काेराेना भाइरसकाे प्रकाेप : नेपालमा पनि सतर्कता बढाइयाे, त्रिभुवन विमानस्थलमा यात्रुमाथि निगरानी

 माघ ९, २०७६ बिहिबार ९:१९:४४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – चीनमा कोरोना भाइसरको प्रकोप फैलिएपछि नेपालमा पनि सतर्कता बढाइएको छ ।

श्वासप्रश्वासबाट सर्ने यो भाइरसको जोखिम बढेसँगै सतर्कता र निगरानी बढाइएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयअन्तर्गतको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ ।

कोरोनाको जोखिम बढेसँगै त्रिभुवन विमानस्थलमा रहेको हेल्थ डेस्कलाई सक्रिय बनाइएको र रुघाखोकीलगायत श्वासप्रश्वासको कुनै समस्या देखिएका यात्रुलाई स्वास्थ्य परीक्षण गर्न पठाउन थालेको महाशाखाले जानकारी दियाे ।

विमानस्थल कार्यालयले पनि चीनको वुहान शहरबाट आउने यात्रुको निगरानी गर्न थालेको छ । विमानमा रुघाखोकी लागेका बिरामी भए वा नभएको बारे जानकारी लिने र त्यस्ता बिरामी पाइए उनीहरुको स्वास्थ्य परीक्षण गर्न पठाउने गरी इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखासँग समन्वय भइरहेको विमानस्थल कार्यालयका प्रवक्ता देवचन्द्रलाल कर्णले जानकारी दिनुभयो ।

वुहान शहरबाट आएका एक नेपालीमा यो भाइरसको सङ्क्रमण देखिएपछि ती व्यक्तिकाे नमुना परीक्षणका लागि हङकङ पठाइएको छ । ती व्यक्ति अस्पतालबाट डिस्चार्ज भए पनि निगरानीमै रहेको महाशाखाले जनाएको छ । 

अहिलेसम्म याे भाइरसकाे सङ्क्रमण चीनबाहेक अमेरिका दक्षिण काेरिया जापान र थाइल्याण्डमा पनि देखिएकाे छ । याे भाइरसका कारण अहिलेसम्म कम्तीमा १७ जनाकाे ज्यान गइसकेकाे छ भने चीनमा पाँच सयभन्दा बढी मानिस यसबाट सङ्क्रमित भएका छन् । 

यसकाे प्रकाेप बढ्दै गएपछि चीनकाे वुहान शहरमा अधिकारीहरुले स्थानीय मानिसहरुलाई यात्रा गर्न प्रतिबन्ध लगाएका छन् । 

अन्तिम अपडेट: चैत १३, २०८०

तपाईको प्रतिक्रिया