तीनपांग्रे साधन व्यवस्थापन गर्न खोज्दा भरतपुरमा तनाव‍,गाेली चल्याे

 साउन ९, २०७५ बुधबार १५:२९:५६ | राधेश्याम खतिवडा
unn.prixa.net

चितवन – भरतपुर महानगरपालिकाले तीनपांग्रे सवारीसाधनलाई मुख्य राजमार्गमा गुड्न रोक लगाएपछि भरतपुर तनावग्रस्त बनेको छ । 

महानगरपालिकाले साउन ५ गते देखि तीनपाङग्रे सवारी साधनलाई मुख्य राजमार्गमा सञ्चालनमा रोक लगाउने निर्णय गरेको थियो ।

प्रदर्शनमा उत्रिएका तीनपांग्रे व्यवसायीले मोटरसाइकल आगजनी गर्नुका साथै एउटा म्याजिक (अटो रिक्सा) तोडफोड गरेका छन् । 

तीनपांग्रे सवारीसाधनको विभिन्न समिति, उपसमिति, ट्रेड युनियनहरुले बुधवार भरतपुरको केन्द्रिय बस टर्मीनल क्षेत्रमा प्रर्दशन गरेका हुन् । 

प्रदर्शनकारीहरुले पुिलस चाैकीमा अागाे लगाउने प्रयास गरेपछि भीड नियन्त्रण गर्न प्रहरीले हवार्इ फायरसमेत गर्नुपरेकाे छ । 

तीनपाङ्ग्रे सवारी साधन सञ्चालक व्यवसायीहरुले मुख्य राजमार्गमा पनि निर्बाध सवारीसाधन चलाउन पाउनुपर्ने भनी माग गर्दै आएका छन् । 

महानगरले राजमार्गमा चलाउन नदिने निर्णय गरेपछि व्यवसायीहरु अदालत पुगेका थिए ।

उच्च अदालतको आदेश भन्दै भरतपुर महानगरपालिकाले मंगलबारदेखि राजमार्गमा तीनपांग्रे सवारी सञ्चालनमा रोक लगाएपछि तीनपांग्रे व्यवसायी थप आन्दोलित भएका हुन् । 

निर्णयबाट पछि हट्दैनौंः महानगर  

महानगरपालिकाले साउन ५ गतेबाट कार्यान्वयन हुने गरी बाइपास रोड, पूर्वपश्चिम राजमार्गसँगै नारायणगढ र मुग्लिन गरि १९ ठाउँबाट तीनपाङ्ग्रे सवारीसाधनलाई क्रस गर्न पाउने व्यवस्था मिलाएको छ । 

सरकारले राष्ट्रिय राजमार्गमा अटो ट्याम्पो चलाउन नपाउने विषयलाई स्थानीय तहले कार्यान्वयन गर्न नसकेको भनेर परिपत्र जारी गरेपछि महानगरले कुनै पनि हालतमा पछि नहट्ने दावी गरेको छ । 

महानगरले केन्द्रीय सरकारले गरेको निर्णयलाई पूर्णरूपमा कार्यान्वयन गर्न खोजिएको महानगर प्रमुख रेणु दाहालले बताउनुभयो ।

गएको वर्ष असोजमा जोर–बिजोर प्रणाली लागू गर्ने भनिए पनि अटो ट्याम्पो व्यवसायी र मजदुरहरुको आन्दोलनले महानगरले निर्णय कार्यान्वयन गर्न सेकेको थिएन । 

तीन पांग्रेका कारण दुर्घटना बढ्यो: ट्राफिक 

जिल्लामा आवश्यकताभन्दा बढी अटो ट्याम्पो भित्रिएपछि दुर्घटनाको जोखिम पनि बढ्दै गएको जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले जनाएको छ ।

जिल्ला ट्राफिक प्रहरी कार्यालयको तथ्यांकअनुसार आर्थिक वर्ष २०७४-०७५ मा मात्रै ९० पटक अटो ट्याम्पो दुर्घटना भएको देखिएको छ ।

जसमध्ये १० वटा गम्भीर खालको र बाँकी ८० वटा सामान्य खालको दुर्घटना भएको जिल्ला ट्राफिक प्रहरी प्रमुख प्रहरी निरीक्षक वेदप्रसाद गौतमले जानकारी दिनुभयो । 

उक्त दुर्घटनामा परि ५ जनाको मृत्यु भएको थियो भने १३८ जना घाइते भएका थिए । तीमध्ये १३ जना गम्भीर घाइते भएका थिए । 

राजगमार्गमा चलाउन पाउनु पर्छः व्यवसायी

भरतपुर महानगरपालिकाले साउन ५ गतेदेखि अटो ट्याम्पोलाई मुख्य राजमार्गमा चल्न नदिने निर्णय गरेपछि यस पेसासँग सम्बन्धित विभिन्न संघ–संगठन तथा मजदूरहरुले भने महानगरले निर्णय फिर्ता नलिए आन्दोलन गरिरहने चेतावनी दिएका छन् । 

व्यवसायी तथा मजदुरहरुले भरतपुर महानगरपालिकालाई छुट्टाछुट्टै ध्यानाकर्षण पत्र बुझाएका छन् ।

मध्यनेपाल यातायात व्यवसायी संघ, चितवन ट्याम्पो माइक्रो तथा मिनीबस व्यवसायी संघ, ओम शान्ति माइक्रो बस यातायात व्यवसायी संघ, चितवन यातायात व्यवसायी संघ छहारी, नेपाल अटो तथा ई–रिक्सा संघ, चितवन रिक्सा, ई–रिक्सा तथा अटो ट्याम्पो व्यवसायी समिति, चितवन माइक्रो बस व्यवसायी संघ र पूर्वी चितवन ट्याम्पो माइक्रो तथा जिप व्यवसायी समितिले संयुक्तरूपमा ज्ञापन पत्र वुझाएका छन् ।

माग सुनुवाई नभए आन्दोलन गरिरहने व्यवसायीहरुको अडान छ् । 
 

अन्तिम अपडेट: चैत १४, २०८०

राधेश्याम खतिवडा

राधेश्याम खतिवडा उज्यालोका चितवन सहकर्मी र नेपाल पत्रकार महासंघ चितवन शाखाका पूर्व अध्यक्ष हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया