हेल्मेटको सही छनोट : सुरक्षित यात्राको आधार

 पुस १६, २०७६ बुधबार १३:४२:२४ | उज्यालो सहकर्मी
unn.prixa.net

मोटरसाइकल चालकले सुरक्षित रुपमा मोटरसाइकल चलाउनको लागि सबैभन्दा आवश्यक कुरा हो, हेल्मेट । यसले सम्भावित दुर्घटनाको जोखिमका साथै धुवाँधुलो, हावापानी लगायत धेरै कुराबाट चालकको टाउको, आँखा र अनुहारलाई बचाउने काम गर्छ । त्यसैले चालकले मोटरसाइकल चलाउँदा गुणस्तरीय, दुर्घटनाको जोखिमबाट बचाउने किसिमको हेल्मेटको प्रयोग गर्नुपर्छ ।

हेल्मेट छान्दा विशेष केही कुरामा ध्यान दिँदा मोटरसाइकल चलाउँदा सुरक्षित हुन सकिन्छ ।

अहिले बजारमा विभिन्न ब्राण्डका मोटरसाइकलहरु उपलब्ध छन् । चालकले पनि आफ्नो छनोटमा महङगा, स्टाइलिस मोटरसाइकल देखि आफ्नो आवश्यकता र क्षमताअनुसारका मोटरसाइकलहरु चलाइरहेका छन् । गएको नाडा शाेमा पनि ३ लाखदेखि ७३ लाखसम्मको मोटरसाइकल पनि सार्वजनिक गरिएको थियो ।

चालकहरु महँगा र स्टाइलिश मोटरसाइकलका साथै स्टाइलिश हेल्मेटको खरिद गर्नुहुन्छ तर यसले उहाँलाई कतिको सुरक्षित बनाइराखेको छ भनेर ख्याल गर्नुहुन्न । 

मोटरसाइकलसँगै चालकले हेल्मेटको खरिदमा पनि ध्यान पुर्‍याउनुपर्छ । सुुरक्षाको हिसाबले हेल्मेट महँगो परे पनि आफ्नो ज्यानको तुलनामा सस्तो पर्ने हुनाले गुणस्तरीय हेल्मेटको किन्नुपर्छ ।

कुनै विशेष मार्क अंकित हेल्मेट छान्ने

हेल्मेटको खरिद गर्दा सर्वप्रथम यसले कुन संस्थाले यसलाई मान्यता दिएको छ भनेर  हेल्मेटको पछाडि अंकित लोगो हेर्नुपर्ने हुन्छ । हेल्मेटको विशेष गरी हेल्मेटको गुणस्तरको जाँचपछि यो लोगो वा प्रमाणिकरण गरिएको हुन्छ । कुनै हेल्मेटको पछाडि इसीइ( इकोनोमिक कमिसन फर युरोप) छ भने यो युरोपियन मापदण्डबाट प्रमाणित भएको हेल्मेट हो । 

यसैगरी हेल्मेटको पछाडि आइ एस आइ मार्क छ भने त्यो भारतीय मापदण्ड प्रमाणित भएको र डीओटी (डिर्पाटमेन्ट अफ ट्रान्सर्पोटेसन) अङिकत हेल्मेट अमेरिकन मापदण्डबाट प्रमाणित भएको हुन्छ । यस्तो मार्क वा चिन्ह विभिन्न  प्रयोगपछि दिइने हुनाले यी र यस्ता विभिन्न अन्तराष्ट्रिय मान्यताबाट प्रमाणित हेल्मेट खरिद गर्नु पर्दछ । 

यी यस्ता मान्यताहरु र प्रमाणीकरणहरु आफ्नो देशको सडक, चालकको चलाइ, गति सीमा, ट्राफिक नियम र अन्य कुराहरुका कारणले निर्धारण गरिएको हुन्छ । त्यसैले आफ्नो चलाई, सडक अवस्था, मोटरसाइकलको मोडलको आधारमा हेल्मेट छान्नुपर्ने हुन्छ ।

टाउकोमा राम्रोसँग ठिक्क हुने 

चालकले हेल्मेट किन्दा आफ्नो टाउकोको आकारअनुसार ठिक्क हुने खाल र मोटरसाइकल हाँक्दा चालकको टाउको चलाइ र गतिविधिलाई सहज हुन खालको छान्नुपर्छ । हेल्मेट चालकको टाउको भन्दा ठूलो भयो मोटरसाइकल चलाउदाँ चालकको आँखा छेक्न सक्दछ । त्यस्तै हेल्मेट सानो हुदाँ चालकलाई आरामदायी नहुन सक्छ । 

भाइजर भएको हेल्मेट किन्ने

चालकले सकेसम्म भाइजर भएको हेल्मेट किन्नुपर्छ । भाइजर भनेको हेल्मेटको अगाडि चालकको आँखा र मुख डाक्नको लागि प्रयोग हुने पारदर्शी वस्तु हो । भाइजरले चालकको अनुहारलाई धुवाँधुलो तथा पानीबाट बचाउँछ । त्यसैले चालकले हेल्मेट किन्दा भाइजरबाट प्रष्टसँग अगाडि देखिने, सफा र बलियो खालको किन्नुपर्छ । यदि पुरानो हेल्मेट छ, त्यसको भाइजर कोरिएको वा फोहर छ भने त्यसलाई फेर्नुपर्दछ । 

हेल्मेटभित्र सुरक्षित फर्मको प्रयोग भए नभएको बुझ्ने

हेल्मेटको मुख्य काम भनेको दुर्घटना हुँदा चालकको टाउकोमा ठूलो र घातक चोट लाग्नु नदिनु हो । त्यसैले चालकले हेल्मेट किन्दा हेल्मेटभित्र टाउको बचाउनका लागि प्रयोग गरिएको फाेम वा कुनै नरम गद्दाको गुणस्तरका बारेमा बुझ्नुपर्छ । 

चम्किने रंगका हेल्मेट छान्ने

मोटरसाइकल चलाउने चालकले आफ्नो हेल्मेट अलिक भिन्न रंगको र नजिक तथा टाढाबाट ठ्याक्कै चिनिने रङगको लगाउनु पर्छ । विशेषतः पहेलो र चम्किने किसिमका रङ भएको हेल्मेटको प्रयोग गर्नुपर्छ । यदि राजमार्गमा मोटरसाइकल लड्यो भने बस, ट्रक वा अरु गाडीका चालकले सजिलै चालको टाउको चिन्न सक्छन् । 

हेल्मेटको प्रयोग गर्दा विशेषतः सुरक्षाको दृष्टिकोटबाट आफूले चलाउने मोटरसाइकलको गति, सडककाे अवस्था आदिलाई विशेष ध्यानमा राख्नुपर्छ । यदि सडकमा लडेको खण्डमा हेल्मेटले टाउको राम्रोसँग बचाउने, घिस्रिँदा हेल्मेट नफुट्ने किसिमको हुनुपर्छ । यसको विभिन्न जाँच पूरा गरेर कुनै मान्यता पाएको र त्यस मान्यता अनुसारको हेल्मेट बिक्री गर्ने आधिकारिक पसलबाट किन्नुपर्छ । 

बजारमा विभिन्न हाफ, फुल, डर्ट आदिजस्ता विभिन्न प्रकारका हेल्मेटहरु निस्किएका छन् । यी सबै हेल्मेटका प्रकार भनेको चालकको चलाइका आधारमा बनाइएको हुन्छ ।

अरु हेल्मेटको तुलनामा फुल हेल्मेटले चालक लड्दा चालकको चिउँडाे र अनुहार राम्रोसँग छोपेको हुन्छ र चालक लड्दा अनुहारका भागहरुलाई सुरक्षित बनाउन सक्छ । त्यसैले फुल हेल्मेटको प्रयोग गर्दा चालक बढि सुरक्षित बन्न सक्छ । तर यसको मतलब हाफ हेल्मेटको प्रयोग नगर्ने भन्ने होइन ।

चालकको चलाइ, सडकको अवस्था, मोटरसाइकलको क्षमता, मौसमको आधारमा हाफ हेल्मेटको पनि प्रयोग गर्न सकिन्छ । हेल्मेटको गुणस्तर भनेको यसको प्रमाणिकरणमै नीहित हुने हुदाँ आधिकारिक पसलबाट किन्दा हाफ हेल्मेट पनि सुरक्षित हुन्छ । 

त्यस्तै कुनै कच्ची सडक र रोमाञ्चक यात्राको लागि अघि बढ्दै हुनुहुन्छ भने तपाईँको लागि डर्ट हेल्मेट सुरक्षित हुन्छ । 
मुख्य कुरा दुर्घटनालाई टार्न सकिन्न तर दुर्घटनाबाट हुने घाउ, चोटपटकबाट सुरक्षित बन्न सकिन्छ । जसको लागि बलियो र गुणस्तरीय हेल्मेट छान्नुपर्छ ।

हेल्मेट किन्दा वा लगाउँदा ध्यान दिनुपर्ने कुराहरु 

१) गुणस्तर र मापदण्ड प्रमाणित हेल्मेटको खरिद गर्ने
२) आफ्नो मोटरसाइकलको क्षमता (सीसी) लाई आधार मान्ने
३) आफूले प्रयोग गर्ने सडक र आफूले मोटरसाइकल हाक्ने गतिलाई ध्यानमा राख्ने
४) चालककोे टाउको र अनुहारलाई राम्रोसँग बचाउने
५) चम्किने र चिनिने किसिमको रङग भएको 
६) टाउकोमा राम्रोसँग ठिक्क हुने 
७) भाइजर भएकोे
८) हेल्मेटभित्र सुरक्षित फोमको प्रयोग भए नभएको बुझ्ने

अन्तिम अपडेट: बैशाख ७, २०८१

तपाईको प्रतिक्रिया