केही कुरामा पेलेरै भए पनि निजगढ विमानस्थल बनाउनुपर्छ, काम सुरु गरियोस् : विज्ञ

 मंसिर २२, २०७६ आइतबार ५:५९:२७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - निजगढ अन्तर्राष्ट्रिय विमानस्थल आयोजना रुखको विषयलाई लिएर फेरि भूमरीमा परेको छ । रुख काटेर र चराचुरुङ्गीको बास मासेर विमानस्थल बनाउन नहुने भन्दै दायर भएको रिटमा सर्वोच्चले प्रारम्भिक सुनुवाइ गर्दै तत्काललाई काम अघि नबढाउन आदेश दिएको छ ।

तर यो विमानस्थल देशकै विकासको मेरुदण्ड भएकाले कुनै पनि हालतमा रोकिन नहुने विज्ञहरुको भनाई छ । जसरी रुख काट्दा जंगल विनाश भएको छ भनेर बहस भैरहेको छ त्यसैगरी निजगढमा विमानस्थल बन्दा त्यसले देशको मुहार फेर्छ भनेर बहस चर्काउनुपर्ने उनीहरुको भनाई छ । 

अन्तर्राष्ट्रिय नागरिक उडड्यन संगठनको ७५ औं स्थापना दिवसको अवसरमा नेपालको हवाइ नीतिबारे भएको छलफलमा धेरैजसोले निजगढमा केही रुख काटिने बहानामा विमानस्थल बनाउने काम नरोक्न सुझाव दिएका छन् । 

तत्कालिन हवाइ विभागका पूर्व महानिर्देशक हरिभक्त श्रेष्ठले भन्नुभयो, ‘निजगढ विमानस्थलको लागि अहिलेका महानिर्देशक रिटायर्ड हुने बेलासम्म पनि रुख काटिन्छ कि काटिन्न भन्ने अन्योल भएको छ, मलाई कुनै कुनै चिज के लाग्छ भने देशको हितमा कुनै कुरा छ भने हामीले पेलेरै भएपनि निर्णय गर्नुपर्छ, चाहे भ्याकेटमा जानुस या अरु गर्नुहोस, अलमलमा बस्नुहुँदैन, रुख काट्न सुरु गर्नुहोस, काम सुरु गर्नुहोस ।’

निजगढ विमानस्थल राष्ट्रको गौरव भएको र हवाइ पूर्वाधारमार्फत देश सम्बृद्ध बनाउने आधार भएकाले यसलाई सरकारले अघि बढाउनैपर्ने उहाँको भनाई  छ ।

यस्तै कार्यक्रममा नेपाल नागरिक उडड्यन प्राधिकरणका उप प्रबन्धक द्धारिका भट्टराईले पनि सरकारले राष्ट्रिय आवश्यकताका आयोजनाको लागि दृढ अडान लिनुपर्ने बताउनुभयो । 

‘सर्वोच्चले काम अघि नबढाउनु भनेपछि केही मान्छेहरु अब त काम अघि बढ्दैन भनेर मख्ख परेको देखिएको छ तर हामीले निजगढको बारेमा धेरैलाई बुझाउन नसकेर यो समस्या आएको हो’ भट्टराईले भन्नुभयो, ‘जसरी निजगढमा रुख काट्दा श्वास फेर्नै सकिन्न भनेर एकथरीले हल्ला गरिरहेका छन्, हामीले पनि निजगढमा विमानस्थल बनाएमा यसले देशको मुहार फेर्छ भनेर प्रचार गर्नुपर्छ, यहाँ बोल्नेको पिठो विक्ने त हो ।’

उहाँले अन्तर्राष्ट्रिय विमानस्थल दूर दराजमा बन्न सक्दैन भन्ने सन्देश फैलाउन पनि जरुरी रहेको बताउनुभयो । 

‘खाली जग्गा छ भन्दैमा दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल हुम्ला जुम्लामा बन्न सक्दैन, यसको लागि पनि मापदण्ड छन् भनेर हाम्रा विज्ञहरुले बोल्दिनुपर्‍यो, अदालतका न्यायाधीसलाई यो विमानस्थलको ब्यापक फाइदाबारे जानकारी नै छैन होला, तर हामीले यसलाई बुझाउनुपर्छ ।’ उपप्रबन्धक द्धारिका कोइरालाले भन्नुभयो । 

अन्तिम अपडेट: चैत १२, २०८०

तपाईको प्रतिक्रिया