आँखामा संक्रमण होला, ख्याल गर्नुहोस् !

 कात्तिक २८, २०७६ बिहिबार १३:३२:२२ | डा. रचना सिंह
unn.prixa.net

आँखामा विभिन्न खाले समस्याहरु देखा पर्छन् । आँखा पाक्ने रोग जुनसुकै समयमा र जोकोहीलाई पनि हुन सक्छ । तर पनि अहिलेको सिजनमा आँखा पाक्ने रोगको समस्या अलि धेरैलाई हुन सक्छ ।

योबेला धुलो बढी हुने कारण आँखामा संक्रमण भएर आँखा पाक्ने समस्या देखिन सक्छ । सडकमा उड्ने धुलोमा भाइरस र ब्याक्टेरिया धेरै हुने कारण आँखा रातो हुने तथा चिलाउने समस्या निम्तिन्छ ।

अहिले आँखाको इन्फेक्सन (कन्जन्टिभाईटिस) बढी देखिएको छ । भाइरल इन्फेक्सनका कारण यस्तो समस्या देखिन्छ । आँखाबाट आँसु झर्ने, आँखा रातो हुने, आँखामा कचेरा लाग्ने जस्तो समस्या हुन सक्छ ।

बिरामीलाई आँखामा इन्फेक्सन हुनाका साथै अलिअलि ज्वरो आएको जस्तो हुने, शरीर गल्ने हुन्छ । कहिलेकाहीँ भाइरल इन्फेक्सन माात्रै नभएर अरु किटाणुहरु जस्तै ब्याक्टेरियाको पनि संक्रमण भयो भने आँखा पाक्ने समस्याले धेरै नै दुःख दिन्छ । त्यसैले आँखामा समस्या हुनेबित्तिकै अस्पताल जानु पर्छ ।

भाइरल इन्फेक्सन भएपछि अरुलाई पनि सर्न सक्छ । त्यसैले संक्रमण हुनेबित्तिकै डाक्टरलाई देखाउनुपर्छ ।  समयमा नै उपचार गरेन भने आँखाको ज्योति गुम्ने सम्भावना हुन्छ । त्यसैले कुनै पनि संक्रमणलाई साधारण रुपमा लिनु हुँदैन ।

रोकथामको उपाय

– घरभित्र, स्कुल, क्याम्पस तथा कार्यालयमा कसैलाई आँखा पाक्ने समस्या वा संक्रमण छ भने उबाट टाढै बस्नुपर्छ । 

– संक्रमित व्यक्तिले पनि कालो चस्मा लगाउनुपर्छ । आफूले प्रयोग गरेको रुमाल या अरु वस्तु अरुलाई दिन हुँदैन ।

– संक्रमित व्यक्तिले आँखामा औषधि हाल्नेबित्तिकै या आँखा छुने बित्तिकै साबुनपानीले हात धुनुपर्छ ।

संक्रमण हुनबाट कसरी जोगिने ?

– आँखाको सरसफाईमा विशेष ध्यान दिनुपर्छ । अहिले प्रदुषण बढेकाले संक्रमणको सम्भावना धेरै छ । त्यसैले बेलाबेला आँखा सफा गर्नुपर्छ । समय, समयमा धुनुपर्छ । मोटरसाइकल तथा स्कुटरमा हिँड्नेले अझ बढी ख्याल गर्नुपर्छ  । 

– घर बाहिर निस्किँदा चस्मा लगाउँदा राम्रो हुन्छ ।

– घाममा हिँड्दा सनगगल्स र कम्प्युटरमा बस्दा पावर नभएको चस्मा लगाउँदा पनि प्रभावकारी हुन्छ । 

–(आँखा रोग विशेषज्ञ डा. सिंहसँग विना न्यौपानले गरेको कुराकानीमा आधारित)

अन्तिम अपडेट: फागुन ३०, २०८०

तपाईको प्रतिक्रिया