वैदेशिक रोजगारी : युरोपेली देशको आश, राम–लक्ष्मणको भयो बनबास

 पुस १६, २०७६ बुधबार १७:३:५४ | बेदानन्द जाेशी

काठमाण्डौ – टर्कीको घना जङ्गल । जीउ कठ्याङ्ग्रिने जाडो मौसम । चराको चिरबिरबाहेक अरु केही पनि नसुनिने । दिउँसै पनि अँध्यारो देखिने त्यो जङ्गलको बीचमा एउटा घर । सुनसान त्यो घर भूत बंगलाजस्तै लाग्यो महेन्द्रनगरका राम चौधरीलाई ।  

‘त्यो घर अपहरणकारीको अड्डा रहेछ’ त्यो क्षण सम्झँदै उहाँले भन्नुभयो ‘हामीलाई महिनौसम्म त्यही घरमा राखेको थियो, त्यो पनि भोकभोकै ।’

कमाउन विदेश हिँडेका जुम्ल्याहा राम र लक्ष्मण चौधरी दाजुभाइले एजेण्टको कुरामा विश्वास गर्दा झण्डै ज्यानै गुमाउनुपर्यो । कमाउनु त परको कुरा, अपहरणकारीको पञ्जामा परेका दाजुभाइले ज्यान जोगाउन घर जग्गा बेच्नु पर्‍यो । विदेश मोहमा झण्डै सास गयो । सडककै बास भयो ।

ठगीको चक्र

राम दाइ र लक्ष्मण भाइ हुन् । आफ्नोभन्दा पनि भाइको बढी माया लाग्छ रामलाई । त्यसैले त आफूहरु अपहरणमा पर्दा अपहरणकारीले आफूलाई जति पिटे नि भाइलाई केही नगरुन् भन्ने सोच्नुहुन्थ्यो । लक्ष्मणलाई झन् दाइको उस्तै माया लाग्छ । अलग्गिएर बस्नै सक्नुहुन्न । 

जे काम गरे पनि दाइसँगै मिलेर गर्छु भनेर मलेसियामा काम गरिरहनुभएका लक्ष्मण त्यहाँको कम्पनीबाट बिदा लिएर नेपाल आउनुभयो ।  वि.सं. २०७० सालमा काम गर्न मलेसिया जानुभएका लक्ष्मण दुई वर्ष नबित्दै २०७२ को जेठ महिनामा नेपाल फर्किनुभयो । राम चाहिँ सशस्त्र प्रहरीमा तीन वर्ष सेवा गरेर जागिर छाडेर मकाउ जाने सोच बनाएर बस्नुभएको थियो । मलेसियाबाट फर्केर आएका लक्ष्मण पनि दाइसँगै मकाउ जाने हुनुभयो । 

‘यति लामो समय हामीहरु अलग अलग बस्यौँ, अब त जे गरे नि सँग मिलेरै गर्ने भनेर म मलेसियाबाट घर फर्केको थिएँ’, लक्ष्मणले भन्नुभयो, ‘जुन देश गए पनि सँगै जाने भनेर हामी दुवै दाइभाइ मकाउको तयारीमा लाग्यौँ ।’

२०७२ को मंसिर महिना । दुई दाजुभाइ मकाउ पठाउने राम्रो म्यानपावरको खोजीमा हुनुहुन्थ्यो । त्यहिबेला रामको भेट साथी जितेन्द्र रावलसँग भयो । मकाउ पठाइदिन्छ भनेर जितेन्द्रले अर्जुन अधिकारी भन्ने व्यक्तिको मोबाइल नम्बर पनि दिए । 

रामले अर्जुन अधिकारीसँग कुरा गर्नुभयो । ‘केही गाह्रो पर्दैन, हाम्रो मान्छे मकाउमै बस्छ, तपाईँंहरु काठमाण्डौ आए हुन्छ’ अर्जुन अधिकारीले भनेपछि राम लक्ष्मण महेन्द्रनगरबाट काठमाण्डौ हिँडे । साथमा उहाँहरुका बुवा पनि हुनुहुन्थ्यो ।

काठमाण्डौमा अर्जुनसँग भेट भयो । उनले आफू वैदेशिक रोजगारीमा जानेलाई सीप सिकाउने काम गर्छु भन्दै राम लक्ष्मणका बुवालाई बसुन्धारामा रहेको आफ्नो फर्निचर ट्रेनिङ सेन्टरमा लिएर गए । चिटिक्कको कार्यालय, सीप सिकिरहेका केही युवा । अर्जुन म्यानेजरको कुर्सीमा गएर बसेको देखेपछि त राम लक्ष्मणका बुवालाई विश्वास नलाग्ने कुरै भएन । 

