भ्रष्टाचारमा संलग्न ठूला माछा, साना माछा कसैले पनि छुट पाउँदैन : उपप्रधानमन्त्री पाेखरेल

 मंसिर २३, २०७६ सोमबार १४:७:४५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलले भ्रष्टाचार गर्ने जुनसुकै ओहोदाको व्यक्ति भए पनि छुट नदिने प्रतिबद्धता जनाउनु भएको छ । 

भ्रष्टाचारविरुद्धको अन्तर्राष्ट्रिय दिवसका अवसरमा आयोजित कार्यक्रममा बोल्दै मन्त्री पोखरलेले ठूला माछा र साना माछाको प्रसङ्ग चल्ने गरेको बताउँदै भ्रष्टाचारमा संलग्न कसैले पनि छुट नपाउने प्रतिबद्धता जनाउनु भएको हो । ‘भ्रष्टाचारका सवालमा ठूला माछा र साना माछाको प्रसङ्ग चल्छ । जुनसुकै पद र ओहोदामा बसेको व्यक्ति भए पनि भ्रष्टाचारमा संलग्न भए कोही पात्रले पनि छुट पाउने छैन, छुट दिइने छैन् । यो प्रतिबद्धता हो’, उहाँले भन्नुभयो ।

उहाँले राजनीतिको संरक्षणमा त्यस्ता कर्महरु हुन्छन् भने तिनीहरुले छुट नपाउने कुरामा विश्वस्त हुन आग्रह समेत गर्नुभयाे । भ्रष्टाचारीलाई राजनीतिको संरक्षण हुने भनिएका कुनै पनि भ्रष्टाचारजन्य कामहरुले छुट नपाउने उहाँले बताउनुभयो ।

जुनसुकै तहमा रहेको राजनीतिक नेतृत्वबाट भ्रष्टाचार जस्तो दुष्कर्म भएको भेटिए दण्डनीय हुने पोखरेलले बताउनु भयो । भ्रष्टाचारले नियमित, आकस्मिक र सामाजिक जीवनलाई तहसनहस गर्ने बताउँदै उहाँले त्यस्ता कार्यमा संलग्न व्यक्तिले कुनै न कुनै रुपले दुष्परिणाम भोग्ने कुरा सत्य भएको बताउनुभयो ।

भ्रष्टाचार नियन्त्रणका लागि सार्वजनिक पदमा रहेका व्यक्तिहरुले आफू पनि भ्रष्टाचार नगर्ने र अरुलाई पनि गर्न नदिने संकल्पलाई व्यवहारमा रुपान्तरण गरे मात्रै दिवस मनाउनुले सार्थकता पाउने पोखरेलले बताउनुभयो ।

उपप्रधानमन्त्री पोखरेलले सरकारी, गैर सरकारी, निजी क्षेत्रहरुले सचेतना अपनाएर भ्रष्टाचारीलाई निरुत्साहन र सदाचारीलाई प्रोत्साहन गर्न सकेमा सुखी र समृद्ध भविष्यको आधारशीला निर्माण हुने बताउनु भयो ।

अन्तिम अपडेट: बैशाख ३, २०८१

तपाईको प्रतिक्रिया