एक वर्षमा परिवारका सदस्यबाटै १२९ महिलाको हत्या

 फागुन ७, २०७६ बुधबार १८:११:४७ | रासस
unn.prixa.net

काठमाण्डाै - एक वर्षमा मानव अधिकार उल्लंघन र ज्यादतीका १५ सय घटना बढेका छन् ।

अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेकले मंगलबार सार्वजनिक गरेको तथ्याङ्क अनुसार सन् २०१८ को भन्दा २०१९ मा १५ सय ३२ बटा घटना बढी भएकाे छन् । सन् २०१९ मा मानवअधिकार उल्लङ्घन र ज्यादतीका घटनामा छ हजार ६ सय ४२ पीडित भएका इन्सेकका कार्यकारी निर्देशक विनयराज गौतमले जानकारी दिनुभयो । उहाँका अनुसार सन् २०१८ मा पाँच हजार १ सय १० जना पीडित भएका थिए ।

प्रहरीको गोली लागी भोजपुरमा दुई, सप्तरीमा एक, सर्लाहीमा दुई, रुपन्देहीमा एक र कपिलवस्तुमा एक गरी सातको ज्यान गएको इन्सेकले जनाएको छ । त्यस्तै यातनाका घटनामा १३, गिरफ्तारीका घटनामा ७०२, जातीय विभेदका घटनामा ६२, अमानवीय व्यवहारका घटनामा ४०, भेला तथा सङ्गठित हुने अधिकारमा ९८ र धम्कीका घटनामा ३५ तथा कुटपिटका घटनामा २७९ पीडित भएका अभिलेखमा उल्लेख छ । बेपत्ता पारिएको घटनामा दुई जना पीडित भएका छन् ।

सन् २०१९ मा महिलामाथि हुने हिंसाका घटनामा तीन हजार ३६४ पीडित भएको अभिलेखमा उल्लेख छ । गएको वर्ष भने दुई हजार ८३४ घटना भएका थिए । बेचबिखन तथा ओसारपसार प्रयासका घटनामा ६९, घरेलु हिंसाका घटनामा दुई हजार ७९, कथित बोक्सीको आरोपमा ४२, बलात्कारका घटनामा ५३०, बलात्कार प्रयासका घटनामा १४३, यौन दुर्व्यवहारका घटनामा ६३ र बेचबिखन तथा ओसारपसार घटनामा ५१ महिला पीडित भएको जनाइएको छ । परिवारका सदस्यबाट १२९ महिलाको हत्या भएको छ ।

गएको वर्ष यो सङ्ख्या १२० थियो । दाइजोका घटना आरोपमा १३ महिलाको हत्या भयो भने ३०० महिला हिंसामा परेको उल्लेख छ । इन्सेकका अनुसार बालश्रम, बालबालिका बेचबिखन तथा ओसारपसार, यौनजन्य हिंसा, शिक्षा र स्वास्थ्यको अवसरबाट वञ्चितिजस्ता बालअधिकार हननबाट बालबालिका पीडित भएको इन्सेकको अभिलेखमा उल्लेख गरिएको छ । बाल अधिकार उल्लङ्घनका घटनामा एक हजार ४४७ बालबालिका पीडित भएका छन् ।

उमेर नपुगी विवाह हुने प्रचलन अझै पनि कायम छ । इन्सेकले कारागारमा क्षमताभन्दा बढी कैदीबन्दी राखिने र त्यसका कारण सिर्जित समस्या समाधानका लागि सरकारी पहल नभएको पाइएको उल्लेख गरेको छ ।

देशभरका कारागारको क्षमता झण्डै ११ हजार भए पनि २३ हजारभन्दा बढी कैदीबन्दी छन् । क्षमताभन्दा बढी राखिएका कैदीबन्दीलाई सुत्न, बस्न, खाना पकाउन, खान, हिँडडुल गर्न, शौचालय जान, नुहाउन तथा खानेपानीका साथै विभिन्न रोगको सङ्क्रमणजस्ता समस्या देखिएका इन्सेकले जनाएको छ ।

अन्तिम अपडेट: बैशाख १, २०८१

तपाईको प्रतिक्रिया