त्यसपछि उहाँले छोराहरुलाई विदेश पठाउने भनेर अर्जुनसँग पक्कापक्की कुरा गरेर फर्किनुभयो । त्यसको तीन दिनपछि भिसा लगाउनुपर्छ भनेर अर्जुनले तीनलाख रुपैयाँ मागे । बाबुछोराले सल्लाह गरेर तीन लाख रुपैयाँ अर्जुनको हातमै राखिदिए ।

पैसा बुझाएको तीन महिनामा भिसा आउँछ भनेपछि उहाँहरु ढुक्क भएर घर फर्किनुभयो । मकाउ जानको लागि अलिकति अंग्रेजी भाषा बोल्नुपर्ने हुन्छ भनेर दुई दाजुभाइ गाउँमै अंग्रेजी भाषाको तयारीमा जुटे । तर तीन महिनामा आउँछ भनेको भिसा पाँच महिना बितिसक्दा पनि आएन ।  
रामले अर्जुनलाई फोन गर्नुभयो ।

‘अहिले मकाउ पठाउन अलि गाह्रो भयो भाइ, तपाई‌ं ढुक्क हुनुस् तपाईंहरुलाई जापान पठाइदिन्छु’, अर्जुनले सजिलै भनिदिए । सुरुमै पैसा बुझाइसकेकाले अलमलमा पर्नुभयो राम ।

‘सुरुमै तीन लाख रुपैयाँ बुझाइसकेकोले नाईं भन्न पनि सकिएन’, रामले भन्नुभयो, ‘बुवाले पनि ठिकै छ नि त जापान पनि राम्रै देश हो भनेपछि मैले पनि हुन्छ भनिदिएँ ।’

त्यसपछि फेरि पैसा माग्न थाले । जापान जाने प्रक्रिया सुरु भइसक्यो । भिसा लाग्यो भने १५ लाख रुपैयाँ बुझाउनुपर्छ भनेर राम लक्ष्मणलाई विश्वस्त पारे एजेण्ट अर्जुनले ।

त्यसको दुई हप्तापछि अर्जुनले भिसा आइसक्यो अब जानुपर्ने भयो भनेर २०७२ साल माघ ३ गते राम लक्ष्मणलाई काठमाण्डौ बोलाए । भिसा बैंककबाट लागेको भनेका थिए । के के भयो, त्यो त राम लक्ष्मणले जान्नुभएन । जसोजसो एजेण्टले भने त्यसैत्यसै मानेर उहाँहरु जापान जान काठमाण्डौ आउनुभयो । काठमाण्डौमा आएपछि अर्जुनसँग भेट भयो । त्यतिबेला अर्जुनसँगै एकजना अर्का व्यक्ति पनि थिए ।

‘तपाई‌हरुको भिसा लगाइदिने मुख्य मान्छे उहाँ नै हो’ अर्जुनले परशुराम अधिकारी भन्ने व्यक्तिलाई देखाउँदै परिचय गराए । त्यसपछि होटेलको एउटा कोठामा चारैजनाबीच कुराकानी भयो । दुई, चार दिनभित्रै जापान जाने भनेर पैसाको व्यवस्था गर्नुपर्ने बताए । 

त्यसको दोस्रो दिनमै राम लक्षण्मले १५ लाख रुपैयाँ बुझाउनुभयो । ९ लाख ९६ हजार कपाली तमसुक गरेर र अरु रकम बैंकबाट बुझाएका थिए । दुई दिनभित्रै फ्लाइट हुन्छ भनिए पनि भएन ।

‘पैसा बुझाएको एक हप्ता  बितिसक्दासमेत फ्लाइट नभएपछि हामीलाई डर लाग्न थाल्यो’, रामले भन्नुभयो, ‘परिवार तथा गाउँलेबाट टिकाटालो लगाएर जापान जानको लागि भनेर बिदाइ भएर आएका थियौँ, घर फर्किने कुरा त कल्पना गर्नै सकेनौँ ।’ 

काठमाण्डौमा बस्दा दिनदिनै खर्च बढ्दै थियो । एकदिन अर्जुनको फोन आयो । ‘बैंककबाट जापान जान नमिल्ने भयो, अहिले नियम परिवर्तन भएको रहेछ, अब हामीहरु दिल्लीबाट जाने भयौँ’, अर्जुनले फोनमा भने । त्यसपछि राम लक्ष्मलाई लिएर अर्जुन अधिकारी दिल्ली गए ।    

