देउराली, जरायोटारलगायत ३५ भन्दा बढि ठाउँमा बुदुना, सिरुपाते, बाँसपातेलगायत विभिन्न किसिमका खुकुरी बनाइन्छ । ‘खुकुरीको माग प्रशस्त भए पनि कच्चा पदार्थ र दक्ष कालिगढको अभावमा माग अनुसारको उत्पादन धान्न नसकिएको उर्मिला आरन उद्योगका सञ्चालक हिरा श्रेष्ठले बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, ‘पछिल्लो समय वडास्तर तथा गाउँपालिकामा स्थानीय युवाहरुलाई तालिम दिएर खुकुरीको उत्पादन गर्न थालेका छौँ ।’

केही दशक यता यहाँ उत्पादित खुकुरी धरान, विराटनगर, काठमाण्डौलगायतका सहरकासाथै भारत, चीन, बङगलादेश पाकिस्तान, ब्रुनाइ, सिंगापुर, हङकङ, जापान, कोरिया, बेलायतलगायत विदेशमा पनि लाखौँको मूल्यमा निर्यात हुने गरेको थियो ।

राम्रो आम्दानी भए पनि खुकुरी बनाउने पेसा गाह्रो हुने, फोहोर हुने, कच्चा पदार्थको अभाव हुने भएकाले यो पेसाप्रति मानिसहरुको आकर्षण घटिरहेको छ । 

विभिन्न आकर्षक बुट्टादार हुने भएकाले देश–विदेशमा पनि उत्तिकै चर्चा बटुलेको भोजपुरे खुकुरीहरु बढिभन्दा बढि पश्चिमा युरोपेली मुलुकहरुमा मायाको चिनो, सजावटको लागि पुग्ने गर्छ । कडा नियम कानुनका कारण खाडी अरेबियन मुलुकहरुमा यहाँका खुकुरीहरु खुला रुपमा लान नमिल्ने भए पनि सालका काठबाट निर्मित सजावट काठे खुकुरीहरु चिनो स्वरुप लाने गरिएको छ । पछिल्लो समय फलामका काम गर्ने मान्छेहरु सुन बनाउने, वैदेशिक रोजगारमा जाने गर्न थालेका छन् ।

खुकुरी व्यापारी गणेश गजेमर भन्नुहुन्छ, ‘खुकुरी बनाउनको लागि कच्चा पदार्थको अभाव छ यसमा स्थानीय सरकारहरुले कुनै चासो दिएका छैनन् । विस्तारै भोजपुरे खुकुरी लोप हुने अवस्थामा छ ।’

भोजपुरे खुकुरी वि.सं. २०२७ सालमा राजा महेन्द्र भ्रमणको क्रममा भोजपुर आउँदा स्थानीय बोखिमका सिंगबहादुर विश्वकर्मा ‘सिने’ भनिने खुकुरी उद्यमीले पहिलोपटक खुकुरी राजालाई उपहार स्वरुप दिएका थिए । त्यतिबेला खुकुरीको कौशलबाट आकर्षित बनेपछि राजा महेन्द्रले त्यस समयको एक हजार रुपैयाँ बक्सिस स्वरुप दिनुभएको थियो । त्यही समयदेखि भोजपुरे खुकुरीले लोकप्रियता पाएको कथन छ ।

अन्तिम अपडेट: फागुन ३०, २०८०

तपाईको प्रतिक्रिया