अब घरमै बसेर विभागको वेबसाइटमार्फत विदेशको कामका लागि आवेदन दिन सकिने

 पुस १६, २०७६ बुधबार १६:४६:४४ | उज्यालो सहकर्मी

काठमाण्डौ – वैदेशिक रोजगारीमा जान चाहनेले अब आफ्नो रोजाईको काममा आफैंले अनलाइनमार्फत आवेदन दिन सक्ने भएका छन् ।

वैदेशिक रोजगार विभागले ‘एटेस्टेसन मोडूल’, र ‘कामदार छनोट मोडूल’को विकास गर्दै अनलाइनबाटै विदेशमा पाइने काम थाहा पाउन र आफूलाई इच्छा लागेको काममा आवेदन दिन मिल्ने बनाएको हो । 

बुधबारदेखि लागू भएको यो व्यवस्थाले विदेशको कामबारे बुझ्न म्यानपावर र एजेण्ट खोज्दै हिँड्नुपर्ने अवस्थाको अन्त्य गरेको छ । कुन म्यानपावरले कुन देशबाट के कामको माग ल्याएको छ र सेवा, सुविधा कस्तो छ भन्नेदेखि लाग्ने लागतसम्मको जानकारी पनि अनलाइनबाट सजिलै पाउन सकिन्छ । 

वैदेशिक रोजगारीको प्रक्रिया सहजीकरणका लागि विभागले विभिन्न प्रविधिको विकास गरेको छ । एकीकृत वैदेशिक रोजगार सूचना व्यवस्थापन प्रणाली लागू गर्दै विभागले वैदेशिक रोजगार प्रक्रिया सहज बनाइरहेको छ । 

छनोट हुनुअघि नै श्रमिक ठगीने क्रम रोकिने विश्वास

यस प्रविधिले श्रमिक भर्ना प्रक्रिया स्वच्छ हुने र बिचौलियाले ठगी गर्न नसक्ने विभागले जनाएको छ ।

‘यो मोडूल एटेस्टेसन मोडूलसँग जोडिएको छ, हामीले पूर्व स्वीकृति दिँदादेखि नै कहिले अन्तर्वार्ता हुन्छ भन्ने जानकारी विभागसँग हुन्छ,’ वैदेशिक रोजगार विभागका महानिर्देशक डा. भीष्मकुमार भूसाल भन्नुहुुन्छ, ‘यस मोडूलले एउटाले माग ल्याउने, श्रमिक अरुले छनोट गर्ने भन्ने हुँदैन र श्रमिकले अनलाइनमार्फत आवेदन दिँदा बिचौलियाको कुराको भर पर्नु पनि पर्दैन ।’

यसअघि श्रमिक छनोट गर्दा कतिपय म्यानपावरले विज्ञापन र सूचना प्रकाशन औपचारिकताका लागि मात्रै गर्ने गरेको गुनासो थियो । तर अब विभागबाट अनुमति लिएपछि मात्रै विज्ञापन र सूचना प्रकाशित गर्नुपर्छ । विज्ञापन अनुसार म्यानपावरले काम गरे, नगरेको विभागसँग जानकारी हुन्छ । 

एजेण्टमार्फत म्यानपावरसम्म श्रमिक पुग्ने र झुटो कुरा सुनाएर श्रमिकलाई विदेश पठाउने दिनको अन्त्य हुने विभागको विश्वास छ । छनोट हुनुअघि नै श्रमिकको पासपोर्ट लिने, पैसा लिनेजस्ता प्रवृत्तिलाई यो मोडूलले निरुत्साहित गर्नेछ ।

किनभने अब अनलाइनबाट आवेदन दिँदा, पासपोर्ट नम्बर मात्र राखे पुग्छ । अन्तर्वार्तामा छनोट भएपछि मात्र भिसा प्रक्रियाका लागि म्यानपावरलाई पासपोर्ट बुझाउँदा हुने महानिर्देशक भूसालले बताउनुभयो । 

अहिले सरकारले एजेण्ट रहने व्यवस्था खारेज गरिसकेको छ । नयाँ व्यवस्थाअनुसार कामदारको आवेदन प्राप्त भएपछि माग भैआएको कामको प्रकृतिअनुसार निवेदकको योग्यता तथा अनुभव र तोकिएबमोजिमको अरु कुराका आधारमा म्यानपावर कम्पनीले छनोट भएका कामदारको सूची तयार गर्नुपर्छ । कुन कामका लागि कतिजनाले आवेदन दिए भनेर पनि अब विभागले जानकारी राख्नेछ । 

एटेस्टेसन मोडूल 

मागपत्र प्रमाणिकरण र पूर्व स्वीकृतिको प्रक्रियालाई सहज र पारदर्शी बनाउन विभागले एटेस्टेसन मोडूलको विकास गरेको छ । यो मोडूल बुधबारदेखि नै लागू भएको छ । अब व्यक्तिगत र संस्थागत माग यही मोडूलअनुसार नै प्रमाणिकरण र पूर्व स्वीकृतिको काम हुन्छ । 

अब सबै राजदूतावासबाट प्रमाणिकरण गरिएका कागजातहरु वैदेशिक रोजगार सूचना प्रणालीबाट प्राप्त भएको आधारमा म्यानपावर संस्थाका मागपत्रका लागि अनलाइन पूर्व स्वीकृति, विज्ञापन प्रकाशन, अनलाइन आवेदन र अनलाइन श्रम स्वीकृति हुने विभागले जनाएको छ ।

