गाउँघरमा फेरिँदै चुलो : १४ लाख घरधुरीमा सुधारिएको माटोको चुलो

 माघ २३, २०७६ बिहिबार १५:२७:२१ | मदन पौड्याल
unn.prixa.net

काठमाण्डौ – नेपालका ३४ लाख बढी घरधुरीमा वैकल्पिक उर्जाको पहुँच पुगेको छ । झण्डै ६० लाख घरधुरी रहेको नेपालमा वैकल्पिक उर्जाको पहुँच ३४ लाख ३ हजार ४ सय ४५ घरधुरीमा पुगेको तथ्याङ्कले देखाएको छ । 

वैकल्पिक उर्जा प्रवर्द्धन केन्द्रका अनुसार लघु तथा साना जलविद्युत, सुधारिएको चुलो, सौर्य प्रणाली, बायोग्याँस जस्ता उर्जाका कार्यक्रमबाट नागरिकले फाइदा लिँदै आएका छन् । तीमध्ये सुधारिएको चुलो, बायोग्याँस र सौर्य प्रणालीमा धेरैको पहुँच पुगेको छ । 

वैकल्पिक उर्जा प्रवर्द्धन केन्द्रका कार्यकारी निर्देशक मधुसुदन अधिकारीका अनुसार बिजुली र ग्याँसको पहुँच सबैतिर पुगिसकेको छैन । ‘अहिले पनि ६० प्रतिशत घरधुरीमा दाउरा बाल्ने गरिएको छ’, उहाँले भन्नुभयो,‘धुवाँमा रुमलिएर समय खर्च गर्नुपर्ने बाध्यता पनि हटिसकेको छैन ।’ 

राम्रोसँग नबल्ने तथा दाउरा धेरै खपत हुने र धेरैजसो समय चुलोमै बिताउनेलाई सुधारिएको चुलो प्रभावकारी बनेको उहाँको भनाइ छ । केन्द्रका अनुसार सुधारिएको माटोको चुलोमा सबैभन्दा धेरै नागरिकको पहुँच पुगेको छ । झण्डै १४ लाख २३ हजार घरधुरीले परम्परागत चुलोलाई सुधार गरेका छन् । त्यसैगरी फलामे चुलोबाट ८७ हजार नागरिक लाभान्वित भएका छन् । 

गएको पुस मसान्तसम्म ४ लाख २६ हजार ३ सय घरधुरीले बायोग्याँस प्रयोग गरेका छन् । सुधारिएको चुलो, फलामे चुलो र बायोग्यासबाट मात्रै झण्डै २० लाख घरधुरीले लाभ लिएका छन् । 

वैकल्पिक उर्जा प्रवर्द्धन केन्द्रले झण्डै २३ वर्षदेखि वैकल्पिक तथा नवीकरणीय उर्जाका स्रोत र प्रविधि विस्तारमा काम गर्दै आएको छ । कुनै घरधुरीमा दोहोरो र कुनैमा एकल पहुँच पुगेको पनि केन्द्रको दावी छ । 

गाईवस्तुको गोबर तथा अरु फोहोरमैलाको व्यवस्थापन हुन नसकेको अवस्थामा वायोग्याँस पनि उत्तिकै भरपर्दो रहेको केन्द्रका कार्यकारी निर्देशक अधिकारी बताउनुहुन्छ ।

काठ, दाउराका साथै तराईमा गुइँठाबाट चुलो बल्ने गरेको छ । सुधारिएको चुलो, ग्यासको पहुँच नपुगेको तराई/मधेसमा झण्डै ५ लाखले अहिले पनि गुइँठा बाल्ने गरेका केन्द्रले जनाएको छ ।

तराई/मधेसमा गुईठा हटाउन स्वच्छ उर्जा कार्यक्रम सञ्चालन गर्ने तयारी छ । विद्युतीय चुलो, वायोग्यास र सुधारिएको चुलो जस्ता माध्यमबाट तराई/मधेशमा गुईठा विस्थापन हुनेछ । 

यो कार्यक्रम २२ जिल्लाका ५० हजार घरधुरीमा लैजाने तयारी भैरहेको वैकल्पिक उर्जा प्रवर्द्धन केन्द्रका निर्देशक नवराज ढकालले जानकारी दिनुभयो । स्वास्थ्य र वातावरणको हिसाबले परम्परागत चुलो हानिकारक मानिन्छ । 

बिजुली तथा ग्यास नपुगेका घरधुरीमा सुधारिएको चुलो तथा बायोग्याँसको पहुँच बढाउन सके परम्परागत उर्जामाथिको निर्भरता घटाउन अनि जीवनस्तरमा सुधार ल्याउन सहयोग पुग्ने उहाँको भनाइ छ ।

अन्तिम अपडेट: चैत १५, २०८०

मदन पौड्याल

उज्यालोमा कार्यरत मदन पौड्याल राजनीति, प्रशासन र समसामयिक विषयमा कलम चलाउनु हुन्छ। पौड्यालको भूकम्पपछिको पुनर्निर्माणमा दख्खल छ।  

 

तपाईको प्रतिक्रिया