चिनियाँ नागरिक पक्राउ प्रकरण : तीन महिनाको अथक प्रयास

 पुस ८, २०७६ मंगलबार २०:४४:१९ | रासस
unn.prixa.net

काठमाण्डाै - प्रहरीले काठमाण्डौका विभिन्न क्षेत्रबाट सोमबार १२२ जना चिनियाँ नागरिक पक्राउ गर्‍यो ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो, महानगरीय अपराध नियन्त्रण महाशाखा र महानगरीय प्रहरी परिसरको संयुक्त टोलीले उनीहरुलाई कोठमाण्डौका विभिन्न क्षेत्रबाट पक्राउ गरेको हो । उनीहरु संस्थागत रुपमा घर भाडामा लिएर गैरकानूनी कार्य गरेको आरोपमा पक्राउ परेका हुन् । प्रहरीले उनीहरुलाई पक्राउ गर्न झण्डै तीन महिनाको समय लगाएको छ । 

यो तत्कालको घटना होइन, प्रहरीले तीन महिनादेखि नै अनुसन्धान थालेको थियो, तथ्य सङ्कलन गरिसकेपछि मात्रै उनीहरुलाई सोमबार पक्राउ गरिएको हो, परिसरका प्रहरी नायब उपरीक्षक होविन्द्र बोगटीले भन्नुभयो ।

एकै दिनमा यति धेरै सङ्ख्यामा विदेशी नागरिक पक्राउ गरेको यो पहिलो हो । यसअघि बैंकको एटिएम ह्याक गरेको आरोपमा सातजना चिनियाँ पक्राउ परेका थिए भने अन्य विभिन्न घटनामा केही चिनियाँ नागरिक पक्राउ परेका छन् । 

यसपटक उनीहरुलाई बूढानीलकण्ठ, बाँसबारी र मनमैजुबाट नियन्त्रणमा लिइएको हो । विदेशीले पर्यटक भिसामा नेपाल आएर कुनै घर भाडामा लिएर संस्थागत काम गर्न पाउँदैनन् । चिनियाँ नागरिकहरुले यस्तो गतिविधि गरेको निक्कै समय भएको थियो । 

उनीहरुको गतिविधि शंकास्पद देखिएकाले स्थानीयले नै प्रहरीलाई सूचना दिएका थिए ।त्यसैका आधारमा ब्यूरोको नेतृत्वमा प्रहरी टोली सूचना संकलनमा खटिएको थियो । प्रहरीले आवश्यक प्रमाण सङ्कलनका क्रममा उनीहरुले कैफियत पत्ता लगाएपछि नेपालमा रहेकाे चिनियाँ दूतावाससँगको समन्वयमा उनीहरुलाई पक्राउ गरेको बोगटीले बताउनुभयो ।

उनीहरुले केही न केही गलत क्रियाकलाप गरिरहेको निष्कर्षका साथ पक्राउ गरिएको छ, वास्तविकता के छ भन्ने कुरा अनुसन्धानपछि मात्रै खुल्छ, बोगटीले भन्नुभयो ।

प्रहरी स्रोतका अनुसार उनीहरुले नेपाल बसेर नेपालमै हानी गरेको तथ्य अहिलेसम्म फेला पारिएको छैन ।

चिनियाँ अर्थतन्त्रलाई असर पार्ने गतिविधि गरेको खुल्न नआएको प्रहरीले जनाएको छ । “उनीहरुले जे गरिरहेका छन्, सबै अनलाइनबाटै गरिरहेका देखियो, अनुसन्धानपछि मात्रै खास कुरा पत्ता लाग्ला”, महानगरीय अपराध नियन्त्रण महाशाखाका प्रहरी वरिष्ठ उपरीक्षक सहकुलबहादुर थापाले भन्नुभयो । उहाँले विगतमा भएको बैंकको एटीएम ह्याकिङ्सँग उनीहरुको सम्बन्ध छ कि छैन भन्नेतर्फसमेत अनुसन्धान भइरहेको बताउनुभयाे ।  

प्रहरी स्रोतका अनुसार पक्राउ परेकाहरुमा नेपाल बसेर अनलाइनमार्फत अश्लील हर्कत गर्ने, अनलाइन जुवा खेलाउनेदेखि बैंक ह्याकिङमा संलग्न भएकासमेत परेको जनाइएको छ ।

अन्तिम अपडेट: बैशाख १९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया