अपाङ्गता भएको प्रेमिल जोडीः भागेर बिहे, संघर्षमा सन्तुष्टि

 फागुन २, २०७६ शुक्रबार १६:११:२७ | सुमन तिमल्सिना
unn.prixa.net

माेरङ - अर्जुनबहादुर राई सङ्खुवासभाको धुपुमा २०२९ सालमा जन्मिनुभयो । आर्थिक अवस्था कमजोर भएका राई २०४६ सालमा विराटनगर झर्नुभयो । विराटनगरमा कसैसँग चिनजान थिएन । संघर्ष गर्नुपर्ने रहेछ भन्ने लागेर अर्काको घरमा काम गर्न थाल्नुभयो । 

एसएलसीसम्म पढ्छु भन्ने लागेर एसएलसी दिनुभएका राईले सफलता भने प्राप्त गर्न सक्नुभएन । पढाइमा पूर्णविराम र आर्थिक अवस्था कमजोर भएको कारण होटलमा काम गर्न थाल्नुभयो । त्यो क्रम अहिले पनि जारी छ । 

नन्दी ओली २०४७ साल जेठ २ गते रोल्पामा जन्मिनुभयो । सानै उमेरमा उहाँको बुबाआमा बसाइँ सरेर दाङ झर्नुभयो । तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १९ मा बसोवास रहेको उहाँको बुबा सानैमा बित्नुभयो । त्यसपछि उहाँलाई आमाले एसएलसीसम्म पढाउनुभयो । 

नन्दीको पनि आफ्नै संघर्ष कथा छ । २०७३ सालसम्म दाङमा नै बस्नुभएकी नन्दी ओलीको अहिलेको परिचय फेरिएर नन्दी ओली राई भएको छ । २०७३ सालमा काठमाण्डौमा अर्जुन र नन्दीको भेट भएपछि २०७४ सालमा विवाह भयो ।

अपाङ्गता भएको यो प्रेमिल जोडी एउटा उदाहरणीय जोडीको रुपमा स्थापित छ । कहिल्यै मनमुटाव समेत नभएको यो जोडी हरेक साँझ दिनभरिको कामको समीक्षा र भोलि गर्ने कामबारे एकअर्कालाई बुझ्ने र बुझाउने गर्नुहुन्छ । उमेरले १८ वर्ष फरक यो जोडी अहिले विराटनगरमा होटल व्यवसाय गरेर बसेको छ । 

मिलनको त्यो संयोग

नन्दी अपाङ महासंघ तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १९ को अध्यक्ष हुनुहुन्थ्यो । अपाङ्गता भएका व्यक्तिहरुबारे चासो राख्ने, दुःख अप्ठेरोमा साथ दिने स्वाभाव उहाँमा थियो । आफू स्वयं अपाङ्गता भएको कारणले पनि नन्दीलाई गाउँघरका सबैले माया गर्थे । उहाँको खुट्टा बनाउनुपर्ने थियो । काठमाण्डौको भण्डारखालमा कृत्रिम खुट्टा निःशुल्क वितरण गरिँदैछ भनेर उहाँ काठमाण्डौ जानुभयो । 

अपाङ्गता भएका त्यस्ता धेरै व्यक्तिसँग उहाँको काठमाण्डौमा भेट भयो ।  २०६८/०६९ सालतिरैबाट कृत्रिम खुट्टा लगाउँदै आउनुभएका अर्जुनबहादुर राई पनि त्यो बेला भण्डारखाल पुग्नुभएको थियो ।

भण्डारखालमा खुट्टा बनेर आएपछि अर्जुन नाप मिलाउन र त्यसको अभ्यास गर्नको लागि त्यहीँ अगाडिको चौरमा निस्किनुभएको थियो । चौरमा नन्दी पनि निस्किनुभएको थियो । नन्दीसँग गाउँबाट आउनुभएको सौरी दिदी पनि हुनुहुन्थ्यो । 

अर्जुनलाई देखेपछि नन्दीलाई उहाँबारे सोधखोज गर्न मन लाग्यो । उहाँ तुलसीपुरमा हुँदा पनि यस्तै काम गर्ने भएको हुनाले नन्दीलाई अर्जुनबारे सोध्न मन लाग्यो । सौरी दिदीले बोलाएपछि अर्जुन नजिक आउनुभयो । अर्जुनले आफ्नो खुट्टाको अवस्थाबारे उहाँहरुलाई जानकारी गराउनुभयो। सौरीको पनि कम्मरमुनिको भाग चल्दैनथ्यो । 

सौरीले अर्जुनलाई तपाईं कहिले घर फर्किने भनेर सोध्नुभयो । आएको निकै दिनभयो, अब दुई तीन दिनमा फर्किन्छु भन्दै अर्जुनले जवाफ दिनुभयो । भोलिपल्ट अर्जुन घर जानुपर्ने थियो । त्यो दिन जुत्ताको साइज मिलाउनुपर्ने थियो ।

नन्दीको लागि पनि साइजको जुत्तो बनाउनुपर्ने थियो । त्यसका लागि नन्दीसँग ढुङ्गेधारा जाने कोही भएन । सौरी बढी अपाङ्ग भएको कारण अर्जुन र नन्दी जुत्ता किन्न सँगै जानुभयो । जुत्ता किनेर आएपछि अर्जुन र नन्दीले एक अर्काको फोन नम्बर साटासाट गर्नुभयो । त्यही साँझ अर्जुन विराटनगर फर्किनुभयो । 

प्रेमविवाहमा ससुराली तगारो  

विराटनगर फर्केपछि पनि उहाँहरुबीच बेलाबेला फोनबाट कुरा भइरहयो । भोलिपल्ट सौरी दिदीले नन्दीलाई ‘त्यो दाइ घर पुग्यो कि पुगेन, मान्छेको मानवताको कुरा हुन्छ नि, एक पटक फोन गरिहेरम् ल ?’ भनेपछि नन्दीले फोन गरेर सोध्नुभयो, ‘दाइ पुग्नुभयो ?’ अर्जुनले जवाफ दिनुभयो, ‘म विराटनगर आइपुगेँ ।’ 

यसरी उहाँहरुबीच दैनिक एक/दुई पटक कुरा हुन थाल्यो । त्यो क्रम बिस्तारै बढ्यो र दैनिक ५-६ पटक नै कुरा हुन थालेपछि नन्दीले अर्जुनको घरपरिवार, घरको अवस्था, बिहे भए नभएको सबै कुरा सोध्नुभयो । 

नन्दीको प्रश्न र कुरा गराइले अर्जुनलाई पनि नन्दीले माया गर्न थालेकोजस्तो लागिसकेको थियो । अर्जुनले पनि आफ्नो जीवनका सबै कुरा सुनाउनुभयो । अर्नुनका अनुसार सुरुमा बिहे नै गर्ने भन्ने थिएन । २०६३ असारमा नन्दी र अर्जुनबीच पहिलो भेट भएको थियो । ‘उहाँको कुरा मलाई मन पर्ने, मेरो कुरा उहाँलाई मन पर्ने कारणले माया बसेको हो,’ अर्जुनले सम्झिनुभयो । 

२०७४ साल वैशाखमा बिहेको कुरा गर्न अर्जुन दाङ जानुभयो । उहाँले नन्दीका परिवारका सबै सदस्यलाई राखेर आफू र नन्दी एकअर्कालाई मन पराउने कुरा बताउनुभयो । तर नन्दीका परिवारले उमेरको कारण देखाउँदै नन्दीलाई नदिने मनस्थिति बनायो । अर्जुन दाङबाट अमिलो मन पार्दै फर्किएको सम्झिनुहुन्छ  ।

 नन्दीले अर्जुनको घर धेरै टाढा र उमेर नमिलेको कारण आमा र दाइहरुले  नदिएको बताउनुहुन्छ । कहिल्यै नपुगेको ठाउँमा नन्दीलाई खोज्दै पुग्नुभएका अर्जुन गहभरि आँसु लिएर फर्किनुभयो । रात्री बसमा पनि अर्जुनलाई निद्रा लागेन ।

दाङबाट भगाएर विराटनगरमा विवाह

नन्दी र अर्जुनबीच फोनमा कुरा भने अझ बढ्दै गयो । एकले अर्कोलाई माया गर्न कम गर्नुभएन । २०७४ असार १५ गते विराटनगरबाट अर्जुन फेरि दाङ जानुभयो ।  १६ गते त्यहाँ बसेर अर्जुनले १७ गते नन्दीलाई भगाएर विराटनगर ल्याएको सम्झिनुहुन्छ । 

