राष्ट्रिय सभा सदस्यका लागि उम्मेदवारहरुकाे मनोनयन दर्ता

 पुस २०, २०७६ आइतबार १७:६:३२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – माघ ९ गते हुने राष्ट्रियसभा सदस्यको निर्वाचनका लागि दलका उम्मेदवारहरुले मनोनयन दर्ता गराएका छन् ।

दलका उम्मेदवारहरुले सबै प्रदेशको राजधानीमा रहेको निर्वाचन आयोगको कार्यालयमा मनोनयन दर्ता गराएका हुन् । काठमाण्डौमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का वेदुराम भुसाल र गंगा बेल्बासे मनोनयन दर्ता गराउनु भएको छ ।

त्यस्तै नेपाली कांग्रेसका हरिशरण श्रेष्ठ र छलिकुमारी शर्मा उपाध्याय तथा नेपाल मजदूर किसान पार्टीका कृष्ण बहादुर तामाङ र गीता काफ्लेले मनोनयन दर्ता गराउनु भएको छ । 

मनोनयन दर्तापछि नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का उम्मेद्वार वेदुराम भुसालले प्रतिनिधि सभाले गरेको कामलाई राष्ट्रिय सभाले हेर्ने भएकाले कानुन निर्माणमा भएका कमजोरीहरुलाई सुधार्ने भूमिका रहने बताउनुभयो । 

त्यस्तै अर्का उम्मेद्वार गंगा बेल्बासे विश्वास अविश्वासका धेरै प्रश्न उठेकाले नीति निर्माणमा महत्वपूर्ण भूमिका निभाउने बताउनुभयो ।  नेपाली कांग्रेसका उम्मेदवार हरिशरण श्रेष्ठले प्रतिनिधि सभाले पास गरेका गलत खालका कानुनको सुधारमा आफ्नो भूमिका रहने बताउनुभयो । 

उहाँले सरकार अधिनायकवादी तरिकाले अगाडि बढिरहेको र राष्ट्रिय सभालाई प्रतिपक्षविहीन बनाउने बदनियत राखेकाले सशक्त आवाज उठाउने बताउनुभयो । त्यस्तै अर्का उम्मेदवार छलिकुमारी शर्मा उपाध्यायले गलत खालका नीतिहरु सच्याउन आफ्नो भूमिका रहने बताउनुभयो ।

राष्ट्रिय सभा सदस्य उम्मेदवार, नेपाली कांग्रेस राष्ट्रिय सभा सदस्यको निर्वाचनका लागि आइतबार बिहान १० बजेदेखि दिउँसो ३ बजे सम्ममा मनोनयन दर्ता गर्नुपर्ने व्यवस्था अनुसार दलका उम्मेदवारहरुले आ–आफ्नो प्रदेशमा रहेको निर्वाचन आयोगको कार्यालयमा मनोनयन दर्ता गराएका हुन् । 

अन्तिम अपडेट: चैत ११, २०८०

तपाईको प्रतिक्रिया