चौमासिकको वैदेशिक व्यापार : आयात घटेको घट्यै, निर्यात बढेको बढ्यै

 मंसिर १३, २०७६ शुक्रबार १५:४४:० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ - चालु आर्थिक वर्षको पहिलो चौमासिक (साउन–कात्तिक) अवधिमा नेपालले निर्यात व्यापार वृद्धि गरेको छ ।

गएको वर्षको यही अवधिको तुलनामा यो वर्ष २३.९० प्रतिशतले निर्यात वृद्धि भएको छ । यो आर्थिक वर्षको पहिलो चार महिनामा ३६ अर्ब २७ करोड ९० लाख रुपैयाँ बराबरको सामान निर्यात भएको छ । गएको वर्ष यही अवधिमा २९ अर्ब २८ करोड १७ लाख रुपैयाँ बराबरको सामान निर्यात भएको थियो ।

यस्तै यो आर्थिक वर्षको पहिलो चौमासिकमा आयातमा पनि उल्लेख्य रुपमा कमी आएको भन्सार विभागले जारी गरेको तथ्यांकमा उल्लेख छ । निर्यातमा वृद्धि र आयातमा कमी आएसँगै वैदेशिक व्यापार घाटामा सुधार हुन थालेको तथ्यांकले देखाएको छ ।

चालु आर्थिक वर्षको पहिलो चार महिनामा ४ खर्ब ५० अर्ब २९ करोड रुपैयाँ बराबरको विभिन्न सामान आयात भएको छ । गएको वर्ष यही अवधिमा ४ खर्ब ८३ अर्ब ७५ करोड रुपैयाँ बराबरको सामान आयात भएको थियो ।

गएको आर्थिक वर्षको तुलनामा यस वर्ष ६.९२ प्रतिशतले आयात घटेको विभागको तथ्यांकमा उल्लेख छ ।

आयात घटेर निर्यात बढेसँगै वैदेशिक व्यापार सुधारको बाटोमा रहेको देखिएको छ । नेपालले यस आर्थिक वर्षको पहिलो चार महिनामा ४ खर्ब ५० अर्ब २९ करोड रुपैयाँ बराबरको सामान आयात गर्दा ३६ अर्ब २७ करोड ९० लाख रुपैयाँ बराबरको सामान निर्यात गरेको छ ।

यस आर्थिक वर्षको पहिलो चार महिनामा नेपालको व्यापार घाटा ४ खर्ब १४ अर्ब रहेको छ ।यो आर्थिक वर्षको पहिलो चौमासिकमा नेपालले भारतबाट सबैभन्दा धेरै २ खर्ब ७२ अर्ब ५७ करोड रुपैयाँ बराबरको सामान आयात गरेको छ । त्यस्तै यो अवधिमा नेपालले २४ अर्ब २६ करोड रुपैयाँ बराबरको सामान भारततर्फ निर्यात गरेको छ । यो आर्थिक वर्षको पहिलो चौमासिकमा भारतसँग २ खर्ब ४८ अर्ब ३० करोड व्यापार घाटा रहेको छ ।

त्यस्तै यो आर्थिक वर्षको पहिलो चौमासिकमा चीनबाट ८० अर्ब १८ करोड ५८ लाख रुपैयाँ बराबरको सामान आयात गरेको छ । पहिलो चौमासिकमा नेपालले जम्मा ७१ करोड रुपैयाँ बराबरको सामान चीनतर्फ निर्यात गरेको छ । पहिलो चौमासिकमा चीनसँग नेपालको व्यापार घाटा ७९ अर्ब ४७ करोड ५१ लाख रुपैयाँ रहेको छ ।

समग्रमा आयात घट्दै गए पनि विलासिताका सामानको आयातमा भने कमी आएको छैन ।

 

अन्तिम अपडेट: चैत ११, २०८०

तपाईको प्रतिक्रिया