गुम्बागाउँका बिरामीमा कोरोना भाइरसको संक्रमण नभएको पुष्टि : निकाे हुन थाले बिरामी

 फागुन ३, २०७६ शनिबार ९:२०:२४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - रुघाखोकी र ज्वरोको संक्रमण फैलिएको सिन्धुपाल्चोकको जुगल गाउँपालिका ३ गुम्बागाउँका बिरामीमा कोरोना भाइरसको संक्रमण नभएको पुष्टि भएको छ ।

गुम्बा गाउँबाट संकलन गरिएको २५ जना बिरामीको नमुना परीक्षण गर्दा कोरोना भाइरसको संक्रमण नभेटिएको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुले उज्यालोलाई जानकारी दिएको छ ।

गाउँमा ज्वरो र रुघाखोकीका बिरामी बढेपछि गाउँपालिकाले कोरोना संक्रमणको आशंका गरेर थप परीक्षण र उपचारका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई पत्र लेखेको थियो । यसैबीच, गाउँमा रुघाखोकीका बिरामी घटिरहेको र यसअघिका बिरामी निको हुन थालेको गाउँपालिकाका अध्यक्ष होमनारायण श्रेष्ठले बताउनुभयो ।

अहिले स्वास्थ्य शिविरमा दैनिक २० जनाभन्दा बढी बिरामी उपचारका लागि गइरहेको अध्यक्ष श्रेष्ठले बताउनुभयो । प्रयोगशालाको नमुनाको प्रतिवेदन प्राप्त भैनसकेको भन्दै अध्यक्ष श्रेष्ठले प्रतिवेदनमा कोरोना संक्रमण भएको नपाइए गाउँवासीलाई ढुक्क हुने बताउनुभयो । 

अन्तिम अपडेट: बैशाख ६, २०८१

तपाईको प्रतिक्रिया