उखु किसानकाे पैसा तत्काल भुक्तानी गर्न सांसद वीरेन्द्र कनाेडियालाई कांग्रेसकाे निर्देशन

 पुस १७, २०७६ बिहिबार १८:२७:१७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - नेपाली कांग्रेसले पार्टीको प्रदेश नम्बर-२ का संसदीय दलका उपनेता वीरेन्द्र कनोडियालाई उखु किसानको रकम भुक्तानी गर्न निर्देशन दिएको छ । 

शुक्रबार बसेको केन्द्रीय कार्यसमिति बैठकले कनोडियालाई उखु किसानहरुको बाँकी रहेको भुक्तानी तत्काल उपलब्ध गराउन पहल गर्न निर्देशन दिएको हो ।

पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले कनोडिया सञ्चालक रहेको मिललेसमेत उखु किसानको भुक्तानी नदिएको समाचारका सन्दर्भमा पार्टीको ध्यानकर्षण भएकाले यथाशीघ्र भुक्तानी गराउन निर्देशन दिइएको बताउनुभयो । कनोडिया महालक्ष्मी सुगर मिल्सका सञ्चालक हुनुहुन्छ । 

नेपाली कांग्रेसले राष्ट्रियसभा निर्वाचनमा समाजवादी पार्टीसँग तालमेल गर्ने संकेत पनि दिएको छ । प्रवक्ता शर्माले सभापति शेरबहादुर देउवासँग समाजवादीका नेताहरुको भेटघाट भएको र राष्ट्रियसभामा तालमेल हुनसक्ने बताउनुभयो ।

केन्द्रीय समिति बैठकमा प्रस्तुत भएको राष्ट्रियसभा निर्वाचनसम्बन्धी प्रस्ताव पारित भएपछि याे विषयकाे टुंगो लाग्ने उहाँले बताउनुभयो । बैठकमा उम्मेदवार चयनका लागि पदाधिकारी बैठकलाई अधिकार दिने प्रस्ताव गरिएको शर्माले बताउनुभयो । उहाँले समाजवादीसँग तालमेलको ढोका खुलेको र शुक्रबारसम्मा निर्णय हुने सम्भावना रहेको बताउनुभयो । 

पार्टीभित्र रहेको आन्तरिक किचलो धेरै दिन नरहने उहाँले दावी गर्नुभयो । पार्टीभित्र देखिएका विमतिहरु थाति राखेर भए पनि राष्ट्रियसभा चुनावमा एक भएर जाने वातावरण सिर्जना हुने विश्वास प्रवक्ता शर्माले व्यक्त गर्नुभयो ।

सरकारले ल्याएको सूचना प्रविधि विधेयक र नेपाल विशेष सेवा ऐनका सन्दर्भमा पनि बैठकमा कुरा उठेको छ । बिहीबारको बैठकमा असन्तुष्ट पौडेल पक्षका नेताहरु भने सहभागी भएका थिएनन् ।

अन्तिम अपडेट: बैशाख ३, २०८१

तपाईको प्रतिक्रिया