यसअघि दूतावासबाट प्रमाणिकरण भएका मागको आधारमा विभागबाट पूर्व स्वीकृतिका लागि फाइल बोकेर विभागको कार्यालय जानु पर्ने अवस्था थियो ।

‘कतिपयले पूर्व स्वीकृतिका लागि पनि कर्मचारीले पैसा लिए भन्ने जस्ता गुनासा पनि विगतमा सुनिएको थियो,’ महानिर्देशक भूसाल भन्नुहुन्छ, ‘अब पूर्व स्वीकृतिका लागि म्यानपावर र विभागका कर्मचारीको भेट हुने छैन ।’

तर अनलाइनमार्फत अपलोड भएका कागजातमा कुनै प्रक्रियागत समस्या आएमा विभागका कर्मचारीले पूर्व स्वीकृति नपाउनुको कारणसहित पठाउने र त्यसपछि मात्रै थप कागजात मिलाउन म्यानपावरले विभागसम्म जानुपर्ने हुन्छ । 

अहिले मलेसिया, यूएई र कुवेतले यो प्रणाली अनुसार काम थालिसकेका छन् । कतार र ओमानले पनि यही प्रणालीअनुसार सोधीखोजी गरेको र छिट्टै काम हुने महानिर्देशक भूसाल बताउनुहुन्छ ।

मागपत्र प्रमाणिकरण गरेका कति समयपछि दूतावासले सिस्टममा फाइलहरु अपलोड गर्ने र विभागले कति समयभित्र पूर्व स्वीकृति दिइसक्नु पर्ने भनेर समय तोक्ने उहाँ बताउनुहुन्छ । यसका लागि कार्याविधि नै बनाउने र त्यसका लागि कार्यदल पनि बनाएर अध्ययनको काम भइरहेको छ । 

यो व्यवस्था लागू हुनुअघि वैदेशिक रोजगार कार्यालय ताहाचलमा पेश गरिएका पूर्व स्वीकृतिका फाइलहरु पुस २२ गतेभित्र नै टुङ्याउने विभागको तयारी छ । 

श्रम स्वीकृतिका लागि इ – टोकन

श्रम स्वीकृतिका लागि पनि अनलाइनबाटै आवेदन दिएर पालो लिन सकिने व्यवस्था विभागले गरेको छ । अब पहिलेजस्तो श्रम कार्यालयमा गएर फारम भर्ने र लाइन बसेर पालो कुर्न पनि पर्दैन ।

श्रम स्वीकृतिका लागि अनलाइन आवेदन पेश गर्नेबित्तिकै आवेदनमा राखेका इमेलमा कुन दिनको पालो छ भनेर म्यासेज आउँछ । श्रम स्वीकृतिको जानकारी पनि मोबाइलमा मेसेजबाटै प्राप्त गर्न सकिन्छ ।

सेवाग्राहीले फाराम भर्दा पेश गरेको इमेलमा विभागले श्रम स्टीकर पठाउनेछ । अबदेखि पासपोर्टमा श्रम स्टीकर टाँसिदैन। त्यसैले फारम भर्दा सही इमेल र फोन नम्बर राख्नु पर्छ । 

आवेदन बुझाइसकेपछि कुनै कारणले श्रम स्वीकृत या अस्वीकृत भएमा वा थप कागजात पेश गर्नु परेमा पनि यो प्रणालीबाट मोबाइलमा म्यासेज पठाएर जानकारी गराइन्छ । 

साथै आफूलाई पायक पर्ने जुनसुकै श्रम कार्यालयबाट पनि पुनः श्रम स्वीकृति लिन सकिनेछ । त्यसका लागि आवेदन दिँदा नै सातै प्रदेशमा रहेका श्रम कार्यालयमध्ये एक छान्न सकिनेछ । तर पहिलो पटक लिने श्रम स्वीकृतिका लागि भने ताहाचलमा रहेको श्रम कार्यालयमा नै आवेदन दिनु पर्छ । 

विभागको वेबसाइटबाटै जानकारी  

म्यानपावरको अवस्था कस्तो छ, कुन कुन काममा कुन देशमा श्रमिक पठाउने माग ल्याएको छ भनेर विभागको वेबसाइट dofe.gov.np मार्फत नै बुझ्न सकिन्छ ।

विभागको वेबसाइटमा गएर विभिन्न जानकारी पढ्न, म्यानपावरको अवस्था जाँच गर्न, काम खोज्न र आवेदन दिन सकिन्छ । विभागले श्रमिकको सहजताका लागि अवरणमा नै देखिने गरी यी सबै कुराको जानकारी राख्नेछ । 

अहिले श्रम स्वीकृति लिन जाँदा बैंक खाता अनिवार्य गरिएको छ । श्रमिकको आफ्नै बैंक खाता भएमा पैसा पठाउन सजिलो हुने र वैदेशिक रोजगारीको क्रममा कुनै समस्यामा परेमा सरकारबाट पाउने राहत र क्षतिपूर्ति पनि त्यही खातामा पठाउने सरकारको तयारी छ ।

एजेण्टमार्फत श्रमिक ठगीमा नपरुन् भनेर एजेण्ट रहने व्यवस्था खारेज भइसकेको छ । बीमा र कल्याणकारी कोषमा तिर्नुपर्ने रकम पनि अब अनलाइनबाट नै तिर्न मिल्ने व्यवस्था हुँदैछ । बीमा समितिले अनलाइन पेमेन्टका लागि निर्देशन दिए पनि बीमा कम्पनीले अझै पनि यो व्यवस्था कार्यान्वयनमा ल्याएका छैनन् ।
 

अन्तिम अपडेट: चैत ८, २०८०

तपाईको प्रतिक्रिया