सात महिनामा ३३ अर्बकाे खाद्यान्न भित्रियाे, १९ अर्बकाे धान–चामलमात्रै

 फागुन १२, २०७६ सोमबार १६:४६:२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – नेपाललाई कृषिप्रधान देश भनेर जतिसुकै प्रशंसा गरे पनि कृषिजन्य सामग्रीका लागि आयातमा भर पर्नुको विकल्प छैन । बर्सेनि अरबौँ रुपैयाँ बराबरका खाद्यान्न आयात हुने गरेकाे तिताे यथार्थ थाहा नै छ ।  

चालु आर्थिक वर्षको पहिलो सात महिनामा नेपालले ३३ अर्ब रुपैयाँभन्दा धेरैको खाद्यान्न आयात गरेको छ । ६ महिनामा ३३ अर्ब ६ करोड रुपैयाँ बराबरको खाद्यान्न आयात गरेको छ । आयात भएको खाद्यान्नमध्ये सबैभन्दा धेरै हिस्सा धान चामलको रहेको छ ।

साउनदेखि माघसम्म नेपालले १९ अर्ब पाँच करोड रुपैयाँको धान चामल आयात गरेको भन्सार विभागले जनाएको छ । भन्सार विभागका अनुसार १२ अर्ब ७० करोड रुपैयाँको चामल, पाँच अर्ब ९७ करोड रुपैयाँको धान र ३७ करोड ४३ लाख रुपैयाँको कनिका आयात भएको छ । 

सबैभन्दा धेरै धान चामल भारतबाट आएको छ, भारतबाट मात्रै झण्डै १८ अर्ब रुपैयाँको धानचामल आयात भएको भन्सार विभागले जनाएको छ ।

गएको आर्थिक वर्ष २०७५/७६ मा ५१ अर्ब ८० करोड रुपैयाँका खाद्यान्न आयात भएको थियो । त्यसमध्ये ३२ अर्ब ५० करोड रुपैयाँको धान चामलजन्य खाद्यान्न आयात भएको थियो ।  

अन्तिम अपडेट: चैत १२, २०८०

तपाईको प्रतिक्रिया