गणित र विज्ञान विषयका शिक्षक नहुँदा ट्युसन कक्षाकाे भरमा एसईईको तयारी

 पुस १७, २०७६ बिहिबार १२:७:४५ | सुजता सुनुवार
unn.prixa.net

इलाम - २०७६ सालको एसईई परीक्षा आउन केही महिना मात्रै बाँकी छ । इलामका धेरै सामुदायिक विद्यालयमा भने गणित र विज्ञान शिक्षकको अभावका कारण विद्यार्थीले ट्युसन कक्षाकाे भरमा परीक्षाकाे तयारी गर्नुपरेकाे छ । रिक्त रहेकाे दरबन्दीमा शिक्षक नपुगेपछि परीक्षाको तयारी गरिरहेका विद्यार्थीमाथि प्रत्यक्ष असर परेको हाे। 

इलाम नगरपालिका–३ मा रहेको श्री विणापाणी माध्यमिक विद्यालयमा गएको कात्तिक महिनाबाट गणित र विज्ञान विषय पढाइ नभएको विद्यार्थीहरुले बताएका छन् ।परीक्षा नजिकिँदै जाँदा तयारी गर्नै पर्ने विषयको पढाई नै नभएका कारण १२ हजार अग्रिम भुक्तानी गरेरै ट्युसन कक्षा लिनुपरेको विद्यार्थीहरुको गुनासो छ । 

त्यहाँकाे केएमटी कलेजमा ट्युसन पढिरहेका विद्यार्थी किरण सुनुवार भन्नुहुन्छ ‘पढाइ भइदिए किन घर छोड्थेँ र ? घरमा नै बसेर परीक्षाको तयारी गर्थेँ । अहिले महिनाको दुई हजार कोठा भाडा तिर्नु पर्छ ।’ हाल, उहाँसँगै ११ जना विद्यार्थीले ट्युसन पढीरहेका छन् ।

विद्यार्थीसँगै अविभावकलाई पनि शिक्षक नहुँदाको पीडाले सताएको छ । तत्काल तिर्ने रकम नहुँदा पनि छोराछोरीको पढाइ नबिग्रियोस् भनेर ऋण खोजेर बजारमा पढ्न पठाएको अविभावक बताउँछन् । शिक्षक नभएकाले नौ कक्षाका विद्यार्थीले समेत गणित र विज्ञान विषयको अध्ययन गर्न नपाएको विद्यार्थीको भनाई छ । 

वीणापाणीमा जम्मा २ सय १८ विद्यार्थी अध्ययनरत छन् । जसमध्ये कक्षा १० मा मात्रै ४२ जना विद्यार्थी छन् । विद्यालय व्यवस्थापन समितिको बैठक बसेर वैकल्पिक तयारीका लागि डिसहोमबाट सञ्चालन हुने कार्यक्रममार्फत विद्यार्थीहरुलाई ट्युसन पढाइने विद्यालयका प्रधानाध्यापक सूर्यप्रसाद राईले जानकारी दिनुभयो । 

राइले शिक्षा विकास तथा समन्वय इकाई र पालिका प्रमुखलाइ विद्यालयको समस्याबारे जानकारी गराइएको भए पनि कुनै सुनुवाइ नभएको गुनासो गर्नुभयो । ‘राहत वा करार शिक्षक जसलाइ भए पनि विद्यालयमा पठाइदिन पालिकालाई आग्रह गरेका छौँ । तर, तत्काल शिक्षक पठाउन नसकिने जवाफ पालिकाले दिएको छ । १४ जनाको दरबन्दी रहेको यस विद्यालयमा ११ जना मात्रै शिक्षकले अध्यापन गरिरहेका छन् ।’

वाणीमामात्रै नभई इलामको फाकफोकथुम–१ मा रहेको खाम्बाङ्ग माध्यमिक विद्यालयमा पनि गणित र विज्ञानका शिक्षकको दरबन्दी रिक्त छ । विद्यालयमा गएको मंसिर १ गतेबाट दरबन्दी खाली भएको विद्यालयका प्रधानाध्यापक लोकनाथ भट्टराईले जानकारी दिनुभयो  ।

एसईईका विद्यार्थीलाई निमाविका शिक्षकले अध्यापन गराएर तयारी गराईरहेको उहाँले बताउनुभयो । शिक्षक अभाव हुँदा तल्लो तहका विद्यार्थीलाई सामूहिक कक्षा सञ्चालन गर्नुपर्ने बाध्यता रहेको प्रधानाध्यापक भट्टराइले जानकारी दिनुभयो ।

यसले गर्दा तल्लो तहका विद्यार्थीको पढाइमा बाधा पुगेको छ । जिल्लाका १० स्थानीय तहमा ३ सय ९७ सामुदायिक र १ सय १७ संस्थागत गरी ५ सय १४ वटा विद्यालय रहेका छन् । जसमा माध्यमिक र निम्न माध्यमिक गरी १९ वटा विद्यालयमा गणित र विज्ञानको दरबन्दी खाली छ ।

यी मध्ये गणित र विज्ञान विषयका मात्रै ११ वटा दरबन्दी रिक्त रहेको शिक्षा विकास तथा समन्वय इकाई इलामका शाखा अधिकृत डम्बर सुवेदीले जानकारी दिनुभयो । यस्ता समस्या यथावत् रहे गएकाे शैक्षिक सत्रको भन्दा कम नतिजा आउने समस्या हुने अधिकृत सुवेदीको भनाई छ ।

शिक्षा मन्त्रालयको तथ्याङ्क अनुसार, प्रतिशतको हिसाबमा गएको शैक्षिक सत्रमा प्रदेश नम्बर १ नेपालको तेस्रो स्थानमा आएको देखिन्छ । एसईईको नतिजामा २.४५ प्रतिशत ल्याएर १ नम्बर प्रदेश तेस्रो स्थानमा रहेको थियो । 

अन्तिम अपडेट: चैत १४, २०८०

सुजता सुनुवार

सुजता सुनुवार उज्यालोमा कार्यरत हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया