नेपालमा ‘कोरोना भाइरस’ काे प्रकाेप अरु देशमा देखिएकोजस्तो खतरनाक छैन : चिकित्सक

 माघ ११, २०७६ शनिबार १७:१८:४८ | रासस
unn.prixa.net

काठमाण्डाै - नेपालमा देखिएको ‘कोरोना भाइरस’ विश्वका अन्य देशमा देखिएकोजस्तो खतरनाक नभएको चिकित्सकहरुले बताएका छन् ।

शुक्रराज ट्रपिकल एण्ड सरुवा रोग अस्पतालका चिकित्सक डा. शेरबहादुर पुनले प्रारम्भिक अध्ययनबाट विश्वका अन्य देशमा देखिएजस्तो नेपालमा धेरे खतरा नभएको बताउनुभएको हो । अमेरिका लगायतका देशमा देखिएको समस्या जस्तो नेपालमा धेरै कम खतरा रहेको उहाँले बताउनुभयो ।

‘प्रारम्भिक नतिजामा चिन्ता गर्नुपर्ने विषय देखिएन् । हाम्रोमा यो रोगका विषयमा धेरैलाई जानकारी नभएकोले पनि चिन्ता बढेको हो कि’, उहाँले भन्नुभयो, ‘चीनमा अहिलेसम्म १७ जनाको मृत्यु भएको पुष्टि भएको छ । तर मृत्यु हुनेमा सबै ७० वर्षभन्दा माथिका र दीर्घरोगी छन् । बालबालिका र युवाहरुमा ज्यानै जानेगरी संक्रमण देखिएको छैन ।’

अस्पतालका अर्का चिकित्सक डा. वासुदेव पाण्डेले सुरुमा स्वाइनफ्लुको जस्तै रुघाखोकी लाग्ने, ज्वराे आउने र श्वासप्रश्वासमा समस्या देखिनेजस्ता लक्षण देखिनसक्ने बताउनुभयो । यी लक्षणहरु देखिएपनि चिन्ता लिनुपर्ने अवस्था नरहे पनि चेकअपका लागि अस्पताल जान उहाँले आग्रह गर्नुभयो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता महेन्द्रप्रसाद श्रेष्ठले चीनको वुहान प्रान्तबाट सुरुमा यो भाइरसको विस्तृत प्रकोप दर, यसका लक्षण र कति समयपछि असर गर्छ भन्ने कुराहरु अझै अध्ययनकै क्रममा रहेको बताउनुभयो । विश्वभर फैलिएको यो रोगका विषयमा धेरे प्रश्नहरु अनुत्तरित रहेको बताउनुहुँदै उहाँले नेपालमा फैलन सक्ने संक्रमणतर्फ मन्त्रालय सतर्क रहेको बताउनुभयो ।

नेपालमा एक जनामा संक्रमण भेटिएको र उनको सम्पर्कका अन्य व्यक्तिहरुको सूची तयार गरी सबैको अवस्थाका विषयमा जानकारी लिने काम भइरहेको उहाँले बताउनुभयो ।

चीनसँग जोडिएका नाकाहरु र त्रिभुवन विमानस्थलमा चीनबाट आउने सबैको स्वास्थ्य परीक्षण गर्ने काम भइरहेको उहाँले जनाकारी दिनुभयो । कुनै व्यक्तिमा लक्षण देखिएमा शुक्रराज ट्रपिकल सेन्टर, पाटन अस्पताल लगायत अन्य नीजि तथा सरकारी अस्पतालमा उपचारको व्यवस्था गर्नेगरी मन्त्रालय अगाडि बढेको उहाँले बताउनुभयो । 

अन्तिम अपडेट: साउन ११, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया