काेराेना भाइरस प्रकाेप : अमेरिका र अस्ट्रेलियाले चीनबाट फर्किएका विदेशी नागरिकलाई प्रवेशमा राेक लगाए

 माघ १९, २०७६ आइतबार ६:१४:२२ | एजेन्सी
unn.prixa.net

काठमाण्डाै – कोरोना भाइरसको सङ्क्रमण फैलने क्रम झनै तीव्र बनेपछि विश्वव्यापी सतर्कता बढाइएको छ ।

निकै कम मात्र स्वास्थ्य आपतकाल घोषणा गर्ने अमेरिका र अस्ट्रेलियाले पछिल्ला दुई हप्ता चीन भ्रमण गरेका विदेशी नागरिकलाई अमेरिका प्रवेशमा रोक लगाएको छ भने चीनबाट फर्किएका आफ्ना सबै नागरिकलाई १४ दिन डाक्टरहरुको निगरानीमा राख्न थालेका छन् ।

रुस, जापान, पाकिस्तान र इटलीले यसअघि नै यस्तै यात्रा प्रतिबन्ध लगाइसकेका छन् । विश्वका धेरैजसो देशहरुले आफ्ना नाकामा स्वास्थ्य जाँच सुरु गरेका छन् । 

चीनको हुबेई प्रान्तको वुहान शहरबाट सुरु भएको कोरोना भाइरसको सङ्क्रमणबाट अहिलेसम्म तीन सय चार जनाको ज्यान गएको चीनले आधिकारिक पुष्टि गरेको सञ्चारमाध्मयले जनाएका छन् ।

शनिबार वुहानमा मात्रै ४५ जनाको ज्यान जानुको साथै एक हजार ९ सय २१ जना नयाँ सङ्क्रमित भेटिएका थिए । चीनले आफ्नो देशमा कोरोना सङ्क्रमितको सङ्ख्या १३ हजार पुगेको बताएको छ तर हङकङ विश्वविद्यालयले गरेको अध्ययनअनुसार हुबेईमा मात्र ७५ हजार सङ्क्रमित रहेको प्रतिवेदन शनिबार सार्वजनिक भएको थियो ।

चीनबाहिर पनि एक सयभन्दा धेरैमा सङ्क्रमण भएको पुष्टि भैसकेकाे सञ्चारमाध्यमले जनाएका छन् । यसैबीच चीन सरकारले हुबेई प्रान्तलगायत सङ्क्रमण धेरै फैलिएको ठाउँमा जनवरी २४ मा यातायात तथा सार्वजनिक ठाउँमा भेला हुन नपाउने गरी लगाएको प्रतिबन्ध फेब्रुअरी १३ सम्मका लागि बढाएको छ । 

कोरोना भाइरसको बढ्दो सङ्क्रमण रोक्ने उद्देश्यले विश्वका विभिन्न देशले चीनबाट आफ्नो देशमा मानिसहरूलाई भित्रिन नदिने गरी प्रतिबन्ध लगाएका छन्।

गएकाे डिसेम्बरमा भाइरस फेला परेकाे देश चीनकाे भर्खरै भ्रमण गरेका विदेशीलाई अमेरिका र अस्ट्रेलियाले आफ्नो देशमा प्रवेश नदिने निर्णय लिएका छन् ।

निकै कम मात्र जनस्वास्थ्य सङ्कटकाल घोषणा गर्ने अमेरिकाले पछिल्ला दुई हप्ता चीनको भ्रमण गरेका सबै विदेशीलाई आफ्नो देशमा प्रवेश गर्न रोक लगाएको छ।

हुबेई प्रान्तबाट फर्किरहेका आफ्नो देशका नागरिक र बासिन्दालाई अमेरिकाले १४ दिन क्वारेन्टिनमा राख्ने जनाएकाे छ ।

साथै अस्ट्रेलियाले चीनबाट फर्किएका आफ्ना कुनै पनि नागरिकलाई दुई हप्ता क्वारेन्टेनमा राख्ने जनाएको छ।

विश्व स्वास्थ्य सङ्गठनद्वारा आलोचना

तर विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) का अधिकारीहरूले भने अमेरिका र अस्ट्रलियाकाे यस्ता उपायविरुद्ध छन् ।

विश्व स्वास्थ्य सङ्गठनका प्रमुखले शुक्रबार भनेका थिए, 'यात्रा प्रतिबन्धका कारण सूचना आदानप्रदान र मेडिकल आपूर्ति संयन्त्रमा अवरोध पुग्नुका साथै अर्थतन्त्रमा क्षति पुर्‍याउन सक्छ ।'

विश्व स्वास्थ्य सङ्गठनले सीमा वारपार गर्ने ठाउँमा स्वास्थ्य परीक्षणको व्यवस्था गर्न सुझाएको छ । सीमा बन्द गरेपछि यात्रुहरू अनाधिकृत रूपमा पस्दा भाइरस झन् विस्तार हुने विश्व स्वास्थ्य सङ्गठनकाे चेतावनी छ ।

चीनले आधिकारिक सल्लाहको बेवास्ता गरेको भन्दै यात्रा प्रतिबन्ध लगाउने कदमको आलोचना गरेको छ ।

चिनियाँ विदेश मन्त्रालयका प्रवक्ताले भने, 'डब्ल्यूएचओले यात्रा प्रतिबन्धहरूविरुद्ध सिफारिस गर्नेबित्तिकै अमेरिका उल्टो दिशातर्फ जान हतारियो, यो पक्कै पनि सद्भावको सङ्केत होइन ।'

आधिकारिक तथ्याङ्कभन्दा निकै बढी

कोरोना भाइरसको सङ्क्रमणबाट ज्यान गुमाउनेको आधिकारिक सङ्ख्या २५९ मा रोकिएको छ। सबैकाे मृत्यु चीनभित्र भएको हो।

त्यसमा पनि अधिकांशको मृत्यु भाइरस उत्पन्न भएको हुबेई प्रान्तमा भएको छ।

झण्डै १२ हजार जनामा सङ्क्रमण भएको पुष्टि भएको छ । चीनबाहिर त्यो सङ्ख्या झण्डै १०० छ । अमेरिका, बेलायत, रुस र जर्मनीले पछिल्ला दिनहरूमा सङ्क्रमण देखिएको पुष्टि गरेका छन् ।

सन् २००३ मा दुई दर्जन देशमा फैलिएको सार्सको महामारीजस्तै गरी कोरोना भाइरसको विश्वव्यापी विस्तार भएको छ । 

अन्तिम अपडेट: फागुन २९, २०८०

तपाईको प्रतिक्रिया