‘भगाउन त भगाएँ । तर अब कहाँ भित्र्याउने भन्ने समस्या भयो । आफ्नो घर थिएन, बुबाआमा थिएनन्, भएका दाजुभाइ सबै आफ्नै हिसाबले चलेका थिए ।,’  अर्जुनले भन्नुभयो, ‘त्यसैले आफूले काम गर्दै आएको होटलमा भित्र्याएँ ।’ भित्र्याएको भोलिपल्टै अर्जुनले विराटनगरको संसारी माइस्थान मन्दिरमा हिन्दू धर्मअनुसार आफ्ना साथीभाइका सामुन्ने नन्दीसँग विवाह गर्नुभयो । 

त्यसको केही दिनभित्रै होटल सञ्चालकको किचलोको कारण अर्जुनले त्यो होटल बन्द भयो । त्यसपछि अर्जुनले नजिकैको अर्को होटलमा काम गर्न थाल्नुभयो । उहाँहरु त्यो बेलासम्म महेन्द्र मोरङ क्याम्पसको क्यान्टिनमा पनि काम गर्न थालिसक्नुभएको थियो । उहाँहरुको बसाइ त्यही क्यान्टिनमा हुन्थ्यो । बिहान ३ बजे उठ्नु र राति ११ बजे सुत्नु यो जोडीको बाध्यता थियो । 

पहिलो पटक ससुराली जाँदा सबैले अर्जुनलाई बढी उमेरको ज्वाइँ भनेका थिए । उमेरले पाको भएपनि उहाँहरुको छोरीलाई राम्रोसँग पाल्ने भनेर आफूले जवाफ दिएको अर्जुन बताउनुहुन्छ । नन्दीका अनुसार अहिले माइतीका मान्छेले परिवारका अन्य सदस्यभन्दा अर्जुनलाई बढी माया गर्छन् । अहिले उहाँहरुको १० महिनाकी एक छोरी छिन् ।

यहाँसम्म आइपुग्दा जिन्दगीले एउटा कोल्टे फेरेको नन्दीको भनाइ छ । अहिले पनि एकअर्काको सल्लाहविना कुनै काम नगर्ने गरेको नन्दी बताउनुहुन्छ ।  

विवाहपछि आफ्नै होटल, बेग्लै सन्तुष्टि  

२०५० सालदेखि होटलमा काम गर्दै आउनुभएका अर्जुनको लागि होटल व्यवसाय कुनै नयाँ थिएन । केही गर्नुपर्छ भन्ने भावनाका साथ अघि बढ्नुभएका अर्जुन  विवाहपछि पनि १० महिना अरुकै होटलमा काम गर्नुभयो ।

नन्दीको २५ सय र अर्जुनको महिनाको १७ हजार मासिक पारिश्रमिक ७ महिनासम्म लगातार जम्मा गरेर नन्दीले करिब २ लाख पुर्‍याउनुभयो । त्यही रकमबाट २०७५ असोज ८ गतेदेखि यो जोडीले आफ्नै होटल सुरु गर्‍यो । 

आफूले सोचेकोजस्तो श्रीमान् पाउँदा नन्दी निकै खुसी हुनुहुन्छ । पहिलादेखि नै नन्दीले आफू अपाङ्गसँग नै बिहे गर्ने मनस्थितिमा रहेको बताउनुहुन्छ ।  ‘आफ्नो श्रीमान् केही गर्न सक्ने क्षमता भएको हुनुपर्छ भन्ने मेरो सोचाइ थियो,’ नन्दी भन्नुहुन्छ, ‘भगवानले त्यस्तै जुराइदिनुभयो । आफ्नो जोडीसँग निकै सन्तुष्ट छु् ।’ अर्जुन पनि आफ्नो जीवनमा हरेक कुरा एक अर्कासँग साटासाट गर्ने श्रीमती पाउँदा खुसी र सन्तुष्ट रहेको बताउनुहुन्छ । 
 

अन्तिम अपडेट: फागुन १२, २०७६

सुमन तिमल्सिना

सुमन तिमिल्सिना मोरङका उज्यालो सहकर्मी हुनुहुन्छ । 

1 Comments

  • God bless you 🙏🙏🙏

    Feb. 15, 2020, 5:19 a.m.

    God bless you 🙏🙏🙏

  •  0 Reply

तपाईको प्रतिक्रिया