विश्वविख्यात फोर्ब्स पत्रिका लेख्छ : घुमन्तेहरुका लागि नेपाल उत्कृष्ट गन्तव्य

 मंसिर ३०, २०७६ सोमबार १५:४४:० | एजेन्सी
unn.prixa.net

विश्वविख्यात फोर्ब्स पत्रिकाले सन् २०२० मा घुम्नको लागि नेपाल उत्कृष्ट गन्तव्य बन्न सक्ने उल्लेख गरेको छ ।

फोर्ब्स पत्रिकाकी ट्राभल ब्लगर क्याटरिन पार्कर म्यागरले सन् २०२० मा  विश्वभरमा घुम्न लायक १० ठाउँमध्ये नेपाललाई पहिलो नम्बरमा राख्दै यहाँको बारेमा चर्चा गर्नुभएको छ । उहाँले नेपाललाई धर्तीकै उत्कृष्ट साहसिक गन्तव्य भएको उल्लेख गर्नुभएको छ । 

नेपाल साहसिक यात्रा रुचाउनेहरुका लागि र शान्त ठाउँमा डुल्न चाहने दुवैका लागि विश्वकै उत्कृष्ट गन्तव्य भएको फोर्ब्समा उल्लेख छ । नेपालका होटल तथा रिसोर्टमा पाइने न्यानो आतिथ्य र खानाका परिकारले पनि यात्रा झनै रोमाञ्चक हुने पनि लेखमा उल्लेख छ । फाप्लुको ह्याप्पी हाउस र बर्दिया निकुञ्जको कर्णाली लज जानैपर्ने होटल रहेको पनि फोर्ब्समा लेखिएको छ । 

नेपालको यात्रा दक्षिणतर्फबाट सुरु गर्नुपर्ने र चितवन, बर्दिया लगायतका राष्ट्रिय  निकुञ्जमा गैँडा, हात्ती, बाघ लगायतका वन्यजन्तुको अवलोकनले यात्रा रोमाञ्चक हुने पनि दावी गरिएको छ । २-४ दिन बसेमा यी ठाउँले छाड्नै मन नलाग्ने बनाउने पनि लेखमा उल्लेख छ । 

तराइकोे यात्रापछि पहाड र हिमालतिर लाग्दा यात्रामा स्वर्गीय आनन्द आउने पनि लेखमा छ । पहाडी र हिमाली क्षेत्रमा हुने ट्रेकिङ, टेन्टकाे बसाइ, आत्मीय गाइड लगायतले नेपालको यात्रा सधैं सम्झनलायक बनाउने पनि फोर्ब्सको लेखमा उल्लेख छ । 

फोर्ब्समा उल्लेख भएका बाँकी ९ वटा गन्तव्यमा इक्वेडर, न्युजिल्याण्ड, पेरु, अलास्का, ब्राजिल, मोरक्को, चीन, फिनल्याण्ड र केन्या रहेका छन् । 

अन्तिम अपडेट: चैत ३०, २०८०

तपाईको प्रतिक्रिया