ठाकुरराम क्याम्पसका सहायक क्याम्पस प्रमुखसहित ३ जना पदाधिकारीलाई विद्यार्थीले बैठक कक्षमै थुने

 मंसिर ११, २०७६ बुधबार १६:१७:३१ | उज्यालो सहकर्मी
unn.prixa.net

पर्सा - देशकै पुरानाे ठाकुरराम क्याम्पसमा बुधबार विद्यार्थीहरुले सहायक क्याम्पस प्रमुखसहित तीन जनालाई बैठक कक्षमा थुनेका छन् ।

क्याम्पसमा अवैधानिक प्रक्रियाबाट कर्मचारी तथा आंशिक प्राध्यापक भर्ना गरेको विरोधमा अनेरास्ववियूले सहायक क्याम्पस प्रमुख प्रमोद गुप्ता, रोशन लामिछाने र प्रशासन प्रमुख राजकुमार श्रीवास्तवलाई बैठक कक्षमा थुनेका हुन् ।

शिक्षाको मन्दिरमा गुणस्तरीय जनशक्ति नियुक्त गर्नुपर्नेमा आफ्नो नातेदारका लागि भर्ना खुला गरेर आफ्नालाई प्राथमिकता दिएको र  मागभन्दा पनी बढी कर्मचारी नियुक्त गरेको भन्दै विद्यार्थीहरुले विरोध गर्दै आएका छन् ।

क्याम्पसमा समाजशास्त्र संकायमा शिक्षकहरु हुँदाहुँदै पनि आफन्तलाई जागिर खुवाउनका लागि क्याम्पसले मनपरि ढंगबाट भर्ना खोलेर नियुक्त गरेको विद्यार्थीहरुको आरोप छ । क्याम्पसले अनियमित तरिकाले जनशक्ति भर्ना गरेको भन्दै क्याम्पस प्रमुखसहित प्रशासन शाखाहरूमा विद्यार्थी संगठनहरुले तालाबन्दी गरेको भए पनि प्रक्रिया नै पूरा नगरी क्याम्पस प्रशासनका केही व्यक्तिले आफ्ना नातेदार र निकटका व्यक्तिलाई नियुक्ति गरेको विद्यार्थीहरुले बताएका छन् ।

शिक्षा जस्तो संवेदनशील क्षेत्रमा समेत नातावाद र कृपावाद गर्नु जायज नभएको भन्दै शिक्षासँग खेलबाड गर्ने कर्मचारी र प्रशासनलाई कुनै हालतमा आफ्नो मनोमानी गर्न नदिने अनेरास्ववियूका नेता सन्दीपविक्रम साहले बताउनुभयो । गलत ढंगबाट भएको सम्पूर्ण नियुक्ति खारेज नभएसम्म आन्दोलन जारी रहने उहाँको भनाइ छ  ।

आफ्नो व्यक्तिगत स्वार्थका लागि  क्याम्पसलाई बन्धक बनाएर आफ्ना निकटका व्यक्तिहरुलाई भर्ना गर्ने अखडा बनाएको भन्दै आंशिक प्राध्यापक संघ र विभागीय शिक्षकहरुलेले पनि विरोध जनाएका छन ।  व्यापक विरोधका बाबजुद पनि क्याम्पस प्रशासनले जबरजस्ती ढंगबाट जनशक्ति भर्ना गरेको उनीहरुको दाबी छ ।

अनेरास्ववियूसँगै राजपा निकटको राष्ट्रिय विद्यार्थी संघ र समाजवादी पार्टी निकटको समाजवादी विद्यार्थी युनियनले पनि क्याम्पसमा तालाबन्दी गरेर सहायक क्याम्पस प्रमुख हित तीन जनालाई बैठक कक्षमा थुनेका हुन् ।

आन्दोलनरत विद्यार्थीहरुले क्याम्पस परिसरमा क्याम्पस प्रमुख डाक्टर प्रमोद कुश्वाहाको पुत्ला पनि जलाएका थिए । विद्यार्थीहरुले जलाएको पुत्ला खोस्ने क्रममा प्रहरी र विद्यार्थीहरुबीच केहीबेर तनाव भएको थियो । जलाएको पुत्ला खोसाखोस गर्ने क्रममा केही विद्यार्थीहरुलाई आगोले पोलेर घाइते भएका छन् । राष्ट्रिय विद्यार्थी संघका अध्यक्ष मधुसुदन चौसियाका अनुसार सागीर अली, शशी सर्राफ,सुमित चौरसिया,आर्यन नीतिश पटेल सामान्य घाइते भएका छन । विद्यार्थीहरुले भने प्रहरीले लाठीचार्ज गरेको आरोप लगाएका छन् । घटनास्थलमा रहेका वडा प्रहरी कार्यालय वीर्ताका प्रहरी निरीक्षक निर्मल पनेरुले भने विद्यार्थीहरुमाथि कुनै किसिमको बल प्रयोग नगरिएको बताउनुभयो ।

निमित्त क्याम्पस प्रमुख प्रमोद गुप्ताले भने कर्मचारी तथा आंशिक प्राध्यापकहरुको भर्ना विद्यार्थीहरुको चासोभित्र नपर्ने बताउनुभयो । विद्यार्थीहरुले भने क्याम्पसका सबै शाखामा तालाबन्दी गरेका छन् ।

कुनै पनि शाखा खुला नभए पनि शिक्षक तथा कर्मचारीहरुको नियुक्ति प्रक्रिया पूरा भएकोमा प्राध्यापक तथा विद्यार्थीहरुसमेत आश्चर्यमा परेका छन । प्राध्यापक तथा कर्मचारीहरुको फाइल सबै तलाबन्दीका कारण भित्र छ । तर अन्तर्वार्ता भयो, नाम निस्क्यो, नाम निस्केको सूचनामा न चलानी छ न त दर्ता नम्बर नै । यसले पनि क्याम्पसका पदाधिकारीहरुकाे नियमतमा प्रश्न उठाइएकाे विद्यार्थीकाे भनाइ छ ।

अन्तिम अपडेट: बैशाख ५, २०८१

तपाईको प्रतिक्रिया