दिल्ली पुगेपछि एजेण्टले राम लक्ष्मणलाई एउटा होटेलमा राखे । दाजुभाइ होटलमा बसिरहन्थे । एजेण्ट दिनभरी हराउँथे र राति रक्सीले मातेर होटलमा पुग्थे । यस्तैमा हप्ता दिन बित्यो ।

उड्ने कहिले हो भनेर सोध्दा गाली गर्थे । अर्जुनको व्यवहार परिवर्तन भएको देखेर राम लक्ष्मलाई आफूहरु फसेको पत्तो भए । त्यसपछि अर्जुनसँग पैसा माग्न सुरु गरे । 

जापान पठाउने भन्दै दिल्ली, दिल्लीबाट ग्रीस

राम लक्ष्मणले अर्जुनसँग पैसा माग्न थाल्दा परशुराम अधिकारी उनीहरु भएको ठाउँमा पुगे र सम्झाउन थाले । जापानमा जान नसकिने भयो भन्दै दिल्लीबाटै ग्रीस पठाइदिने कुरा गर्न थाले । 

‘युरोपेली देश त्यहाँ मेरो आफ्नै मान्छे छ, जापानभन्दा त्यहाँ जान पनि सजिलो हुन्छ भनेर हामीलाई फेरि जादु गरेजसरी फकायो नि’, लक्ष्मण चौधरी अहिले सम्झिनुहुन्छ, ‘उसले त्यसो भनेको एक हप्तापछि टर्कीको भिसा आयो, ग्रीस जानको लागि टर्कीबाट नजिक पर्छ भनको थियो ।’

टर्की पुगेपछि हाम्रो मान्छे आउँछ, उसले कारमा चढाएर दुई घण्टामै ग्रिस पुर्याउँछ भनेर अर्जुनले उनीहरुलाई दिल्ली एयरपोर्टमा पुर्याए । त्यहाँबाट राम लक्ष्मण ग्रीसको सपना बोकेर टर्कीको जहाजमा उडे । तर त्यहाँ पुगेपछि अर्जुनले आउँछ भनेको मान्छे ८ घण्टासम्म पनि आइपुगेनन् । टर्की पुगेपछि सम्पर्क गर्नु भनेर दिएको मोबाइल नम्बरमा रामले फोन गर्नुभयो । त्यसपछि बल्ल त्यो मान्छेले एकजना ट्याक्सीवालालाई लिन पठायो । 

अर्जुन अधिकारीको मान्छेले ट्याक्सीवालालाई टर्कीको स्टम्भू फूलकपिड भन्ने ठाउँसम्म छोड्न भनेको थियो, उनले त्यहीं लगेर छाडिदिए । त्यहाँ एकजना बंगाली नागरिकले एउटा कोठामा लगेर राखे । यो सबै राम लक्ष्मण दाजुभाइलाई सपना हो कि विपना जस्तै लागिरहेको थियो ।

‘तिनीहरु ठूलो फ्ल्याटमा बसेका थिए, दुईनम्बरी काम गरेर पैसा कमाउँथे, हामी दुई जना दाजुभाइबाहेक त्यहाँ अरु सबै पाकिस्तानी र बंगाली थिए, उनीहरुले हामीबाट पैसा माग्न थाले’, रामले सम्झनुभयो, ‘भाइ र म त उनीहरुले अब के पो गर्ने हुन् भनेर डराइसकेका थियौँ ।’

बाहिर निस्किन पनि दिएका थिएनन् दाजुभाइलाई । उनीहरुसँगै पाकिस्तानी र बंगाली नागरिकहरु पनि ग्रीस जानको लागि त्यही फ्ल्याटमा थिए । सबैलाई घरबाट पैसा मगाउन लगाउँथे । पैसा नल्याए ग्रीस जान नपाइने भनेर धम्क्याउँथे । 

त्यहाँ बसेको १० दिनमा राम लक्ष्मणले घरबाट दुई लाख रुपैयाँ मगाइसकेका थिए । दशौँ दिनमा उनीहरुलाई लिन भनेर एउटा गाडी आयो । राम लक्ष्मण दुईजना दाजुभाइ, केही बंगाली र पाकिस्तानीसहित गरेर ३० जना थिए । सबैलाई बोकेर टर्कीबाट बिहानै गाडी ग्रीसको लागि गुड्यो । गाडीले उनीहरुलाई २४ घण्टापछि टर्की र ग्रीसको सीमा नजिक पुर्याएर छाड्यो । त्यहाँबाट पनि विभिन्न कष्ट सहेर उनीहरु ग्रीस पुगे ।

‘जंगलको बाटो, छातीसम्म पानी आउने खोल्सा, काँडै काँडा भएको झाडी पार गरेर बल्ल ग्रीस पुग्यौँ’ आफूले भोगेका पीडा जति भने पनि कमै जस्तो लाग्छ रामलाई, तै पनि उहाँ भन्न छाड्नुहुन्न, ‘त्यो यात्रा निकै कष्टपूर्ण रह्यो, ग्रीस पुगेर झनै दुःख पायौँ, बिहान पाँच बजेको थियो, झिसमिसेमै ग्रीसको प्रहरीले हामीहरुलाई समात्यो र जेल हाल्यो ।’

कठ्याङ्ग्रिने जाडो । लगाएका कपडाहरु पानीले भिजेका । लगाउनको लागि अरु कपडा पनि थिएनन् । भएको मोबाइल पनि खोसेर प्रहरीले राखेको थियो । खाने कुरा केही दिएको थिएन ।

यस्तो अवस्थामा प्रहरीले ७२ घण्टासम्म जेलमा राख्यो । ७२ घण्टापछि प्रहरीले उनीहरुलाई टर्की पठाइदियो । आफूले थुतेर राखेका मोबाइलको पोको पारेर प्रहरीले पारिबाटै उनीहरु भएतिर फाल्यो । त्यहाँ आ–आफ्नो मोबाइल लिन हान थाप हुन थाल्यो । पाकिस्तानी र बंगालीबीच त मोबाइल लिनको लागि चक्कु हानाहान पनि भयो । राम र लक्ष्मणले आफ्नो मोबाइल ल्याउने आँट गर्नुभएन । 

‘आफ्नो ज्यानको बाजी लगाएर मोबाइल लिन पनि के जाने भनेर छोडिदिएँ’, रामले भन्नुभयो ।

त्यसपछि के गर्ने ? जो जहाँबाट आएका थिए, त्यतै फर्किए । राम लक्ष्मण पनि पहिले आफूहरु बसेकै पाकिस्तानीको कोठामा पुग्नुभयो । 

फर्केको १५ दिनपछि फेरि ग्रिस पुर्याउने भन्दै उनीहरुलाई गाडीमा राखेर लगियो । तर यसपटक पनि उनीहरु प्रहरीको फन्दामा परे । २४ घण्टा जेलमा राखेर उनीहरुलाई प्रहरीले छोडिदियो । 

फेरि उसैगरी पाकिस्तानीको कोठामा फर्किए । डेढ महिनासम्म त्यही कोठामा बसे । यसबीचमा रामको बुवाले ४ लाख रुपैयाँ पठाइसक्नुभएको थियो । घरबाट पैसा मगाउने क्रम चलिरह्यो । उता एजेण्टले दिने यातना पनि भोगिरहनुपर्यो । 

दुई महिनापछि एजेण्टले ग्रीस लाने भए । ६ जना अट्ने कारमा १४ जना राखेर लगे । ‘स्वास फेर्न नपाएर मरिन्छ कि जस्तो लागेको थियो, ८ जना त कारको डिग्गीभित्रै थियौँ’ रामले भन्नुभयो ।

ग्रीस पुर्याएर पनि ठगी

ग्रीस पुगेपछि पनि यातना कम भएन । त्यहाँ पुर्‍याएर सबैलाई एउटा घरकाे बन्द काेठाभित्र राखे । एजेण्टले पैसा माग्न पनि छाडेनन् ।

पैसा नदिए रक्ताम्मे हुने गरी यातना दिने, घाँटीमा चक्कु लगाएर घरमा फोन गर्न लगाउने र ज–जसले पैसा दिए उनीहरुलाई छोड्ने, जसले दिएनन् उनीहरुलाई यातना दिने गर्न थाले । जसले मागेजति पैसा दिए ,उनीहरुलाई छोड्दै गए । 

जसले दिएनन् उनीहरुलाई पैसा नल्याए मारेर फालिदिन्छु भन्न थाले । घाँटीमा चक्कु लगाएर भिडियो कल गर्न लगाएपछि रामका बुवाले  अर्जुनकोे खातामा पैसा पठाइरहनुभयो । त्यही कोठामा मात्र उहाँले पटक–पटक गरेर आठ लाख रुपैयाँ पठाउनुभयो ।

