बंगलादेशका राष्ट्रपति अब्दुल हमिद फेवातालमा सरर...

 कात्तिक २८, २०७६ बिहिबार १३:२५:३५ | उज्यालो सहकर्मी
unn.prixa.net

कास्की – चारदिने नेपाल भ्रमणमा रहनुभएको बंगलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिदले फेवातालमा डुङ्गा सयर गर्नुभएको छ । उहाँ बिहीबार पोखरा आइपुग्नुभएको हो । बिही्बार बिहान करिब १२ बजेको समयमा हमिद नेपाली सेनाको हेलिकप्टरबाट पोखरा विमानस्थल ओर्लनुभएको हो ।

विमानस्थल ओर्लिए लगत्तै हमिदलाई पोखरा विमानस्थलमा गण्डकी प्रदेशका कार्यवहाक मुख्यमन्त्री किरण गुरुङको टोलीले स्वागत गर्नुभएको थियो । स्वागत गरेपछि उहाँ सिधै डुङ्गा सयरको लागि फेवाताल पुग्नुभएको थियो । फेवातालमा उहाँको लागि तयार पारिएको मोटरबोटमा चढी फेवातालको अवलोकन गर्नुभएको छ ।

त्यसपछि फेवाताल पारी रहेको फिस्टेल लजमा प्रदेश सरकारले आयोजना गरेको दिवा भोजमा सहभागी हुने कार्यक्रम छ । उहाँले खाना खाने होटल फिस्टेल लज बुधबार रातिदेखि नै खाली गरिएको छ भने सुरक्षाकर्मी खटाएर रेखदेख गरिएको छ ।

दिवा भोजपछि उहाँ कास्कीको रुपाकोट गाँउपालिका जाने कार्यक्रम छ । रुपाकोटमा रहेको रुपाकोट रिसोर्टबाट हिमाली दृश्यावलोकन गर्ने कार्यक्रम छ । रुपाकोटमा आन्तरिक मामिला तथा कानुन मन्त्री हरिबहादुर चुमानको टोलीले स्वागत गर्ने छ ।

उहाँको स्वागतका लागि पोखराका सडक छेउछाउ नेपाल र बंगलादेशको झण्डा टाँगेर सजाइएको छ । विमानस्थलको गेटमा स्वागतद्धार बनाइएको छ भने सडक सरसफाइ गरिएको छ ।

रुपाकोटमा भव्य स्वागतको तयारी

पोखराबाट नजिकै रहेको रुपाकोटमा हमिदलाई सबैभन्दा पहिले मुश्लिम समुदायले स्वागत गर्ने कार्यक्रम छ । स्थानीय भेला भएर फूलगुच्छाले स्वागत गरेपछि झाँकी प्रस्तुत हुनेछ ।

त्यसपछि पञ्चेबाजा, नेवारको मारुनी नाच तथा गुरुङ समुदायको घाटु र छ्याटु नाच देखाउने तयारी गरिएको रुपा गाउँपालिका अध्यक्ष नवराज ओझाले जानकारी दिनुभयो । रुपाकोटमा हमिदले १ घण्टा बिताउनुहुनेछ । 

अन्तिम अपडेट: फागुन ३०, २०८०

तपाईको प्रतिक्रिया