काेराेनाकाे त्रास हटाउन भक्तपुरका घर घरमा संयुक्त सुरक्षा टोली

 फागुन ६, २०७६ मंगलबार ९:२०:५७ | उज्यालो सहकर्मी
unn.prixa.net

भक्तपुर – चीनबाट फर्काइएका नेपालीहरुलाई राखिएको भक्तपुर खरिपाटी क्वारेन्टाइन क्षेत्र आसपासमा बासिन्दालाई लक्षित गरी घरदैलो कार्यक्रम सुरु गरिएको छ । 

कोरोना भाइरस (कोभिड १९) को उद्गमस्थल चीनको वुहानबाट फर्काइएका नेपालीहरुलाई राखिएको क्वारेन्टाइन क्षेत्र आसपासका बाासिन्दालाई जनचेतना अभिवृद्धि गर्न अभियान सुरु गरिएको छ । जिल्ला प्रशासन कार्यालय भक्तपुरको नेतृत्वमा अभियान सुरु गरिएको हो । 

प्रमुख जिल्ला अधिकारी होमकला पाण्डेको नेतृत्वमा सहायक प्रजिअ दिलीप लामिछाने, महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी उपरीक्षक सविन प्रधानको सहभागिता थियो । नेपाली सेना वीर दल गणका गणपति कर्नेल शिव पौडेल, सशस्त्र प्रहरी गुहेश्वरी गण दुवाकोटका प्रहरी उपरीक्षक विश्वराज भट्टराईको पनि उपस्थिति थियो ।    

खरिपाटी बाँसघारी क्षेत्रका बासिन्दाको घर घरमा पुगेर कोरोना भाइरसको जोखिम न्यूनीकरण र बच्ने उपायका बारेमा जानकारी गराइएको थियो । टोलीले क्वारेन्टाइनमा रहेका नेपालीको अवस्था र कुनै पनि भाइरसको सङ्क्रमणबाट कसरी बच्ने भन्ने बारेमा बताएको थियो ।  

प्रजिअ पाण्डेले स्थानीयको लागि छुट्टै हेल्थ डेक्स राखिएको र त्यहाँ दैनिक निःशुल्क स्वास्थ्य जाँच एवं औषधि वितरण भइरहेको बताउनुभयो ।  

चीनको वुहानबाट ल्याइएका नेपालीलाई खरिपाटीको क्वारेन्टाइनमा राख्दा सङ्क्रमणको त्रासले केही स्थानीयले घर छोड्न थालेका समाचार आएको थियो । स्थानीयलाई त्रासबाट मुक्त बनाउन घरदैलो अभियान सुरु गरिएको नेपाली सेना वीर दल गणका गणपति कर्णेल शिव पौडेलले जानकारी दिनुभयो । 

टोलीले घरघरमा पुगेर क्वारेन्टाइनमा रहेका नेपालीमा कोरोनाको सङ्क्रमण नपाइएको र आत्तिनु पर्ने अवस्था नरहेको जानकारी गराएको थियो । साथै टोलीले माक्स (मुखावरण) कसरी लगाउने, दैनिक हात कसरी धुने लगायतका बारेमा पनि बताएको पौडेलले भन्नुभयो ।  

घरदैलो अभियानमा स्थानीयलाई रुघाखोकी सर्न नदिन नियमित हात धुनुपर्ने, फोहर हातले आँखा छुन नहुने जस्ता सावधानी अपनाउनुपर्ने बारेमा जानकारी दिइएको थियो । 

घरदैलोमा स्थानीय शर्मिला खड्काले कसैले पनि घर छाडेर नगएको दाबी गर्दै कोठामा बस्नेहरु केही दिनका लागि गाउँ गएको बताउनुभयो । ‘बारीमा काम गर्न हातमा सामान बोकेर गएकाहरुको फोटो खिचेर, काममा गएकाहरुको घरमा लगाएको ताल्चाको फोटो खिचेर गाउँ नै खाली भयो भनेर केही मिडियाले समाचार बनाए’, उहाँले भन्नुभयो ।

अर्का स्थानीय वासुदेव लामिछानेले क्वारेन्टाइनमा बस्नेहरुलाई घृणा गर्नुपर्ने र बस्ती छाड्नुपर्ने कुनै कारण नभएको बताउनु भयो । भाडामा बस्ने केही परिवारहरु गाउँ फर्किएका र कोही आफन्तकोमा गएको लाई आधार बनाएर बस्ती खाली भयो भनेर भन्न नहुने उहाँले बताउनुभयो । 

स्थानीय राजाराम भण्डारीले भन्नुभयो, ‘सरकार आफैले यहाँका बासिन्दालाई आतङ्कित बनायो, लुकेर क्वारेन्टाइन बनाउँदा यो समस्या आएको हो, सुरु मै यहाँका जनतालाई तथ्य कुरा जानकारी गराएको भए विरोध हुने थिएन ।’

सरकारले चीनको वुहानबाट उद्धार गरेर ल्याएको एक सय ७५ जना नेपालीलाई खरिपाटीको नेपाल विद्युत् प्राधिकरणमा बनाइएको क्वारेन्टाइनमा राखिएको छ । उनीहरुमा कोरोना भाइरसको सङ्क्रमण पाइएको छैन । 

अन्तिम अपडेट: चैत ३०, २०८०

तपाईको प्रतिक्रिया