निर्यात बढेपछि व्यापार घाटा कम हुँदै

 फागुन १२, २०७६ सोमबार ११:४५:५६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ - चालु आर्थिक वर्षको पहिलो सात महिनासम्म नेपालको व्यापार सुधारतर्फ गइरहेको छ । भन्सार विभागकाे अनुसार गएको साउन महिनादेखि माघ समान्तसम्म विदेशबाट वस्तु तथा सेवा नेपालमा ल्याउने क्रम अर्थात आयात ३ दशमलव ५६ प्रतिशतले घटेको छ । 

सात महिनामा ८ खर्ब ३ अर्ब ६० करोड रुपैयाँको वस्तु तथा सेवा आयात भएको छ । गएको वर्षको पहिलो सात महिनामा ८ खर्ब ३३ अर्ब २६ करोड रुपैयाँको वस्तु र सेवा आयात गरिएको थियो । 

यस्तै यो आर्थिक वर्षको सुरुदेखि नै बढेको निर्यात माघ महिनासम्म पनि बढिरहेको थियाे । सात महिनामा निर्यात २२ दशमलव ४१ प्रतिशतले बढेको छ । सात महिनामा नेपालले पोहोरको यही समयकाे भन्दा झण्डै १२ अर्ब बढीको वस्तु तथा सेवा निर्यात गरेको छ । 

गएको साउनदेखि माघसम्म ६४ अर्ब ९७ करोड १२ लाख रुपैयाँ बराबरको वस्तु तथा सेवा निर्यात गरेको छ । गएकाे वर्षकाे यही अवधिमा ५३ अर्ब ७ करोड रुपैयाँको  वस्तु तथा सेवा निर्यात गरेको थियो । तर पुस महिनाको तुलनामा भने माघमा निर्यात घटेको छ । पुसमा निर्यात २६ दशमलव १३ प्रतिशतले बढेको थियो । 

विशेषगरी भारतले नेपालबाट पाम आयल लैजान प्रतिबन्ध लगाएपछि नेपालको समग्र निर्यात घटेको हो । पुसदेखि माघसम्म पाम आयल निर्यात नै भएको छैन । यस्तै आयातको दर पनि बढेको छ । पुस महिनासम्म आयात दर ४ दशमलव शून्य ४ प्रतिशतले घटेकोमा माघ महिनामा यो ३ दशमलव ५६ प्रतिशतले मात्रै घटेको छ । 

सात महिनामा नेपालको व्यापार घाटा पाँच दशमलव ३३ प्रतिशतले घटेको छ । चालू आर्थिक बर्षका सात महिनामा नेपालको व्यापार घाटा ७ खर्ब ३८ करोड ६३ लाख रुपैयाँ रहेको भन्सार विभागले जनाएको छ ।  

अन्तिम अपडेट: फागुन ३०, २०८०

तपाईको प्रतिक्रिया