देशभर वर्षा, उच्च पहाडी र हिमाली भूभागमा हिमपात

 पुस १८, २०७६ शुक्रबार ८:५५:५७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – अहिले देशभरिकै मौसम बदली भइ पश्चिमका धेरै ठाउँमा पानी परिरहेको छ ।

अहिले सुर्खेत, रुपन्देही, कपिलवस्तु, दाङ, बैतडी, अछाम, दैलेख, रुकुम, बर्दिया, प्यूठान, नवलपरासी, अर्घाखाँची, बाग्लुङ लगायत पश्चिमका धेरै ठाउँमा पानी परिरहेको मौसम पुर्वानुमान महाशाखाकी मौसमविद् प्रतिभा मानन्धरले जानकारी दिनुभयो ।

उहाँका अनुसार अहिले पश्चिममा पानी पारिरहेको प्रणाली पूर्वतिर सर्ने क्रममा रहेकाले अब बिस्तारै काठमाण्डाै उपत्यकासहित मध्य र पूर्वमा पनि पानी पर्नेछ ।

यस्तै उच्च पहाडी तथा हिमाली भेगमा हिमपात भइरहेकाे छ । जुम्लामा यस वर्ष दोस्रो पटक हिमपात भएको छ । शुक्रबार बिहानैदेखि हिमपात भएपछि अत्यधिक चिसो बढेको छ । 

त्यस्तै डोटीमा पनि बिहीबार रातिदेखि हिमपात भइरहेको छ । हिमपातपछि चिसो बढ्दा यस क्षेत्रको जनजीवन प्रभावित भएकोे छ । त्यस्तै २५ वर्षपछि डाेटीकाे सदरमुकाम सिलगढीमा पनि हिमपात भएकाे छ । 

आकाशमा बादल लागेपछि पानी नपरेको ठाउँको न्यूनतम तापक्रम बढेको छ भने अधिकतम तापक्रम घटेको छ । यसले चिसो बढाएको छ । चिसो बढ्दा जनजीवन प्रभावित भएको छ ।

आज देशभरिकै मौसम बदली भए पनि पश्चिमी वायु शनिबार बिहानदेखि भने केही कमजोर हुने देखिएको मौसमविद् मानन्धरले बताउनु भयो । उहाँका अनुसार आजको भन्दा शनिबार मौसम केही खुले पनि पूर्णरुपमा खुल्न भने अझै केही दिन लाग्नेछ । 

अन्तिम अपडेट: चैत ३, २०८०

तपाईको प्रतिक्रिया