पुराना सिक्काको लोभमा काभ्रेमा घर बनाउने मजदूरले घरबेटी दम्पतीको हत्या गरेकाे खुलासा

अभियुक्तहरु सिक्कासहित पक्राउ

 पुस १६, २०७६ बुधबार १८:४२:४४ | कपिल कोइराला
unn.prixa.net

काभ्रे - नमोबुद्ध-८, डराउनेपोखरी तल्लो हटियामा भएको दम्पती हत्याका २ अभियुक्तलाई जिल्ला प्रहरी कार्यालय र केन्द्रीय अनुसन्धान ब्यूरोको टोलीले पक्राउ गरेको छ । 

प्रहरीले गएकाे कात्तिक १८ गते राति श्यामकृष्ण श्रेष्ठ र उहाँकी श्रीमती रुकुमाया श्रेष्ठको हत्या आरोपमा उदयपुर चौदण्डीगडी नगरपालिका-१० का सुमन राई र किरणकुमार मगरलाई पक्राउ गरेकाे हाे ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक दिपक गिरी र केन्द्रीय अनुसन्धान ब्यूरोका प्रहरी नायब उपरीक्षक हरिकुमार बस्नेतको नेतृत्वमा खटिएको टोलीले राईलाई काठमाण्डौ महानगरपालिका-७, सरस्वतीनगरबाट र मगरलाई ललितपुर महानगरपालिका-२५, भैंसेपाटीबाट पक्राउ गरेकाे जिल्ला प्रहरी प्रमुख रवि पौडेलले जानकारी दिनुभयो ।

पक्राउ परेका दुवै श्यामकृष्णकै घर बनाउने मजदूर रहेको समेत खुलेको छ । तिहारमा मात्र श्यामकृष्णको घर निर्माण सम्पन्न भएको थियो । घर निर्माण सम्पन्न भएपछि काठमाण्डौ बस्दै आएका अभियुक्त मजदूरहरु कात्तिक १८ गते पुुराना सिक्का चोर्न श्यामकृष्णको घर पुगेका थिए ।

अनुसन्धानमा खटिएका केन्द्रीय अनुसन्धान ब्यूरोका प्रहरी नायब उपरीक्षक बस्नेतका अनुसार धनमाल चोर्न पुगेका उनीहरु श्यामकृष्णको झ्यालबाट घरभित्र छिरेका थिए ।

प्रहरीका अनुसार उनीहरुले लुटेको १ सय १२ थान सिक्का तथा रुकुमायाले लगाएको मुन्द्रा बरामद भएको छ । पुरानो सिक्का भएको भन्ने लोभमा लुट्न पुगेका उनीहरुले लुटेकामध्ये जम्मा २ वटा मात्र पुरानो खालको देखिने सिक्का भएको प्रहरीको भनाइ छ ।

यसरी भएकाे थियाे हत्या 

प्रहरीका अनुसार अभियुक्त दुवै जना घरको माथिल्लो झ्यालबाट प्रवेश गरेका थिए । चिनजानकै व्यक्तिहरु झ्यालवाट प्रवेश गरेपछि किन आएको के हो भनेर श्यामकृष्णले उनीहरुलाई सोध्नुभयाे । प्रहरीलाई दिएको प्रारम्भिक बयानमा अभियुक्तहरुले श्यामकृणलाई उदयपुरबाट आएको बास बस्ने ठाउँ पनि भएन भनेर भनेपछि श्यामकृष्णले तल्लो तलामा बास बस्न दिनुभयाे ।

पहिला घर बनाउँदाका मजदूर किन आए भन्ने शंकामा रहेका दम्पति निदाउन सकेनन् । अभियुक्तहरुले आफूहरुलाई जाडो भएकोले बियर र चाउचाउ खुवाउन दम्पतिलाई भने । अभियुक्तहरु दुवैले तल्लो तलामा बियर खाएर बसे । चोर्न पुगेका उनीहरु दम्पती नसुतेपछि छटपटीमा परे । मध्यरात हुँदासम्म घरधनी नसुतेको देखेपछि तल्लो तलामा रहेका उनीहरुले माथिल्लो तलामा रहेका श्यामकृष्णलाई फेरि बियर खानुपर्‍यो भनेर बोलाए ।

श्यामकृष्ण तल्लो तलामा झर्नेबित्तिकै उनीहरुले श्यामकृष्णलाई खुर्पा प्रहार गरे । तल्लो तलामा हल्लिखल्ली भएपछि रुकुमाया पनि तल्लो तलामा झर्नुभयाे । झर्नेबित्तिकै अभियुक्तमध्ये मगरले बियरको बोतलले टाउकोमा प्रहार गरे र दुवैकाे घटनास्थलमै ज्यान गयाे ।

त्यसपछि उनीहरुले सिक्का चोरेर नजिकैको प्रेमलाल श्रेष्ठको गोठमा राखेर काठमाण्डौ आए । प्रहरीले अनुसन्धानको क्रममा दुवैजनालाई पक्राउ गरेपछिको बयानका आधारमा उनीहरुले लुकाइराखेको सिक्कासमेत बरामद गरेको छ । 
 

अन्तिम अपडेट: फागुन २९, २०८०

कपिल कोइराला

काभ्रेमा बसेर पत्रकारिता गर्ने कपिल कोइराला उज्यालोका जिल्ला सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया