देउवाले पार्टी धरापमा पार्नुभयाे, अब हामी बनाउनतिर लाग्छाैँ : वरिष्ठ नेता पौडेल

 पुस २०, २०७६ आइतबार ६:५९:२६ | रासस
unn.prixa.net

चितवन – नेपाली काङ्ग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टी सभापति शेरबहादुर देउवाको कारण पार्टी धरापमा परेको बताउनु भएको छ । 

रत्ननगर नगर समितिले शनिबार चितवनको टिकौलीमा आयोजना गरेको कार्यकर्ता भेटघाट तथा वनभोज कार्यक्रमलाई सम्बोधन गर्दै नेता पौडेलले पार्टीभित्र विकृति मौलाएको बताउनु भयो । 'सभापतिका कारण पार्टी कमजोर बन्दै गएको छ', उहाँले भन्नुभयो, 'व्यक्तिगत स्वार्थमा लागे लाग्नुस्, हामी पार्टी बनाउन लाग्छौँ ।' पार्टी सभापतिले कमजोरी ढाकछोप गर्न मात्र खोजेको उहाँले आरोप लगाउनु भयो ।

पार्टीलाई रोगमुक्त बनाउन नौ बुँदे सुझाव पेस गरेकोमा त्यसलाई सभापतिले बेवास्ता गरेको पौडेलको भनाइ थियो । महाधिवेशनको मिति एक वर्ष पर धकेलेर देउवाले पार्टीभित्र एकलौटी गर्न खोजेको उहाँले बताउनु भयो । आउँदाे चुनाव जित्ने गरि एकजुट हुनुको विकल्प नरहेकोमा उहाँको जोड थियो । 

काङ्ग्रेस केन्द्रीय सदस्य प्रदीप पौडेलले पार्टी कब्जा गर्ने नभइ सत्ता कब्जा गर्ने गरि नेतृत्वले काम गर्नुपर्ने बताउनु भयो ।

काङ्ग्रेस रत्ननगर नगर समिति सभापति रुपनराज घिमिरेको अध्यक्षतामा भएको कार्यक्रममा काङ्ग्रेस केन्द्रीय सदस्यद्वय डिना उपाध्याय र कमला पन्त, चितवन सभापति जीतनारायण श्रेष्ठ लगायतले मन्तव्य राख्नुभएको थियो ।

कार्यक्रममा विभिन्न विधाबाट १२ जना तथा पार्टी पूर्वनगर सभापति चार जनालाई सम्मान गरिएको थियो । 

अन्तिम अपडेट: बैशाख ११, २०८१

तपाईको प्रतिक्रिया