व्यापार घाटामा सुधार : निर्यात २७ प्रतिशतले बढ्यो, आयात साढे ४ प्रतिशतले घट्याे

 पुस १६, २०७६ बुधबार १२:५०:४८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – आर्थिक वर्ष २०७६/७७ को पहिलो पाँच महिनामा नेपालको वैदेशिक व्यापारमा सुधार आएको छ ।

साउनदेखि मङ्सिरसम्मको निर्यात बढ्दै जाँदा आयातमा पनि केहीले कमी आएकाे छ । पाँच महिनामा नेपालको कुल वस्तु निर्यात २६ दशमलव ९७ प्रतिशतले बढेको छ भने आयातमा ४ दशलमव २४ प्रतिशतले कमी आएको छ । 

भन्सार विभागको तथ्याङ्कअनुसार पाँच महिनामा ५ खर्ब ८१ अर्ब २५ करोड रुपैयाँको सामान आयात भएको छ । यो गएको वर्षको पाँच महिनाको तुलनामा ४ दशमलव २४ प्रतिशतले कमी हो । गएको आर्थिक वर्षको सुरुको पाँच महिनामा ६ खर्ब ६ अर्ब रुपैयाँको सामान आयात भएको थियो । 

यस्तै पाँच महिनामा निर्यात २६ दशलमव ९७  प्रतिशतले बढेको छ । चार महिनामा ४७ अर्ब ६१ करोड रुपैयाँको सामान निर्यात भएको छ । अघिल्लाे आर्थिक वर्षको पहिलो पाँच महिनामा नेपालले जम्मा ३७ अर्ब रुपैयाँ बराबरको सामान मात्रै निर्यात गरेको थियो । 

पाँच महिनामा नेपालको व्यापार घाटा अघिल्लाे वर्षकाे पाँच महिनाको तुलनामा ६ दशमलव ३० प्रतिशतले घटेको छ । नेपालको व्यापार घाटा ५ खर्ब ३३ अर्ब ६४ करोड रुपैयाँ रहेको छ । आयात निर्यातको अनुपात २४ दशलमव ५८ प्रतिशत रहेको छ । 

नेपालको सबैभन्दा धेरै व्यापार घाटा भारतसँग रहेको छ । भारतबाट ३ खर्ब ४९ अर्ब  ६३ करोड रुपैयाँको सामान आयात भएकोमा जम्मा ३२ अर्ब ५६ करोड रुपैयाँको सामान निर्यात भएको छ । भारतसँगको व्यापार घाटा ३ खर्ब १७ अर्ब रुपैयाँ रहेको छ ।

यस्तै पाँच महिनामा चीनबाट १ खर्ब २ अर्ब रुपैयाँको सामान आएकोमा जम्मा ८६ करोड ३२ लाख रुपैयाँको मात्रै निर्यात भएको छ । चीनसँगको व्यापार घाटा १ खर्ब १ अर्ब रुपैयाँ रहेको छ ।  

अन्तिम अपडेट: बैशाख ५, २०८१

तपाईको प्रतिक्रिया