उनीहरुबाट अब पैसा थुत्न सकिदैन भन्ने थाहा पाएपछि पाकिस्तानीले राम लक्ष्मणसहित ८ जना बंगाली र पाकिस्तानीहरुलाई टिकट काटेर एथेन्सको रेलमा चढाइदिए । त्यो बेलासम्म राम लक्ष्मणको २८ लाख रुपैयाँ खर्च भइसकेको थियो । ग्रीसमा काम गर्ने र कमाउने कुराको सबैले आशा मारिसकेका थिए ।

रेल चढेर एथेन्स

दुई दिनपछि उनीहरु एथेन्स पुगे । नौलो सहरमा चिनेजानेको कोही थिएन । एकजना बंगालीसँग परिचय भयो र उसैले देखाएको होटलमा गएर बस्न थाले । 

खान बस्नको होटेलले एक दिनको पाँच यूरो लिन्थ्यो । तर उनीहरु कसैसँग पनि यूरो थिएन । डलर थियो तर डलर त्यहाँ चल्दैनथ्यो । त्यसपछि रामका बुवाले पम्फा राईको नाममा ४८ हजार नेपाली रुपैयाँ पठाइदिनुभयो । त्यति रकमको १ सय ५० यूरो हुन्थ्यो । त्यसले केही दिन खाना खान पुग्यो । कहिले कसैले कहिले कसैले गरेर घरबाट पैसा मगाउँथे । त्यो होटेलमा उनीहरुले ९ महिना त्यत्तिकै बिताए । 

कसैसँग पनि पासपोर्ट थिएन । प्रहरीले देखिहाले सिधै जेल हुन्थ्यो । त्यसैले बाहिर निस्केर काम गर्न सकिरहेका थिएनन् । तर घरबाट पनि पैसा आउने बाटो बन्द हुन थालेपछि सबैले गाउँमा गएर काम गर्ने निर्णय गरे । 

त्यसपछि उनीहरु ट्याक्सीमा चढेर एथेन्सबाट टाढाको दुर्गम गाउँमा पुगे । प्रहरीको खासै प्रभाव नहुने भएकाले त्यहाँ गएर उनीहरु अर्काको खेतमा काम गर्न थाले । खुर्सानी टिप्ने, तरकारी गोड्ने जस्ता काम गर्नुपर्थ्याे ।

कठ्याङ्ग्रिने जाडोमा खेतमै पाल टाँगेर बस्नेदेखि एक छाक मात्र खाएर १८ घण्टा काम गर्नेसम्मका दु:ख भोग्नुभयो । त्यति गरेर पनि  महिनाको एक सय यूरो कमाइ हुन्थ्यो । त्यसैले खाने बस्ने गर्थे । त्यहाँ पनि यसैगरी ७ महिना बित्यो । घरमा पनि १५ दिनमा एक पटक जति मात्र सम्पर्क हुन्थ्यो । 

फेरि अपहरणकारीको फन्दामा 

१२ महिना बितिसकेको थियो । दुबै दाजुभाइ कामबाट आफू बस्ने ठाउँतर्फ फर्कंदै थिए । बीच बाटोमा चारजना केटाहरुले पछाडिबाट बोराले टाउको छोपिदिए । र कारमा राखेर जंगलको बीचमा लगे । 

घना जङ्गलको बीचमा एउटा अँध्यारो घरको पनि झ्याल नभएको कोठाभित्र राखे । त्यसपछि घाँटीमा चक्कु तेर्साएर अपहरणकारीले उनीहरुसँग पैसा माग्न थाले । रामका बुवाले पनि आफ्नो भएको दुई बिघा जग्गा बेचिसक्नुभएको थियो । बेच्नको लागि आफूसँग केही नबचेपछि छोरालाई बचाउन उहाँले आफन्त गुहार्नुभयो । जसोतसो ऋण लिएर भए पनि उहाँले छोराको ज्यान बचाउन यसपटक पनि सात लाख रुपैयाँ पठाइ दिनुभयो । अब घरबाट पैसा आउने सबै बाटा बन्द भइसकेका थिए । राम लक्ष्मण आफ्नो अवस्थादेखि निराश बनिसक्नुभएको थियो । 

‘हामीले त बाँच्ने आशा मारिसकेका थियौँ’, रामलाई त्यो दिन अझै पनि हिजो जस्तै लाग्छ ।

एक दिन अपहरणकारीहरु घरभन्दा अलि पर गाँजा तानिरहेको मौका पारेर राम र लक्ष्मण घरको पछाडिको ढोकाबाट भाग्न सफल भए । अपहरणकारीबाट बच्न राम लक्ष्मणले अग्लो पर्खालबाट हाम फाले । त्यति बेला लक्ष्मणको खुट्टा मर्कियो । उहाँ त्यहीँ बसेको बस्यै हुनुभयो । तर रफ्तारमा दौडिरहेका रामलाई भाइ छुटेको पत्तै भएन । उहाँ धेरै पर पुगिसक्नुभएको थियो । 

भाइलाई नदेखेपछि उहाँ आत्तिँदै प्रहरीकहाँ पुग्नुभयो । उल्टै प्रहरीले रामलाई जेलभित्र राख्यो । उता हिँड्न नसक्ने लक्ष्मण घिस्रिंदै, घुँडाबाट रगत निकाल्दै त्यहाँबाट भागेर एउटा घोडा फर्ममा पुग्नुभयो । त्यहाँ घोडाले खाएर बचेको मकैको दाना खानुभयो । घोडाको साहु आउँथ्यो जान्थ्यो । लक्ष्मणले सहयोगको लागि बिन्ती गर्नुभयो, तर उसले वास्ता गरेन । 

लक्ष्मणले निकै आग्रह गरेपछि तीन दिनपछि घोडाको साहुले प्रहरीलाई बोलायो । प्रहरीले लक्ष्मणलाई चौकी लिएर गए । त्यहाँ लक्ष्मणले दाइको फोटो भएको एउटा निवेदन देख्नुभयो । त्यो देखेर उहाँ निकै खुशी हुनुभयो । रामले त्यो निवेदन आफ्नो भाइलाई खोजी गर्नको लागि भनेर लेख्नुभएको थियो । 

लक्ष्मणले त्यो फोटो आफ्नो दाइको भएको बताएपछि प्रहरीले दुई भाइको भेट गराए । लक्ष्मणको खुट्टा मर्केकाले प्रहरीले २४ घण्टा मात्र जेलमा राखे । तर राम भने जेलमै बस्नुपर्यो । जेलबाट छुटेपछि लक्ष्मण पहिलेकै बंगालीको होटेलमा गएर बस्न थाल्नुभयोे । आशा मारिसकेका रामका परिवार महिनौँपछि छोराले फोन गरेकोमा निकै खुसी भए । 

लक्ष्मणले आफू होटेलमा बसिरहेको र दाइ जेलमा भएको र चाँडै छुट्ने भन्ने खबर सुनाएपछि बुवाआमाको मन एक किसिमले ढुक्क भयो । ऋण काढेर भए पनि घरबाट पैसा पठाइदिनुभयो । त्यही पैसाले लक्ष्मण होटमा तीन महिना बस्नुभयो । 

तीन महिनापछि राम पनि जेलबाट छुट्नुभयो । त्यसपछि दाजुभाइलाई नेपाल फर्काउन अन्तर्राष्ट्रिय आप्रवासी संगठन (आइओएम)ले सहयोग गर्‍याे । आइओएमले केही दिन आफ्नो सेल्टरमा राखेर कतारको उडान हुँदै नेपाल पठायो । झण्डै तीन वर्षको कष्टदायी विदेशको बसाइ पछि २०७५ सालको मंसिरमा उहाँहरु नेपाल आउनुभयो । 

अहिले उहाँ आफूलाई पठाउने दलाललाई पक्राउ गरिपाउँ र क्षतिपूर्ति पाउँ भनेर विभाग धाइरहनुभएको छ । तर कतैबाट पनि राहत पाइने जस्तो नदेखेपछि उहाँ झनै निराश हुनुहुन्छ ।

‘हामीले त्यत्रो पैसा डुबायौँ, हाम्रै कारणले बुवा दुब्लाएर हड्डी मात्र बाँकी हुनुभएको छ, अब कुन मुख लिएर घर जाने ?’ अहिलेसम्म ३८ लाख रुपैयाँ खर्च भइसक्यो । ‘त्यसको ब्याज तिर्ने कुरा सम्झिदा भोक निद्रा लाग्दैन’ दाजुभाइ एकै स्वरमा भन्नुहुन्छ । 


 

अन्तिम अपडेट: असार ८, २०७७

बेदानन्द जाेशी

उज्यालाेमा कार्यरत बेदानन्द जाेशी वैदेशिक रोजगारी र समसामयिक विषयमा कलम चलाउनुहुन्छ। 

तपाईको प्रतिक्रिया