देशका धेरै ठाउँमा झरी, चिसो बढ्यो

 पुस १८, २०७६ शुक्रबार १४:४७:३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - देशका धेरै ठाउँमा वर्षा र हिमपातका कारण चिसो बढेको छ ।

बिहान एकछिन आकाश खुले पनि दिउँसो भएलगत्तै मौसम धुम्मिएको छ । काठमाण्डौसहित सुर्खेत, रुपन्देही, कपिलवस्तु, दाङ, बैतडी, अछाम, दैलेख, रुकुम, बर्दिया, प्यूठान, नवलपरासी, अर्घाखाँची, बाग्लुङ, हुम्ला, जुम्ला, मुगु, कालीकोट, डोल्पा, सुर्खेतलगायत ठाउँमा पानी परिरहेको मौसमविद् प्रतिभा मानन्धरले जानकारी दिनुभयो ।

यस्तै उच्च पहाडी क्षेत्र र हिमाली क्षेत्रमा हिमपात भैरहेको छ । डोटीको सदरमुकाम सिलगढीमा २५ वर्षपछि हिमपात भएको छ । सदरमुकाम सिलगढीमा आधा फिटसम्म हिउँ जमेको छ । सदरमुकाम सिलगढीसँगै जोडिएका स्वाँडा, मछिन्तोला, गोलादेउ, झिग्रानालगायतका गाउँमा पनि बाक्लो हिउँ परेको छ ।

यस्तै, बझाङ र बैतडीका कतिपय ठाउँमा हिमपातका कारण विद्युत तथा इन्टरनेट बन्द भएको छ भने जुम्ला, मुगु र जाजरकोटबाट छुट्ने लामा तथा छोटो दूरीका गाडी चलेका छैनन् ।

जुम्लामा यो वर्ष दोस्रो पटक हिमपात भएको छ । चिसोका कारण स्थानीयबासिन्दा घर बाहिरको काममा निस्कन सकेका छैनन् । जुम्लाको तापक्रम माइनस २ दशमलव ६ डिग्री सेल्सियसमा झरेको हावापानी फिल्ड कार्यालय जुम्लाले जनाएको छ ।

यस्तै मुस्ताङको जोमसोममा १ फिटसम्म हिउँ जमेको छ । हिमपातका कारण जोमसोम विमानस्थलमा उडान हुन सकेका छैनन् । खानेपानीको धारामा पानी जमेको  स्थानीयबासिन्दाले बताएका छन् ।

पश्चिममा पानी र हिउँ पारिरहेको प्रणाली पूर्वतिर सर्ने क्रममा रहेकाले मध्य र पूर्वमा पनि पानी पर्न थालेको हो । यो प्रणाली शनिबार बिहानदेखि भने केही कमजोर हुने देखिएको मौसमविद् मानन्धरले बताउनुभयो ।शनिबारको मौसम केही खुले पनि पूर्ण रुपमा खुल्न भने अझै केही दिन लाग्ने मौसमविद मानन्धरले जानकारी दिनुभयो ।

काठमाण्डौको न्यूनतम तापक्रम अहिले ५ डिग्री सेल्सियस मापन गरिएको छ । 

अन्तिम अपडेट: चैत १२, २०८०

तपाईको प्रतिक्रिया